जनयुद्धमा शारदा, शान्तिकालमा सरस्वती

एक नम्बर प्रदेशसभा उपसभामुख सरस्वती पोखरलको जीवन यात्रा

पश्चिम प्युठानको तत्कालीन ओखरपुरकोट गाप ७ चुँदारामा २०३२ मा जन्मिएकी हुन् उनी । मध्यम वर्गीय परिवारमा हुर्केकी उनी ३ दाजु, एक बहिनी र बाबु आमासहितको परिवारमा रमाउँथिन् । गाउँकै बालशिक्षा माविबाट २०४९ मा एसएलसी पास गरिन् । उच्च शिक्षा पढ्न काठमाण्डौ पुगिन् । अंग्रेजी र समाजशास्त्रमा एमए उत्तीर्ण गरिन् ।

तत्कालिन मालेको विद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा सक्रिय भएकी उनी २०५८ मा बिद्रोह गरेर माओवादी भूमिगत जनआन्दोलनमा सक्रिय भएर लागिन् । माओवादीमा फुट आएपछि उनी मोहन वैद्य (किरण) को पार्टीमा लागिन् । तर माओवादी पार्टीमा आएको व्यक्तिगत महत्वाकांक्षा र टुटफुटले दिक्क भएर पछि फेरि फर्केर मुलधारमै आइन् । सशस्त्र भूमिगत आन्दोलनमा शारदा नामले चिनिने उनी आजकल एक नम्बर प्रदेश सभाको उपसभामुख छिन् । र, आजकल उनी शारदा हैन असली सरस्वती पोखरेल नामले चिनिन्छिन् ।

विद्यार्थीदेखि पार्टी संगठनमा खुल्ला र भूमिगत राजनीति अनि नीति निर्माण गर्ने ठाउँको नेतृत्व अनुभव सँगाल्ने अवसर पाएकी एक नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल आफ्नो आरोह अवरोह यसरी सुनाउँछिन्ः–

माले अखिलबाट माओवादीमा बिद्रोह

स्कुलमा पढ्दै खेरी उनी मोटो मसालमा आवद्ध विद्यार्थी संगठनको सदस्य बनेकी थिइन् । विद्यालयमा हुने रेयुकाई नामको संस्थामा लड्दा मोटो मसालकै विद्यार्थी भएर जितेकी थिइन् । एसएलसी पास गरेपछि काठमाण्डौ आएर पाटन क्याम्पसमा पढ्न थालिन् । त्यहीँबाट उनले मेजर अंग्रेजी र समाजशास्त्रमा डिप्लोमा सकिन् । माले अखिलबाट उनी २०५४/०५५ तिर दाजु गणेश पोखरेलसँगै स्ववियूमा उम्मेदवारी दिइन् ।

दाजु गणेश सभापतिमा र उनी सदस्यमा उठेका थिए । दुवैले पराजय भोगे । ०५६ मा त्रिविमा एमए पढ्न थालिन् । त्यहाँपछि माले अखिलबाट स्ववियूमा उठिन् । परिणाम पराजय नै आयो । कम्युनिष्ट सिद्धान्तलाई आत्मसात गरेकी पश्चिम दुर्गम पहाडमा बसेर अन्याय, उत्पीडन र विभेदको व्यवहारलाई नजिकबाट भोगे–बुझेकी उनले अन्ततः आमुल क्रान्तिकारी परिवर्तनका लागि भन्दै कृष्ण केसी, शिवकुमार डाँगी, हिमाल शर्मासहितको टोलीमा सहभागी भएर माले अखिलबाट बिद्रोह गरेर माओवादीमा प्रवेश गरिन् ।

आठ महिना बेपत्ता

माले अखिलबाट अखिल क्रान्तिकारीमा प्रवेश गरेपछि उनले काठमाण्डौ भ्यालीमा संगठनको जिम्मेवारी पाइन् । साथीहरुसँगै संगठन विस्तार गर्ने क्रममा ०५८ मा उनी पक्राउ परिन् । ८ महिनासम्म शिवकुमार डाँगी र उनीलगायतका विद्यार्थी नेताहरूलाई तत्कालीन राज्य सत्ताले बेपत्ता बनायो । कहिले त्यो हिरासत कहिले ऊ हिरासत गर्दै अड्डासार गरेर राख्ने गर्दथ्यो । त्यो बेला चरम यातना सहनुपर्‍यो । २०६० मा सर्वोच्चमा रिट हालेर बल्ल उनीहरू रिहा भए । त्यो बेला पार्टी शान्ति प्रक्रियामा थियो ।

