छोरी, बुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल

झापा, १ चैत्र । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । ‘शिक्षा विकासको मेरुदण्ड हो’, सो गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने, ‘महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।’

गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलम बताउँछन् । गाउँपालिकाले २०० भन्दा बढी छोरीबुहारीलाई मासिक रु ८५० का दरले अध्ययन खर्च दिने गरेको गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिइन् ।

त्यस्तै, कचनकलवका सात वडाका आठ विद्यालयमा नमूना बाल कक्षा (स्मार्ट कक्षा) सञ्चालन भइरहेको छ । सांसद विकास कोष र गाउँपालिकाको लगानीमा ती विद्यालयमा नमूना बालकक्षा सञ्चालन भइरहेको हो ।

कचलकवलमा सामुदायिकतर्फ सात मावि, सात आधारभूत र १३ प्राविमा सात हजार ३९० विद्यार्थी अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि बस्नेतले जानकारी दिए। त्यस्तै, १३ निजी विद्यालयमा तीन हजार विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकामा दुई गुरुकुल, १० मदरसा, दुई सामुदायिक सिकाइ केन्द्रसमेत सञ्चालित रहेको प्रमुख बस्नेतले बताए। RSS

Loading...