दुई रुपैयाँको सिन्दूर र ८ रुपैयाँको पोतेले खोसेको खुशी

जिन्दगी के हो ? घामपानीको जात्रा । माया, प्रेम, घृणा, उतारचढाव, दुःख, वेदना, आँसु, हाँसो, मिलन अनि विछोडको मीठो मिश्रण ? कहिलेकाहीँ जिन्दगीमा घामै मात्र परिदियो भने के गर्ने ? माया, हाँसो भागेर टाढा गयो भने कसरी सम्हालिने ? अनि विछोडले मात्र साथ दिइरह्यो भने कसरी सामना गर्ने ? अनि जिन्दगीमा सधैं अँध्यारो मात्र छाइरह्यो भने संघर्षमा कसरी टिक्ने ? प्रस्तुत छ – प्रगतिशील साहित्यकार एवम् राजनीतिज्ञ कुन्ता शर्माको भोगाई उनकै शब्दमा ।

बिहे गर्न ढिलो हुँदा बूढीकन्याको आरोप

२०३० सालतिर २७ वर्षको उमेरमा विवाह गर्नु कम चुनौतीपूर्ण काम थिएन । आफूसँगैका साथीहरू काखमा दुईटा बच्चा च्याप्दै हिँड्दा उनी किताब च्यापेर हिँड्थिन् । धरानस्थिच महेन्द्र कलेज धाइरहन्थिन् । बिहेको लागि १३ वर्षको उमेरबाट नै घरमा मानिसहरू धाउँथे । कुरा चलाउँथे तर बिहेलाई उनले २७ वर्ष आफूबाट टाढा राखिन् । समाजमा ‘कुन्ता बूढी भई, अब कसैले पनि यसलाई विवाह गर्दैन’ भन्ने मानिसहरूको जमात बाक्लै हुँदै थियो । तर उनलाई यी कुराले खासै फरक पार्दैनथ्यो । समाजले कुरा काटिरहन्थ्यो उनी चैं किताब पढिरहन्थिन् ।

दश रुपैयाँमा बिहे

व्यवस्थापन र शिक्षा संकायमा स्नातक र मानविकी संकायमा स्नातकोत्तर गरेकी कुन्ताले अन्ततः ४२ वर्षअघि २७ वर्षको उमेरमा विवाह गरिन् । उमेरमा पाको भएर विवाह गरेपनि उनलाई विवाह फापेन । त्यो बेलालाई सम्झँदा कुन्ता आफूले गरेको विवाहलाई जीवनको ठूलो दुर्घटनाको संज्ञा दिन्छिन् । दुई रुपैयाँको सिन्दूर, ८ रुपैयाँको पोते गरी जम्मा दश रुपैयाँमा बिहे गरेकी कुन्तालाई थाहा थिएन कि त्यसले जीवनमा कस्तो बज्रपात ल्याउँदैछ भन्ने ?

उनीसँगैका समाकालीन थिए उनका श्रीमान मञ्जुल । निम्न माध्यमिक विद्यालयका शिक्षक, साहित्यकार र राजनीतिमा होमिएका एक युवा थिए मञ्जुल । आफ्नो लेख, रचना पत्रिकामा प्रकाशन गर्न जाँदा भेट भएको केही दिनमा नै कुन्तालाई मन पराउन थालेका थिए मञ्जुलले । बिहे नगर्ने, म अहिले बिहेको लागि तयार छैन भन्दा बिहे गरेनौ भने म तिम्रै घरमा झुण्डेर मर्दिन्छु भनेर डर देखाएपछि मञ्जुलसँग बिहे गरेको कुन्ता बताउँछिन् ।

