अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन स्थगित

विराटनगर, २ चैत । कोरोना भाइरसको प्रकोपका कारण अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन स्थगित भएको छ ।

२७ मार्च प्रदर्शन हुने उक्त फिल्म अनिश्चितकालका लागि स्थगित गरिएको निर्माण कम्पनीले एक विज्ञप्ति जारी गरेका छन् ।

उक्त विज्ञप्तिमा उल्लेख गरिए अनुसार कोरोनाको कारण पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएको भन्दै चलचित्रको प्रदर्शन मिति पछि सारेको बताइएको छ ।

अक्षय कुमारले पनि जनताको नै स्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै ट्विट गरेका छन् ।

रोहित सेट्टीको निर्देशनमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ भने गीत रिलिज कार्यक्रमलाई समेत स्थगित गरिएको छ ।

फिल्म अब कहिले प्रदर्शनमा आउँछ त्यो टुङ्गो छैन ।

फिल्ममा कट्रिना कैफ, अजय देवगण र रणवीर सिंहको मुख्य भूमिका रहेको छ ।

विश्वब्यापी फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रासका कारण फिल्मी क्षेत्रमा समेत ठूलो असर परेको देखिन्छ ।

भिडभाडमा जाँदा कोरोना सर्न सक्ने हुँदा सिनेमा हलहरूमा कुनै नयाँ फिल्म लाग्न सकेको छैन भने रिजिल हुन लागेका फिल्महरूले प्रदर्शन मिति स्थगित गरिरहेका छन् ।

Loading...