कोरोनाका कारण दयाहाङको ‘नीरफूल’ प्रदर्शन स्थगित

विराटनगर, २६ फागुन । कोरोना भाइरसको प्रकोपका कारण दयाहाङको मुख्य भूमिका रहेको फिल्म ‘नीरफूल’ को प्रदर्शन स्थगित भएको छ ।

शुक्रबार ३० फाल्गुनमा प्रदर्शन हुने ‘म यस्तो गीत गाउँछु २’ अनिश्चितकालका लागि स्थगित गरिएपछि उक्त फिल्मको रिलिज मिति पनि स्थगित गरिएको हो ।

७ चित्रमा प्रदर्शन गरिने भनेर गत साता ट्रेलर रिलिज गरिएको थियो । यसअघि ३० फागुनमै रिलिज हुने भएिको यो फिल्म वितरक र निर्माताको सल्लाहअनुसार ७ चैत्रलाई सारिएको हो । चलचित्रको प्रदर्शन मिति सारेसँगै निर्माता तथा निर्देशक फूलमान बल फिल्मको प्रचारमा व्यस्त थिए ।

निर्देशक बलले भने, ‘नेपालमा अहिलेसम्म कोरोना भाइरस नदेखिए पनि यसैको डर र मानिसहरूमा देखिएको त्रासका कारण सिनेमा हलमा दर्शक छैनन् । यस्तो अवस्थामा सिनेमा चलाउन उपयुक्त नहुने हुँदा फिल्मको रिलिजलाई देशको परिस्थितिलाई मध्यनजर राख्दै अर्को उपयुक्त तिथि हेरेर निरफूललाई रिलिज गर्नेछौं ।’

‘नीरफूल’मा दयाहाङका साथ शन्ति वाइवा, बुद्धि तमाङलगायतका कलाकारको मुख्य भूमिका रहेको छ भने अभिनेत्री रेखा थापा अतिथि भूमिकामा प्रस्तुत भएकी छन् ।

Loading...