विराटनगरका प्राथमिक विद्यालयमा विद्यार्थीको खडेरी, मर्ज गर्न जनप्रतिनिधिको आनाकानी

विराटनगर, २८ फागुन । विराटनगर महानगरपालिका २ शनिहाटमा छ, विराट प्राथमिक विद्यालय । यहाँ प्राथमिक तहको कक्षा ३ सम्म जम्मा ७० जना विद्यार्थी छन् । तीमध्ये १५ देखि २० जना मुश्किलले नियमित विद्यालय आउँछन् ।

विराटनगर महानगरपालिका–१ मा छ, सयपत्री परोपकार आधारभूत मावि । कक्षा चारसम्म पठनपाठन हुने यो विद्यालयमा जम्मा ६० जना विद्यार्थी भर्ना छन् । तर मुश्किलले २० जनासम्म मात्र विद्यालय आउने गर्छन् ।

विराटनगर महानगर–२ मा रहेको जनता नमूना माविको प्राथमिक तहमा जम्मा २० जना मात्र विद्यार्थी छन् । तर, यहाँ प्रावि तहका लागि १० जना शिक्षकको दरबन्दी छ ।

यस्तै महेन्द्र माविमा ८३ जना, शंकरपुर प्राविमा २९ जना, आर्दश प्राविमा ९९ जना, बखरी आधारभूतमा ८८ जना शिवजी प्राविमा १३३ जना सत्यनारायण प्राविमा ८५ जना विद्यार्थी छन् ।

यसैगरी १२ जना शिक्षक दरबन्दी रहेको गोग्राहा माविमा ८७ जना र ११ जना शिक्षक दरबन्दी रहेको नारायण प्राविमा १३४ जना विद्यार्थी छन् ।

सबै विद्यालयमा प्राथमिक तहका विद्यार्थीको खडेरी

कक्षा ५ सम्म पढाइ हुने २५ वटा प्राथमिकसहित विराटनगर महानगरपालिकामा ५६ वटा सामुदायिक विद्यालय छन् । तर निमावि र मावि विद्यालयका प्राथमिक कक्षाहरू प्रायः सबैमा विद्यार्थीको संख्या न्यून छ ।

प्राथमिक तह अध्ययन गराउने सबै विद्यालयहरूले जेनतेन विद्यार्थी भर्ना गराए पनि विद्यार्थी विद्यालयमा टिकाउन सकेका छैनन् ।

भर्ना भएका विद्यार्थी पनि विद्यालयमा नआएपछि चिन्तित भएका शिक्षक र कर्मचारी अनि विद्यालय व्यवस्थापन समितिले विद्यालय मर्जरमा नजाओस् र खारेज नहोस् नभेर विद्यार्थी आर्कषित गर्न आफैँ खाजाको व्यवस्था गर्ने गरेका छन् । तर पनि विद्यालयमा विद्यार्थी आइरहेका छैनन् ।

विद्यालय मर्ज नगर्न जनप्रतिनिधिहरूको दवाव

विराटनगर महानगरमा सञ्चालन भएका तर विद्यार्थी नभएका विद्यालयहरूलाई मर्ज नगर्न स्थानीय जनप्रतिनिधिहरूले दवाव दिने गरेका छन् । उनीहरूले आफ्नो वडामा भएको विद्यालयलाई सुधार गर्नुपर्ने तर इतिहासनै मासेर अर्कोमा मर्ज गर्नु हुँदैन भन्ने गरेका छन् ।

नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाका अनुसार जनप्रतिनिधिहरूकै दवावले महानगरपालिकाले विद्यार्थी नभएका विद्यालयहरू मर्ज गर्न सकेको छैन ।

विद्यालय मर्ज गरेमा इतिहास मासिने, खाली जमिनको अभाव हुने अनि भोलि विद्यार्थी बढेमा नयाँ विद्यालय भवन बनाउन समस्या हुने तर्क जनप्रतिनिधिहरूको छ ।

एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखाका योजना प्रमुख दिव्यराज कट्टेल स्थानीय तहसँग सबै अधिकार गएकोले महानगरपालिकाले आवश्यक अनुसन्धान गरेर विद्यार्थी नभएका विद्यालयहरू मर्ज गर्नुपर्ने बताउँछन् ।

प्रावि तहको तलवभत्तामा बर्सेनि साढे २० करोड खर्च

शिक्षा विकास तथा समन्वय कार्यालय मोरङका अनुसार विराटनगर महानगरका प्राथमिक तहका विद्यालयमा जम्मा ३ सय ९३ जना शिक्षकहरूले पठनपाठन गराइरहेका छन् ।

महानगरपालिका लेखा शाखाका अनुसार विराटनगरमा आधारभूत विद्यालयका शिक्षक र कर्मचारीको तलवभत्तामा बर्सेनि सशर्त अनुदानबाट २० करोड ३९ लाख ७९ हजार खर्च हुँदैआएको छ ।

महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा कुल ६ हजार ७ सय १६ जना बालकक्षादेखि ३ कक्षासम्म विद्यार्थी छन् ।

Loading...