संविधान पूर्ण कार्यान्वयन भएमात्र महिला दिवसको सम्मान

आशिका लम्साल

मार्च ८, आजको दिन विश्वभरि नै ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । महिलालाई सशक्त बनाउनका निम्ति यो दिवस मनाउन थालेपछि केही सकारात्मक परिवर्तन भएका छन् । विश्वका महिलाहरूले मुक्तिका लागि गरेको संघर्षको सम्झना आजकै दिन गर्ने गरिन्छ, यो सकारात्मक हो । सन् २०१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि नारी दिवस मनाउन थालिएको हो ।

८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा मनाउने उदघोषसँगै विश्वभरका महिलामा खुशीको सञ्चार मात्र भएन यसले महिलाको चेतनास्तर वृद्धिमा पनि ठूलो फड्को मार्‍यो । यसपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला आन्दोलन विस्तार भयो । नेपालमा महिला आन्दोलनका लागि धेरै संघर्ष भएका छन् । योगमाया, द्वारिकादेवी ठकुरानी, मंगलादेवी, सहाना प्रधान लगायतका कालजयी महिलाहरूले अधिकारका लागि योगदान दिएका छन् । हिजो भएको सशस्त्र जनयुद्धले आम उत्पीडित महिलाहरूलाई जागरुक बनाएको छ । जनयुद्धकै कारण संयुक्त जनआन्दोलन भएको हो र संविधानमा महिलाको ३३ प्रतिशित हक अधिकार सुनिश्चित भएको हो ।

तर महिलाका हक अधिकारका निम्ति अनेकौं आन्दोलन भएर संविधान लेखिए पनि नेपालमा महिलाहरूको अवस्थामा केही मात्रै सुधार आएको छ । यो सुधार पूर्ण रूपमा सन्तोषजनक भने छैन ।
अझै पनि नेपाली समाजमा पितृसत्ता कायमै छ। आज पनि महिलाको अवस्था दयामा आधारित छ । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, पालिका प्रमुख उपप्रमुखहरुमा महिलाहरु पुगे पनि अझै महिलाहरूको पक्षमा भएका कानूनहरूको पूर्ण पालना हुन सकेको छैन । पिछडिएको छेत्रमा अझै पनि महिलाको अवस्था नाजुक रहेको छ । पश्चिम नेपालमा छाउपडी प्रथाले महिलाहरूमाथिको निर्मम र निष्ठुरतम व्यवहार कायमै रहेको प्रष्ट देखिन्छ ।

नेपालको संविधान २०७२ ले महिलालाई थुप्रै हक अधिकारको व्यवस्था गरेको छ । संविधानको मौलिक हकअन्तर्गत धारा ३८ ले महिलाको हकमा प्रत्येक महिलालाई लैड्डिक भेदभावविना समान वंशीय हक हुने, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने, महिलाविरुद्ध धार्मिक, सामाजिक परम्परा, प्रचलन वा अन्य कुनै किसिमको भेदभाव, शोषण गर्न नहुने, यदि त्यस्तो कार्य गरेमा कानूनबमोजिम दण्डनीय हुनेछ र पीडितले कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था छ ।

त्यस्तै राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराइने, महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्रदान गर्ने, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुने व्यवस्था छ । यसैले संविधान पूर्ण कार्यान्वयन भएमात्र अन्तर्राष्ट्रिय महिला दिवसको सम्मान हुन्छ ।

(प्रशिक्षार्थी पत्रकार)

Loading...