ईशाराले भविष्य खोज्दैछन् बालबालिका

बबिता लिम्बू
विराटनगर, २९ फागुन । चन्दा खातुन विराट बहिरा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा हुन् । उनी बोल्न सक्दिन् । अरुले बोलेको पनि सुन्दिनन् । उनको दैनिकी १० औंलाको सहाराले चल्छ । आवाज नसुने पनि देखेको विषय बस्तु कागजमा उतारछिन् । एसईईपछि पढाइको यात्राले कुन मोड लिन्छ भन्ने उनलाई थाहा छैन । तर पढेर नर्स बन्ने ठूलो चाहाना छ ।

ठगेन्द्र मगर धरानका हुन् । उनी कक्षा ९ मा अध्ययनरत छन् । शरीरले साथ नदिए पनि ठगेन्द्रलाई प्रतिभाले साथ दिएको छ । चञ्चले स्वभावका ठगेन्द्र बाहिरी क्रियाकलापमा विद्यालयभरिकै विद्यार्थीहरूमध्ये निकै तेज छन् ।

जेनिशा पौडेल पढ्नकै लागि पोखराबाट विराट बहिरा विद्यालय आएकी हुन् । उनीसँग सुन्ने क्षमता छैन् । तर इसाराले सबै कुरा व्यक्त गर्छिन् । स्कुलको ब्रेक टाइममा साथीहरूलाई वरिपरि राख्छिन् र हातका ईशाराले कुरा गर्न थालिहाल्छिन् । शिक्षिका बन्ने उनको ठूलो रहर छ । प्रकृतिले सुन्न र बोल्न सक्ने क्षमता नदिएपनि उनीहरू मेहनतले पढ्न जान्ने भएका छन् ।

विराटनगर–६, कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरू हातको ईशारामा कुरा गरिरहेका हुन्छन् । प्लान नेपालको आर्थिक सहयोग र कोशी बहिरा संघको विशेष सहयोगमा रमेशचन्द्र पौडेल, तारानाथ भट्टराई, मीना जोशी, राजेन्द्रप्रसाद रिजाल, चूडामणि आचार्य र मिनु अधिकारी दाहालको अगुवाईमा २०६२ सालमा विराट बहिरा विद्यालयको स्थापना भएको हो ।

नेपालभरि जम्मा १९ वटा बहिरा विद्यालय छ । माध्यमिक तहको पढाइ हुने विद्यालय ७ वटा छन् भने आधारभूत विद्यालय १२ वटा छन् । बहिराको लागि स्नातकसम्म पढाइ हुने एउटै मात्र विद्यालय काठमाडौंस्थित नक्सालमा छ । त्यहाँ शिक्षा संकायमा मात्र स्नातक पढाइ हुने गर्छ ।

नेपालभरिमा बहिराहरूलाई कक्षा ९ देखि प्रावधिक शिक्षा अध्यापन गराउने दुई विद्यालय मात्र छन् । तीमध्ये कम्प्युटर ईन्जिनियरिङ पढाइ हुने बाग्लुङमा छ भने सिभिल ईन्जीनीयरीङ पढाइ हुने विद्यालय विराटनगरको विराट बहिरा माध्यमिक विद्यालय मात्रै हो ।

विद्यालयको कूल क्षेत्रफल दश कठ्ठा एक धुर छ । पाँचवटा पक्की भवन रहेको विद्यालयको जस्तापाताले छाएको एउटा भवन पनि छ । विद्यालयमा छात्र र छात्राको लागि होस्टेलको पनि व्यवस्था गरीएको छ ।

बाल कक्षादेखि कक्षा १० सम्म अध्यापन गराइने विद्यालयमा विद्यार्थीहरूको कूल संख्या १ सय ६३ छ । तीमध्ये विराटनगरका स्थानीयबाहेक सबै विद्यार्थीहरू विद्यालयको होस्टलमा बस्छन् । प्रदेश १ का जिल्लाका बहिरा विद्यार्थीहरू पढ्ने विद्यालयमा नेपालका पश्चिमी जिल्लाहरू पोखरा, बाग्लुङ, चितवन, मुगुबाट समेत विद्यार्थीहरू अध्ययनका लागि आएका छन् ।