जेलभित्र झाँगिएको प्रेम विवाहमा बदलियो

शिवकुमार डाँगी उनका पति हुन् । दुई सन्तानका धनी भैसकेका छन् उनीहरू । पहिले विद्यार्थी संगठनमा सामान्य चिनजान भएपनि शिवकुमारसँग उनको घनिष्ठताचाहिँ पक्राउ परेपछि भएको थियो । आठ महिनाको जेल यात्राबाट छुटेपछि धुमधामसँग क्रान्तिकारी विवाह भयो उनीहरूको ।

काठमाण्डौ ल क्याम्पसमा अखिल क्रान्तिकारीले विवाह कार्यक्रम आयोजना गर्‍यो । देबेन्द्र पराजुली प्रमुख अतिथि बनेर उनीहरूलाई बधाई दिए । शिवकुमार डाँगी हाल नेकपाको एक नम्बर प्रदेश सदस्य छन् । हाल डाँगी समाजसेवा र र सहकारी संस्थामा पनि सक्रिय छन् । सुनसरीको तरहरामा शहीद स्कुल सञ्चालन गराउने र त्यसलाई मलजल गर्ने अनि भर्खरै कृषि कलेज स्थापना गर्नेमा डाँगीको मनग्यै योगदान छ । सरस्वती एक नम्बर प्रदेशको उपसभामुख छिन् ।

विवाहपछि पतिपत्नी दुवै पूर्वी कमाण्डमा

विवाहपछि पति शिबकुमार र उनले पूर्वी कमाण्डमा गएर पार्टीको सेवा गर्ने जिम्मेवारी पाए । २०६० बाट उनीहरू संखुवासभा जिल्लामा पार्टी संगठनमा काम गर्ने गरी आए । एरिया इन्चार्जबाट जिम्मेवारी बहन गर्न थालेकी उनी जिल्ला सेक्रेटरी भइन् । त्यो बेला डाँगी अखिल क्रान्तिकारीको मेचीकोशी व्युरो इन्चार्ज थिए । पछि उनी जनमुक्ति सेनातर्फ बटालिन कमिसार पनि भए । तर उनीचाहिँ राजनैतिक क्षेत्रमै खटिरहिन् । छोरा आयुषको जन्मपछि उनीहरू मधेश झरे र सञ्चार विभागको जिम्मेवारी लिएर पार्टीले विराटनगरबाट प्रकाशन गरेको जनबिद्रोह दैनिकमा आवद्ध भएर काम गर्न थाले । पति डाँगी सम्पादक थिए उनी सहयोगी थिइन् । त्यो बेला बालक छोरालाई माइतीले लगेर स्याहारिदियो । केही महिनापछि उनीहरू सुनसरी सरुवा भएर पार्टीको गतिविधिमा संलग्न भए । शारदा सहसेक्रेटरी हुँदै सहइन्चार्ज भइन् ।

परिवारभन्दा सिद्धान्त प्यारो

शान्ति प्रक्रियापछिको खुल्ला राजनीतिले माओवादी पार्टीमा धेरै उतार चढाव आयो । सिद्धान्तमा नेताहरूबीच मतभेद सुरु भयो । पालुङटार बैठकदेखि पन्पिएको लाइन संघर्ष अन्ततः २०६८ को चावहिल गुम्बा भेलापछि विभाजनमा परिणत भयो । गुम्बा भेलाबाट ड्यास माओवादी जन्मिए । नेतृत्व मोहन वैद्य किरणले गरे, बिप्लव महासचिव भए । शारदा पनि वैद्य समूहमा गइन् । पति डाँगीले फुटेको पार्टीमा नलाग्न र व्यवहारिक बन्न आग्रह गरे । तर सिद्धान्तनिष्ठ शारदालाई शुद्ध कम्युनिष्ट पार्टी बनाउने ध्याउन्न थियो । उनलाई परिवारभन्दा कम्युनिष्ट विचार नै प्यारो ठानिन् ।

