सर, तपाईंले क्यान्सरलाई जित्नैपर्छ

माधव काफ्ले
विराटनगरबाट प्रसारित मकालु टिभीका समाचार प्रमुख कमल पौडेल हाल काठमाडौंस्थित सिभिल अस्पतालको बेड नम्बर २३८ मा ब्लड क्यान्सरसँग जुधिरहनुभएको छ । सर्वसाधारणलाई उनीहरूको स्वास्थ्यका विषयमा सु–सूचित गराउन टिभीमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उहाँलाई अहिले आफ्नै स्वास्थ्यले साथ दिइरहेको छैन ।

महेन्द्र मोरङमा मलाई पत्रकारिता विषय पढाउनुभएका उहाँको शीघ्र स्वास्थ्यलाभको शुभकामना दिँदै मलाई पनि केही कोर्न मन लाग्यो । विराटनगरबाट विशुद्ध पत्रकारिता गर्ने पत्रकारहरूमध्ये मलाई तीन पत्रकार असल लाग्छ, नयाँ पत्रिकाका गणेश लम्साल, कान्तिपुर टिभीका महाप्रसाद खतिवडा र मकालु टिभीका कमल पौडेल ।

२०६८–६९ सालबाट सञ्चारकर्ममा लागिपरेको मलाई कमल सरले नै थप ज्ञान दिनुभयो । कलेजमा पढ्दा उहाँ मेरो सबैभन्दा असल शिक्षक हुनुहन्थ्यो । म प्रायः उहाँको विषय छुटाउँदिन थिएँ । उहाँले कलेजमा पढाउने विषय सबैभन्दा अन्तिम हुन्थ्यो । बिहानको कलेज अनि अन्तिम विषय । धेरैले बाध्य भएरै पनि गुमाउँछन्, भोकका साथै काम गर्न अफिसतिर लाग्नुपर्ने भएकाले पनि अन्तिम विषय प्रायः विद्यार्थीले पढ्न भ्याउँदैनन् ।

तर, मलगायत केही साथी उहाँको विषय पढ्न अन्तिमसम्मै पर्खिन्थ्यौं । कहिलेकाहीँ त म र सुनिल भन्ने एक जना साथी मात्र उहाँको विषय पढ्नका लागि बस्थ्यौं । पत्रकारिता पढ्दा मलाई विषयतिर भन्दा पनि उहाँको अनुभव सुन्न मन लाग्थ्यो ।

उहाँले आफूले पत्रकारिता कर्म सुरु गरेको समयबाट तीता–मीठा अनुभव सुनाउनुहुन्थ्यो । यसैले पनि उहाँले पढाउने घण्टी पढ्न चाख लाग्थ्यो । उहाँकै विशेष सल्लाहमा मैले महेन्द्र मोरङको इतिहासमा सबैभन्दा पहिलोपटक म्यागाजिन प्रकाशन गरेको थिएँ । कलेजमा त्यसअघि हस्तलिखित म्यागाजिन निकालिए तापनि कम्प्यूटराइज म्यागाजिन कसैले निकालेका थिएनन् ।

मेरो नेतृत्त्वमा प्रयोगात्मक परीक्षाका लागि तयार भएको ‘महेन्द्र मोरङ दपर्ण’ नामक उक्त म्यागाजिन हामीले २ अंक जति छाप्यौं । उहाँले मलाई पटक–पटक भन्नुभएको थियोः ‘माधव यसलाई तिमीले निरन्तरता दिनुपर्छ ।’

पहिलो प्रयास नै धेरै मन परेको बताउँदै उहाँले निरन्तरताका लागि आग्रह गरेको बताउनुहुन्थ्यो । कमल सरले आफ्नो घरमै बोलाएर हामीलाई निरन्तरता दिनका लागि भन्नु भएको थियो । उहाँको भनाइ मान्दै २ अंकसम्म निकाले पनि त्यभन्दा उँभो बढ्न सकेनौं । साथीहरू पढाइ र जागिरको शिलशिलामा लागेका कारण दुईभन्दा माथि बढ्न सकेनौं ।

हामीलाई पढाउँदा समयको ख्याल राख्न सिकाउने उहाँलाई अहिले समयले नै साथ दिइरहेको छैन । उहाँ क्यान्सरलाई जित्नका लागि भरपूर कोसिस गरिरहनुभएको छ । धर्मप्रति निष्ठावान रहने उहाँलाई भगवानले दसौं लाखमध्ये एक जनालाई लाग्ने रोग थमाइदिए । तथापि, उहाँले ब्लड क्यान्सरलाई जित्नेमा म ढुक्क छु ।

आर्थिक विन्नताका कारण उपचारमा समस्या भएका बिरामीहरूलाई पत्रकारितामार्फत् सहयोग गर्ने तपाईंलाई हाल सहयोगको खाँचो रहेको हामी सबैले बुझेका छौं । यस्तैमा हामीले २४ फागुनमा तपाईंको उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ ‘बहुलाकाजीको सपना’ नामक नाटक मञ्चन गरेका थियौं ।

हामी विद्यार्थीहरूको संस्था विराट आदर्श साहित्य मञ्चले विराटनगरस्थित आरोहण गुरुकुलमा मञ्चन गरेको सो नाटकबाट संकलित रकम मकालु टिभीमार्फत् तपाईंको उपचारमा सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको छ ।

र, अन्त्यमा म मात्र नभएर तपाईंका विद्यार्थी, आफन्त पत्रकार एवं समस्त शुभचिन्तकहरू तपाईंलाई पुनः टिभीको स्क्रिनमा उसैगरी बोलेको र स्वास्थ्यसम्बन्धी सचेतना फैल्याउँदै गरेको देख्न चाहन्छन् । तपाईंको साथमा हामी मात्र नभएर हाम्रो प्रार्थना पनि संगसंगै छ ।

Loading...