एक नम्बर प्रदेशमा समृद्धिका लागि दलित जागरण अभियान सञ्चालन हुने

विराटनगर, २९ फागुन । एक नम्बर प्रदेशमा समृद्धिका लागि दतिल जागरण अभियान सञ्चालन हुने भएको छ ।

८ चैतमा पर्ने ५५औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको दिनदेखि एक महिलासम्म एक नम्बर प्रदेशमा समृद्धिका लागि दलित जागरण अभियान सञ्चालन हुने भएको हो ।

२१ मार्चका दिन झापाबाट सुरु हुने उक्त अभियानले एक नम्बर प्रदेशका १४वटै जिल्लामा पुगेर दलित हक अधिकार बहालीका लागि संविधान कार्यान्वयनका लागि अन्तर्क्रियाहरू आयोजना गर्ने अभियानका संयोजक सोमनाथ पोर्तेलले बताए ।

एक महिलासम्म सञ्चालन हुने अभियानमा दलित समुदाया राजनैतिक कार्यकर्ता, नागरिक समाजका अगुवा, पत्रकारहरू सहभागी हुनेछन् ।

अभियानको समापन ११ चैतमा लोकतन्त्र दिवसको दिन विराटनगरमा बृहत दलित राजनैतिक तथा नागरिक सम्मेलनको आयोजनापछि हुनेछ ।

अभियानका सचिव उमेश विश्वकर्माका अनुसार लोकतन्त्र दिवसको अवसरमा आयोजना हुने उक्त बृहत दलित राजनैतिक तथा नागरिक सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रदेशभरिका करिब ६ सय दलित जनप्रतिनिधि, राजनैतिक दलका नेता कार्यकर्ता र नागरिक सम्मेलनका अगुवाहरू सहभागी हुनेछन ।

सम्मेलनमा दुई दिन जातीय विभेद र छुवाछुत, मानव अधिकार, संविधान कार्यान्वयनको अवस्था, राजनैतिक, सामाजिक र सांस्कृतिक अधिकारको अवस्था र प्रदेश सरकार स्थानीय तहको भूमिका र दायित्वबारेमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । उक्त कार्यपत्रहरूमा गहन छलफलपछि विराटनगर घोषणापत्र जारी गरिनेछ ।

अभियान सञ्चालनका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको नेतृत्त्वमा ३५ सदस्यि मूल आयोजक समिति गठन गरिएको छ ।

सहसंयोजकमा झापाका हुकुमसिंह नेपाली र सचिवमा विराटनगरका उमेश विश्वकर्मा रहेका छन् ।

यस्तै सदस्यहरूमा मोरङका कपिल सुनार, सुनसरीकी शान्ति गजमेर, इलामका चित्रकला बराइली, नवराज शंकर, धनकुटाका नैन रुचाल, तेह्रथुमका अनुभूति बम नेपाली र झापाका हरि पोखरेलसहित प्रदेशभरिका जिल्लाका सक्रिय दलित अगुवाहरू छन् ।

बृहत नागरिक सम्मनेलनका लागि एक नम्बर प्रदेशका संघ र प्रदेशका सांसदहरू, मन्त्री र पूर्वमन्त्रीहरू सल्लाहकार छन् ।

समितिमा एक नम्बर प्रदेशका सबै जिल्लाका सक्रिय दलित अगुवाहरूलाई सहभागी गराइएको छ ।

समानताका लागि समृद्धिको अभियानले संविधानमा प्राप्त भएका दलितहरूको हक अधिकार कार्यान्वयन गराउन सहयोग पुर्‍याउने अभियानका उपाध्यक्ष हुकुमसिंह नेपालीले बताए ।

विभिन्न दातृ निकाय र एक नम्बर प्रदेश सरकारको सहयोगमा अभियान सम्पन्न गराउन तैयारी भैरहेको सचिव उमेश विश्वकर्माले बताए ।

Loading...