गरिब महिलालाई महिला दिवस : कागलाई बेल पाक्यो हर्ष न बिस्मात !

बबिता लिम्बू
विराटनगर, २५ फागुन । विराटनगर–१२ स्थित नहरको घुम्ती छेउमा समोसा, पानीपुरी, पकौडा, चाउमिन, आलुचप बिक्री गर्ने ठेला पसल । त्यो पसलमा चलाउने रञ्जनादेवी खवास अन्तर्राष्ट्रिय नारी दिवसबारे भन्छिन्ः– ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात !’

बिहानै उठ्यो घरको कामधन्दा सक्नु र दिउँसो ठेलामा परिकार बिक्री गर्नु रञ्जनाको दिनचर्या हो । श्रीमानको कमाइले मात्र खर्च धान्न गाह्रो भएकोले घरभाडा तिर्न, छोराको स्कूलको खर्चका लागि उनले ठेलामा परिकार बिक्री गर्न थालेकी हुन् । सधै गरिबीको अभावको दवाव सहन बाध्य रञ्जनालाई सधैं आर्थिक अभाव हुन्छ । यसैले हातमुख जोर्न सधैं आफ्नो काममा उनी व्यस्त हुन्छिन् । उनलाई अन्तर्राष्ट्रिय महिला दिवस र यसको महत्वबारे केही थाहा नै छैन ।

‘महिला दिवसले हामी जस्तो दैनिक गरी खानेलाई खान दिँदैन बहिनी । एक दुई पैसा नकमाई घरबार चल्दैन । हामीलाई महिला दिवस आए नि केही छैन नआए नि केही छैन ।’ गरिखाने गरिब महिला रञ्जना भन्छिन् ।

गरिब महिला रञ्जना एक प्रतिनिधि पात्र मात्र हुन् । महिला दिवसबारे थाहा नपाउने हाम्रो देशमा अझै धेरै महिलाहरू छन् । उनीहरू अझै महिला हक अधिकार र लैंगिक समानताबारे जानकार छैनन् । अझै उनीहरूले लैंगिक समानताबारे जानकारी पाउन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय महिला दिवस सन् १९९० देखि मनाउन सुरु गरिएको हो । यसले आधिकारिक मान्यता सन् १९७५ मा मात्र पाएको थियो । सन् १९०९ मा अमेरिकाकी सोसलिष्ट पार्टीले यूनाईटेड स्टेट्समा पहिलो राष्ट्रिय महिला दिवस २८ फेब्रुअरीमा मनाएको थियो । त्यसपछि १९ मार्च १९११ मा पहिलोपटक अष्ट्रिया, डेनमार्क, र स्विटजरल्याण्डमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो ।

त्यसको दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला दिवसको मिति परिवर्तन गर्दै सन् १९१३ मा यसलाई मार्च ८ मा सारियो । त्यति बेलादेखि हरेक वर्ष यसै दिन (८ मार्च) मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय महिला दिवस संसाभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै मनाइन्छ ।

महिला पुरुषबीचको लैंगिक असमानतालाई समाप्त गदै सबै क्षेत्रमा महिलाहरूको समानताका लागि लैंगिक अधिकार सुनिश्चित गराउन सघाउनु यसको मूल उद्देश्य हो । तर अझै पनि नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस गरिब र श्रमिक महिलाहरूसम्म पुग्न सकेको छैन ।

अझै उनीहरूको सशक्तीकरण हुन सकेको छैन । यसैले महिला दिवस शहरी र ग्रामिण क्षेत्रका गरिब महिलाहरूसम्म चेतना बनेर पुग्न जरुरी छ ।

(प्रशिक्षार्थीं पत्रकार)

Loading...