एसईई परीक्षाको सबै तयारी पूरा, पाँच लाख परीक्षार्थीले जाँच दिने

काठमाडौं, २८ फागुन । एक सातापछि शुरु हुने यस वर्षको एसईई परीक्षाको सबै तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ६ चैतबाट सुरु हुने एसईई परीक्षाको तयारी पूरा भएको हो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले उपत्यकाका एकाधबाहेक सबै केन्द्रमा प्रश्नपत्र पुगिसकेको जानकारी गराए । केन्द्रको प्रश्नपत्र नजिकैको प्रहरी कार्यालयमा राख्ने व्यवस्था गरिएको छ ।

उनका अनुसार परीक्षामा करिब १० हजार सुरक्षाकर्मीसहित करिब ६० हजार जनशक्ति परिचालित हुनेछन् ।

शिक्षा ऐनअनुसार एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था थियो। संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो ।

पनिकाले प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र छापेको छ । गत वर्षदेखि नै यो व्यवस्था गरिएको हो । कोरोनाको त्रास बढिरहेको अवस्थामा बोर्डको अनुरोधमा सबै केन्द्रका हेल्थ डेक्स राख्ने तयारी भइरहेको छ ।

परीक्षा समितिको एकरदुई दिनपछि हुने बैठकले डेक्स राख्ने निर्णय मन्त्रालयमा पठाउनेछ ।

मन्त्रालयले डेक्स राख्ने गृहकार्य गरिरहेको छ ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले परीक्षा दिन केन्द्रमा आएका विद्यार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेमा बेग्लै राख्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘आवश्यक परे तत्काल अस्पताल लैजाने व्यवस्था गर्ने तयारी गरेका छौं ।

बोर्डले सबै परीक्षा केन्द्रमा सफाइ गर्ने व्यवस्थासमेत मिलाएको छ ।’

यसपालिको एसईईमा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन् ।

तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन् ।

ग्रेडवृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुँदैछन् ।

चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बाग्मती र कम कर्णाली प्रदेशबाट छन् ।

बाग्मतीबाट १ लाख ३ हजार ६ सय ६७ र गण्डकीबाट ३६ हजार ४ सय ३६ सहभागी हुँदैछन् ।

प्रदेश–१ बाट ८४ हजार ५०, २ बाट ७३ हजार ९ सय ८८, गण्डकीबाट ४७ हजार ३ सय ९९, ५ नम्बर प्रदेशबाट ८१ हजार ७ सय र सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७९ परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा १ हजार ९ सय ९४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए ।

गत वर्ष १ हजार ९ सय ६९ केन्द्र थिए ।

उनका अनुसार सबैभन्दा बढी केन्द्र बाग्मतीमा कायम गरिएको छ ।

बाग्मतीमा ४ सय २१ र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७६ छन् ।

त्यस्तै एकमा ३ सय ७४, २ मा २ सय ६६, गण्डकीमा २ सय २०, ५ मा ३ सय २६ र सुदूरपश्चिममा २ सय ११ केन्द्र कायम गरिएको छ ।

Loading...