पाँच वर्षसम्म पति र पत्नीको बोलचाल बन्द

पार्टी विभाजन भएपछि शारदा र शिवको सम्बन्धमा पनि समस्या आयो । ५ वर्षसम्म उनीहरू अलग अलग बसे । एक वर्ष जति त बोलचाल नै भएन । चुनावका बेला सुनसरीमा प्रचण्ड नेतृत्वको नेताहरू भोट माग्दै हिँड्ने तर वैद्यले नेतृत्व गरेको शारदाको पार्टी उनीहरूमाथि बम प्रहार गर्दै हिँड्थ्यो ।

शिव सुनसरी २ नम्बर क्षेत्रको चुनाव परिचालन कमिटीका इन्चार्ज थिए र उनलाई जसरी पनि पार्टीका उम्मेदवारलाई जिताउनु थियो । तर शारदालाई चाहिँ जसरी पनि पति आवद्ध भएको पार्टीका उम्मेदवारलाई हराउनु थियो । पति शिव चुनावी सभा गर्थे तर शारदा बहिष्कार आन्दोलन चलाउँथिन् । पार्टी वैद्यलाई गलहत्याएर बिप्लवले पार्टी फुटाएपछि शारदाले बुझिन् पार्टी बिग्रेको विचारले हैन नेताहरुको स्वार्थले रहेछ भन्ने बुझिन् ।

उनलाई टुटफुटको राजनीतिले माओवादी आन्दोलन सकिन्छ जस्तो लाग्यो । उनलाई क्रान्तिका कुरा गर्ने अगुवा नेताहरू व्यवहारमा नमिलेको देख्दा निराश बनायो । अनि बादलको नेतृत्वमा पुरानै माओवादीमा फर्केर आइन् । त्यसपछि उनी पार्टीको पोलिटब्यूरो भइन् भने पति शिवकुमार केन्द्रीय सदस्य मात्र बने । अहिले उनीहरू सुनसरीको इटहरी उपमहानगरपालिका ५ मा स्थायी बसोवास गर्छन् ।

प्रदेश सभा चलाउँदा नर्भस हैन उत्साह

माओवादीले २०७४ मा सम्पन्न संविधान सभाको निर्माणमा उनलाई समानुपातिक सूचीमा राखेको थियो । तर उनी परिनन् । पछि २०७४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फबाट उनी प्रदेशसभाको सांसद बनिन् र उपसभामुख चयन भइन् । संघीयता कार्यान्वयन गराउनका लागि नीति बनाउने मुख्य थालोमा नेतृत्व गर्न आइपुगेकी उनलाई नयाँ जिम्मेवारी थपिएको महशुस भयो ।

खुला र भूमिगत राजनीतिको नेतृत्व गरेकोले उनलाई सभा चलाउन कुनै अप्ठेरो परेन । पहिलोपटक सभा सञ्चालन गर्न जाँदा उनलाई के होला कसो होला भन्नेचाहिँ लागेको थियो । तर पहिले नै सक्रिय नेतृत्व गरेको अनुभवले उनलाई नर्भस हैन हौसला बढेजस्तो भयो । हालसम्म उनले दुई दिन पूर्ण रूपमा सभा चलाइसकेकी छिन् भने कैयौ पटक सभामुखलाई सजिलो बनाउन बैठक सञ्चालन गरेकी छिन् ।