छात्रा ७२ र छात्र ९१ रहेको विद्यालयमा शिक्षकहरूको कूल संख्या १८ छ । तीमध्ये ८ पुरुष छन् भने १० महिला शिक्षक छन् । आउँदो शैक्षिक वर्ष २०७७ देखि प्राविधिक शिक्षातर्फ सिभिल ईन्जिनियरिङ विषयको कक्षा ११ पनि सञ्चालन हुने प्रधानाध्यापक मिनु अधिकारी दाहालले बताइन् ।

सुनिता तिवारी विराट बहिरा विद्यालयको शिक्षक प्रतिनिधि हुन् । विद्यालयमा रिक्त रहेको शिक्षक पदका लागि नगरपालिकाले छनौट गरेर पठाइदिने गरेको व्यवस्थामा परिमार्जन गर्नुपर्ने उनको तर्क छ । तिवारीले बोलेकी साङ्केतिक भाषाका उल्था गरिदिँदै प्रधानाध्यापक मिनु भन्छिन्, ‘शिक्षकहरू पढाउन त आउँछन् तर उनीहरू साङ्केतिक भाषा तलिमप्राप्त हुँदैनन् । र दुःखको कुरा आउने शिक्षकहरू सिक्ने चेष्टा पनि गर्दैनन् । यसले विद्यार्थीहरूको अध्ययन अध्यापनमा धेरै गाह्रो पर्छ ।’

विस २०६२ सालमा ३ जना विद्यार्थीबाट अध्यापन सुरु गरेको विद्यालयको प्रधानाध्यापक मिनु बताउँछिन् । ६ महिना कोशी बहिरा संघमा साङ्केतिक भाषा सिकेर विद्यालय सुरु गर्दा यो स्थानसम्म आइपुगिन्छ भन्ने कल्पनासमेत नगरेको उनले बताइन् ।

शैक्षिक स्तर धेरै राम्रो भए तापनि विद्यालयमा पढाउन आउने शिक्षकहरूको जागिर अस्थायी हुने भएकोले गाह्रो भएको दाहालको गुनासो छ । ‘सरकारले स्थायी हुने व्यवस्था गरिदिए धेरै राम्रो हुनेथियो,’ उनले भनिन्, ‘साङ्केतिक भाषा बोल्न र त्यहीँ भाषामा सिकाउन सक्ने शिक्षक विद्यालयबाट जाँदा हामीलाई धेरै नै समस्या पर्ने गरेको छ ।’

नेपाली विषयका शिक्षिका रमा आचार्य रिजाल बहिरा पढ्ने छुट्टै पाठ्यक्रम विकास गर्न नसक्दा शैक्षिक स्तर सुधार गर्न नसकिएको बताउँछिन् । ‘यहाँको पाठ्यक्रम हामी जस्तो सामान्य मान्छेले पढ्ने किसिमको छ,’ आचार्य भन्छिन्, ‘यस्तो खाले पाठ्यक्रम धेरै नै कठिन हुन्छ ।’ अब छिट्टै बहिरामैत्री पाठ्यक्रम विकास हुनेमा आशावादी रहेको उनले बताइन् ।

विराट बहिरा विद्यालयका विद्यार्थीहरूले स्नातकसम्मको अध्ययन पनि पूरा गरेका छन् । तर उनीहरूले जागिर पाइरहेका छैनन् । धेरैले जागिर खोजिदिनुहोस् भन्दै विद्यालय आउने गरेको अधिकारीको गुनासो छ । ‘बहिरा विद्यार्थीहरूको लागि सुनेरभन्दा पनि हेरेर सिक्ने कुरा भइदिए उनीहरूको भविष्यमा अझ काम लाग्ने थियो,’ उनले भनिन्, ‘राज्यले बहिरा विद्यार्थीहरूको रोजगारका लागि व्यावसायिक शिक्षामा जोड दिनुपर्छ ।’

प्रकृतिले सुन्न र बोल्न सक्ने क्षमता नदिएपनि राज्यले उनीहरूलाई पढ्न पाउने अधिकारबाट बञ्जित गर्न नहुने उनीहरू बताउँछन । अपाङ्गता भएकाहरूलाई सुहाउँदो पाठ्यक्रम निर्माण गरी व्यवसायिक र सीपमूलक तालिम प्रदान गर्न गर्न सके उनीहरू आफैंमा आत्मनिर्भर हुन सक्छन् ।

Loading...