होलीमा उबेलाको जस्तो रस छैन- बेनीगोपाल मुन्दडा

बेनीगोपाल मुन्दडा विराटनगरका पूराना उद्योगी–व्यवसायी हुन् । ६८ वर्षीय मुन्दडा सोमबार ‘थम्ब पुजा’मा जान हतार गर्दै थिए । उनी जान हतारिएकाे थम्ब पुजाबाट नै हाम्राे कुराकानी अघि बढ्यो ।

मैले प्रश्न गरे के हो यो थम्ब पुजा भनेको ? हँसिलो स्वभावका मुन्दडाले भने, ‘हाम्रो परम्परा हो ।’

सरल भाषामा थम्ब पुजा भनेको विष्णुभक्त प्रल्हादको पुजा हो । काँचो नरिवललाई प्रल्हादको प्रतिमा मानेर बाँसको अग्लो लिंगो गाडिएको छेउमा राखिन्छ । लिंगो र नरिवल राखिएको वरिपरि गोबरबाट बनाईएको गुँईठा र पराल थुपारिन्छ ।

यसरी थुपारिएको पराल र गुँईठामा आगो लगान्छ । बलिरहेको आगोबाट जस्ले प्रल्हादको प्रतिमा निकाल्न सक्छ उसलाई पुरस्कृत गरिन्छ । काठमाडौंको बसन्तपुरमा लिंगो गाडेर होलीको प्रारम्भ भएको जानकारी दिएजस्तै थम्व पुजाको पनि छुट्टै महत्व छ तर तरिका र स्थान फरक छ ।

कुराकानीको खास विषय ‘थम्ब पुजा’ थिएन । कुराकानीको मुख्य विषय विराटनगरको अहिलेको होली र पाँच दशक अघिको होली बिचको भित्रता थियो ।

कोरोना भाइरसका कारण याे पटक हाेलीमा सामान्य पारिवारिक भेटघाट मात्र भएको बताए । हरेक वर्ष हुँदै आएको ‘अल्बेली बारात’ र ‘महामुर्ख सम्मेलन’ पनि आयोजना भएन् । होलीकै लागि भनेर आयोजना गर्ने भनिएको विशेष सांस्कृतिक कार्यक्रमहरु पनि रद्द गरिएको मुन्दडाले बताए ।

‘सरकारले धेरै संख्यामा मानिसहरु उपस्थित भएर कार्यक्रम, सभा, समारोह नगर्न आमसमुदायसँग आग्रह गरे अनुसार नै यो वर्षका सम्पूपर्ण कार्यक्रमहरुलाई रोकिएको हो’ मुन्दडा भन्छन्, ‘मानिसको सबैभन्दा ठूलो सम्पत्ति भनेको नै आफ्नो स्वास्थ्य हो त्यहिँ भएर स्वास्थ्यको दृष्टिकोणले पनि यसपल्टलाई स्थगित गरेका हौं ।’

मानिसहरुले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्थानीय, प्रदेश र केन्द्र सरकारले अपनाएको सावधानीप्रति मुन्दडा सन्तुष्ट थिए ।

मुन्दडा विगतको जस्तो होलीमा रस नभएको बताउँछन् । ‘हामीलाई पहिले १५ दिन अघिबाट नै होली पर्व लाग्थ्यो । पित्तलको पिच्कारीले लुकिलुकी मानिसहरुलाई पानी हान्दै उनीहरुको कुर्ता–धोती भिजाईदिन्थ्यौं ।’ तर अहिले यी सबै कुराहरु परिवर्तन भएको छ ।’ मुन्दडा भन्छन्, ‘अहिलेको होली र खेल्ने तरिका परिवर्तन भइसक्यो ।’

उनका अनुसार पहिले पहिले सबै क्षेत्रमा मानिस समुह बनाएर होली खेल्थे । ‘पहिले मठमन्दिर, विद्यालय, बजार सबैतिर मानिसहरु समूह–समूह बनाएर होली आउनभन्दा अघिबाट नै होलीको बारेमा कुरा गर्ने गर्थे, अहिले पनि त्यहीँ नै छ तर फेसबुक र म्यासेन्जरको गुप्रमा गफ गर्छन् ।’ उनले भने ।

होलीमा मानिस नजिक भएपनि पहिलेको जस्तो आत्मीयता नभएको उनकाे बुझाइ छ । ‘हामी एकादशीदेखि पूर्णिमासम्म लगातार पाँच दिन रमाई–रमाई होली खेल्थ्यौं, तर अहिलेका पुस्ताहरु होली तीनचार घण्टाको कार्यक्रमा नै सकाईदिन्छन् ।’ मुन्दडा भन्छन् ‘होलीको त्यो आकर्षण घटेको जस्तै अनुभुती हुन्छ ।’

होलीमा प्रयोग हुने रंगको विविधता देखेर उनी छक्क पर्छन् । आफ्नो बाल्यकाल सम्झँदै मुन्दडा भन्छन्, ‘हाम्रो बेलामा गुलाबी र पहेंलो रंग मात्रै हुन्थ्यो तर अहिलेको बजारमा पाईने होलीको रंगको रंग देखेर आफैं छक्क पर्छु ।’

अहिलेको होलीको गीतहरुमा पनि त्यो बेलाको जस्तो रस नपाईने उनको विश्लेष्ण छ । पूरानो होली गीत मोबाईलमा बजाएर सुनाउँदै मुन्दडा भन्छन्, ‘ती बेलाका गीतहरुमा भाव हुन्थ्यो, मिठास हुथ्र्यो । तर अहिलेको गीतसंगीत पहिलेको दाँजोमा फिक्का छ ।’

होली पर्वले जातपात, धनी, गरिब केही नछुट्याउने पक्ष राम्रो लाग्ने उनी बताउँछन् । ‘होली पर्वमा कोही पनि ठूलोसानो हुँदैन ’ मुन्दडा भन्छन्, ‘यो संस्कार त्यत्तिबेला पनि थियो र अहिलेको युवा पुस्ताले पनि यसलाई अनुशरण गरिरहेका छन् ।’

प्रस्तुती : शिवहाङ राई

Loading...