महान्यायाधिवक्ताले भने ‘जफत मास्क बाँडिदिनू’

काठमाडौं, ४ चैत । कोरोना भाइरस (कोविड–१९) बाट जोगिन मास्क प्रयोग अनिवार्य बनेको छ । कतिपय व्यापारीले भने बजारमा यसको कृत्रिम अभाव सिर्जना गराएका छन् । त्यसपछि प्रहरीले छापा मार्दा गोदाममा ठूलो परिमाणमा मास्क लुकाएको भेटियो । त्यस क्रममा जफत गरिएका मास्क के गर्ने त ? प्रहरीलाई तनाव भयो ।

एकातिर बजारमा चरम अभाव, अर्कातिर बरामद सामान बिग्रिने डर । प्रहरीको स्टोरमा थन्किँदा पनि सर्वसाधारण प्रयोग गर्नबाट वञ्चित हुने चिन्ता । अदालतमा दशीका रूपमा पेस गरौं भने पनि प्रयोग गर्ने म्यादै गुज्रिने । अब भने प्रहरी यस्तो तनावबाट मुक्त भएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले समस्याको गाँठो फुकाइदिएका छन् ।

उनले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीलाई मास्क नबिग्रिँदै बाँडिदिन निर्देशन दिएका हुन् । त्यसको मूल्य, नमुनासहितको अभिलेख र फोटोसहितको डिजिटल प्रमाण अनुसन्धान मिसिलमा भने राख्नुपर्नेछ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...