महिलाहरुलाई उपेक्षा गर्दा अझै खिन्नता

आफू उपसभामुख भएपनि उनलाई अझै केही चित्तचाहिँ बुझेको छैन । अझै पित्तृसत्ताको सोच नबद्लिएकोले महिलाहरूले अधिकारबाट वञ्चित हुनुपरिरहेको बुझाइ छ उनको । संविधानले महिलाको ३३ प्रतिशत अधिकार किटान गरेपनि व्यवहारमा कार्यान्वयन नहुँदा दुःख लागेको छ उनलाई । संविधानमा किटान भएको भए महिलाहरूले उपसभामुख हुन नै पाउने थिएनन । यसैले कानून, नीति, नियम बनाउँदा अमूर्त हैन मूर्त हुनुपर्ने उनी बताउँछिन् । जिम्मेवारी पाएका सबै महिलाहरुले कुशल नेतृत्व गरेर सफल उदाहरण प्रस्तुत गरिसकेकाले महिलाहरूलाई विभेद हैन अवसर दिनुपर्ने उनको सुझाव छ । भन्छिन् –विद्या भण्डारी, ओनसरी घर्ती, सुशीला कार्की सबै अब्बल ठहरिए । अनि अझै महिलालाई पाखा किन ?

कुनै पनि पद सजाउन हैन गरेर देखाउनका लागि हो भन्ने मान्छिन् सरसस्वती । यसैले उपसभामुख भएपछि पनि धेरै गर्न सकिन्छ भन्ने लाग्छ उनलाई । ‘भूमिका पदले हैन व्यक्ति पनि खोज्नुपर्छ’ उनी भन्छिन् । यसैले पनि फुर्सदको समय पनि उनले जनताकै लागि खर्चने गरेकी छन् । संसद सचिवालय र सभामुखसँग उनको सहकार्य अति राम्रो छ । सहकार्य गरेरै सदन र सभा चलाउँछन् ।

सम्झँदै जिरिङ्ग हुने ती तीन घटनाहरू

माओवादी भूमिगत जनआन्दोलनमा सक्रिय हुँदा धेरै हण्डर ठक्कर खाएको अनुभव छ उनीसँग । सबै कहँदा किताबै बन्छ । यसैले केही मुख्य घट्ना सुनाउँछिन् उनी । २०६२ मा उनलाई सुत्केरी बेथाले च्याप्यो । पहाडमा सुत्केरी गराउने सुविधा नभएको र सुरक्षा जोखिम पनि भएकोले मधेश झर्नुपर्ने भयो । मधेश झर्दा इलामको गोदक भन्ने ठाउँमा पहिलो छोरो आयूषको जन्म भयो बाटैमा । यस्तै दुई चोटी त मरेर पनि बाँचेकी थिइन् उनी ।

संखुवासभामा आएको १५ दिन जति भएको थियो । बासु शाक्यसँग उनी पार्टी गतिविधिमा संलग्न थिइन् । नुनढाकी भन्ने ठाउँमा जनताको घरमा सेल्टर थियो । कार्यक्रममा जाँदै गर्दा सेनासँग जम्का भेट भयो । तर उनी जंगलभित्र लुकेर जोगिइन् । सेनाले कालो कुर्ता लगाउने केटी खै भनेर गाउँ गाउँ खोज्यो तर फेला पारेन । संखुवासभाको मैदानेमा सेल्टर थियो ।

शारदा जिल्ला सेक्रेटरी थिइन् । जुनियर कार्यकर्ताहरू सेन्टिमा थिए । बेस्सरी पड्केको आवाज आयो । सेनाले शक्तिशाली गोली हानेको रहेछ । उनीसहित कार्यकर्ता भागेर जंगल पसे । दिनभरि जंगलमै बसे । मध्य राती भएपछि बल्ल जंगलबाट निस्केर गाउँ पसे । सेनाले भेटेको भए स्पट इन्काउन्टर गर्ने थियो ।

संखुवासभाको बतासे भन्ने गाउँमा एउटा कार्यक्रम थियो । सुधा सापकोटाका छोरीहरू कार्यक्रममा सहभागी थिए । सभामा सेनाले गोली चलायो । एक जना छोरीले त्यही शहादत प्राप्त गरिन । बाबु र दाजु पहिले नै मारिइसकेका थिए ।

पछि सेल्टरमा फर्केर छोरी मारिएको घटना सुनाउन निक्कै गाह्रो भयो । सुनाएपछि आमा सुधा बेहोस भइन् । तर पछि होस आएपछि आफूलाई सम्हाल्न सफल भइन् । त्यो बेला गंगा श्रेष्ठ (प्रभात) हाल समाजवादी पार्टीमा आवद्ध) ले निक्कै सराहनीय भूमिका खेलका थिए ।

Loading...