प्रदेश १ मा एसईईको तयारी पुरा, प्रत्येक केन्द्रमा स्वास्थ्यकर्मी पनि खटाउने

विराटनगर, ५ चैत । प्रदेश १ का जिल्लामा हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्वास्थ्यकर्मी पनि परिचालन हुने भएका छन् । विहीबारबाट सुरु भएर चैत १७ गते सकिने परिक्षाको सबै तयारी पुरा भएको र प्रत्येक केन्द्रमा स्वास्थ्यकर्मी स्वास्थ्य परिक्षणका लागि खटाउने तयारी भएको सबै सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएका छन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका बीच हुन गईरहेको उक्त परीक्षामा विद्यार्थीको ज्वरो पनि परिक्षण हुनेछ । यस पटकको एसइई परीक्षामा प्रदेश १ का १४ जिल्लाबाट ८४ हजार १०६ जना परीक्षार्थी सहभागी हुने प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय शैक्षिक योजना महाशाखा प्रमुख दिव्यराज कट्टेलका अनुसार प्रदेश १ मा ३७५ वटा परीक्षा केन्द्रमा ३७५ केन्द्राध्यक्षसहित ५४२ सहायक केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै परीक्षा केन्द्रको सुरक्षार्थ प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन गरिने छन् ।

Loading...