कोरोनाले हल्लायो होलीको व्यापार (फोटो फिचर)

यज्ञ अधिकारी

रंगेली, २६ फागुन । हर्ष–उल्लासले भरिएको चाड हो, होली । होली उत्साह, उमंग र खुशीयालीका साथ रंगीन बनाउने पर्वमा पर्छ । होलीमा बालबच्चा, युवा, वृद्ध सबैले रंगको माध्यमबाट खुशी साटेर मनाउँछन् ।

खुसियालीमय पर्वसँग गाँसिएको अर्को पाटो व्यापार हो । विश्वलाई नै आक्रान्त पार्नेगरी फैलिएको कोरोना (कोभिड–१९) को त्रासबाट नेपाल पनि अछुतो छैन ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको छ । यही कारण भीड जम्मा हुने, धेरै मानिसबीच सम्पर्क हुने गतिविधि नगर्न गृह मन्त्रालयले सुझाव दिएको छ ।

विभिन्न सरकारी निकायले आफूमातहत हुने यस्ता गतिविधि स्थगित गर्न निर्देशन पनि दिएका छन् । नेपालमा पनि भाइरस फैलन सक्ने त्रासको कारणले होलीजन्य सामाग्रीहरूको व्यापारमा मन्दी देखिएको छ । पहिलोपटक होलीमा प्रयोग हुने सामाग्री व्यापार गरेका योगेस मण्डल आश्चर्यमा परेका छन् ।

‘अन्य वर्षमा होलीको दुई दिन अगाडिदेखि नै बजारमा सामान किन्ने खचाखच हुन्थे तर यसपटक फाट्टफुट्ट मात्र छन्’, उनले भने ।

दसौं वर्षदेखि होलीमा प्रयोग गरिने सामानको व्यापार गर्दै आएका विक्रम साह यस्तो मन्दी कहिले पनि नभएको बताउँछन्, उनी ।

होलीमा मुख्य रूपमा प्रयोग अबिरको हुने गर्छ । ‘होलीको व्यापार मेरो मात्र होइन विराटनगर बजार कहीँ पनि राम्रो छैन,’ उनले भने, ‘होलीको अघिल्लो दिनसम्म १० किलो अबिर पनि बेच्न सकेको छैन ।’

‘होलीको अघिल्लो दिन, आधा दिन बित्दा दुई वटा टि–सर्ट बचे तपाईं आफैँ भन्नुस् कस्तो छ अवस्था,’ व्यापारी अरुण साहले भने, ‘अरु वर्ष होलीमा म १२ दर्जनसम्म टि–सर्ट बेच्ने गर्थें ।’

होलीको समयमा विराटनगरको बजारमा मानिसको चहल पहल कम छ । होली व्यापारको लागि राम्रो अवसर भए पनि कोरोना भाइरसको त्रासका कारण व्यापार मन्द अवस्थामा रहेको छ ।

अघिल्ला वर्षमा भन्दा यस वर्ष होलीको सामानको व्यापार निक्कै घटेको अर्का व्यापारी शम्भु रौनियारले बताए ।

बजारमा व्यापारीहरू होलीका सामान फिँजाएर ग्राहक कुरेर बसेका भए पनि ग्राहक नगन्य छन् । होली रंगहरूको पर्व हो ।

यसमा अबिरको प्रयोग धेरै हुने गर्छ । तर, यसपटक भने पिच्कारीको व्यापार राम्रो रहेको व्यापारी राजकुमार गोस्वामीले बताए ।

नेपालमा कोरोना संक्रमित नभेटिए पनि उच्च सर्तकता भने अपनाउन थालिएको छ । धेरै मानिसको जमघट हुने ठूला कार्यक्रम, भिडभाडमा जान सरकारी स्तरबाट रोकिएको छ ।

विभिन्न संघ संस्था राजनैतिक दलले गर्ने होली मिलन कार्यक्रम पनि सबै स्थागित भएका छन् ।

सम्भावित संक्रमणलाई मध्यनजर गर्दै यस्ता कार्यक्रम स्थगित भएका हुन् ।

होलीमा प्रयोग हुने सामग्रीहरू विराटनगर भन्सारबाट यस वर्ष १८ करोड ५९ लाख मूल्य बराबर आयात भयो । अघिल्लो आर्थिक वष २१ करोड ६५ लाखको भित्रिएको थियो ।

Loading...