इटहरीमा ब्यूँतियो ‘दमनको राप’

इटहरी । २००७ सालले प्रजातन्त्र ल्यायो, २०४६ सालले बहुदल अनि २०६३ सालले गणतन्त्र। क्रान्तिका यी मुख्य तीन वर्ष नेपालको इतिहासमा चर्चित छन्। क्रान्तिका यी उपलब्धि जति आनन्ददायक छन्, त्यसका लागि आफ्नो ज्यान हत्केलामा राखेर हिँड्ने योद्धाले भोगेको दुःख त्योभन्दा बढी पीडादायक छन्।

छयालीसको जनआन्दोलनको बेलामा नेपाली युवाले भोगेको पीडा ‘दमनको राप’ नाटकका रूपमा प्रदर्शन गरिएको छ। सुनसरीका पत्रकार राजकुमार कार्कीले भोगेको सत्य घटनामा आधारित यो नाटकले जेलभित्रको यातना र कैदीको मनोभावना प्रस्तुत गर्छ। नाटक गोपाल देवानले लेखेका हुन् भने निर्देशन विक्रम श्रीले गरेका छन्।

२०५२ सालमा पहिलो पटक प्रदर्शित उक्त नाटक त्यो बेला ३२ ठाउँमा प्रदर्शन गरिएको थियो। देश गणतन्त्रमा गइसकेको अहिलेको समयमा यो नाटकले ऐतिहासिक चलचित्र हेरेझैं अनुभूति दिलाउँछ। नाटकमा प्रयोग गरिएका संवादले दर्शकलाई अहिले पनि जुरुक्क उचाल्छ, समवेदनाले छुन्छ। नाटक जीवन्त बनाउन कलाकारले निकै मेहनत गरेका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...