थपिँदै शरणार्थी विद्यार्थी, थप शिक्षक दरबन्दीको टुंगो छैन

दमक, १ चैत्र। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले झापामा रहेका शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा गराउने भएको छ। युएनएचसिआरले सन् २०२० को जुनदेखि सबै कार्यक्रम बन्द गर्दै छ। सहायता बन्द भएपछि दमक नगरपालिकालाई विद्यार्थी हस्तान्तरण गरिएको हो।

अब दमकको ढुकुरपानी मावि र चुलाचुली आधारभूत विद्यालयमा शरणार्थी विद्यार्थी पढ्ने छन्। त्यसका लागि युएनएचसिआरको सहयोगमा लुथरन विश्व फेडेरेसनले दुवै विद्यालयमा पक्की भवन बनाइदिएको छ। दुवै भवनको युएनएचसिआरकी नेपाल प्रमुख क्यारोलिन स्पोनित वर्मा र दमक नगरपालिकाप्रमुख रोमनाथ ओलीले उद्घाटन गरे।

चुलाचुली आधारभूत विद्यालय भवन ६८ लाख ८१ हजार र ढुकुरपानी मावि भवन एक करोड २४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। ती विद्यालयमा एक देखि १२ सम्म पढ्ने विद्यार्थीले अध्ययन गर्नेछन्। आजको नागरिक दैनिकमा खबर छ ।

Loading...