विवाहले खोस्यो खुशी

तर विवाह भएको दिनदेखि नै उनको जीवनमा सुख र खुशीले बाटो बिर्सियो । तीन छोराको आमा भइसक्दासम्म कुन्ताले श्रीमानको थुप्रै गाली, थप्पड र लछारपछार सहन पर्‍यो । कान्छो छोरा जन्मिँदा त श्रीमानले उनलाई चरित्रहीन महिलाकै संज्ञा दिन भ्याइसकेका थिए । यतिसम्म कि उनका श्रीमानले कान्छा छोरालाई कहिल्यै पनि आफ्नो सन्तानको रूपमा लिएनन् । बाबुले आमासँग गर्ने जहिल्यैको झगडा, अभद्र व्यवहारले गर्दा छोराहरूले बुबाआमाको माया कहिल्यै महशुस गर्न पाएनन् ।

माया, स्नेह र दुवै अभिभावसँग कम समय मात्र बिताउन पाएका उनका दुई छोरा लागुपदार्थ दुर्व्यसनीमा फसे । विशेषतः बुबाले कहिल्यै आफ्नो सन्तान मान्न तयार नभएको कारण, बुबाले आफूलाई दिएको त्यो मानसिक पीडा भुलाउन कान्छो छोराले लागूपदार्थ सेवन गर्न थालेको कुन्ता अहिले विश्लेषण गर्छिन् ।

श्रीमानको आफूलाई चरित्रहीनको आरोप, छोराहरू लागूपदार्थ दुर्व्यसनीमा फसेको अवस्था, आफूलाई सबैभन्दा बढी माया गर्ने बुबा यो संसारमा नै नहुनु, आफ्नो सुख-दुःखमा साथ दिने भाइ बाल्यअवस्थामा नै बिछोड हुनुले उनको एक मात्र आड उनकी आमा बनिन् । आफ्नी आमालाई नै हेर्दै कुन्ता जीवनको यात्रामा अघि बढिरहिन् ।

कुन्ता भन्छिन्, ‘आमालाई हेर्थें छुट्टै साहस आउँथ्यो । गर कि मर भन्ने स्थिति थियो, मसँग उठ्नबाहेक अर्को कुनै विकल्प नै थिएन । त्यसैले मैले सङ्घर्ष गरेर नै भए पनि उठ्ने प्रयास गरेँ र आज यो ठाउँमा छु । छोराहरूलाई यहाँसम्म ल्याइपुर्‍याएकी छु’, उनी थप्छिन्, ‘बाबु साथमा नभए पनि मेरो मिहिनेत, सङ्घर्ष तीनै छोराहरूले बुझिदिए, उनीहरू त्यहीअनुसार लगनशील भएर लागिपरिरहे र आज मेरा छोराहरू संगीत क्षेत्रमा सफल छन् ।’

चेतनशील माइतीको चेतनाले ऊर्जा

चेतनशील परिवारमा हुर्किएकी थिइन् कुन्ता । उनका बुबा धरानमा कविराज नामले परिचित थिए । बुबा ४८ वर्षको हुँदा पहिलो सन्तानको रूपमा कुन्ता जन्मेकाले उनले बुबा आमा दुवै जनाको अत्यधिक माया पाएकी थिइन् । कुन्ता सानो हुँदा उनको बुबाले उनलाई खुब माया गर्ने गर्थे रे । उनका बुबा पेशाले चिकित्सक नभए पनि रोगीहरूको सेवा गर्ने कार्यमा सक्रिय रहन्थे । घरमा दैनिक राष्ट्रिय पत्रिकाहरू आउने गर्थ्यो ।

बुबा सामाजिक सेवामा लागि परेकाले जोगीदेखि राजनीतिक्षेत्र सम्मका मान्छेहरू घरमा सधैं आइरहन्थे । यस्तो माहोलमा हुर्किएकी थिइन् उनी । बुबा देवी उपासक भएकाले कुन्ताको हरेक बिहानी देवीको उपासनासँगै सुरु हुने गर्थ्यो।

घरमा बुबा नै कवि भएकाले उनले आफ्नो साहित्यिक यात्रा माध्यमिक कक्षा पढ्दा कविताहरू लेखेर सुरु गरिन् । शर्मा साहित्यलाई समाज र जीवनलाई परिस्कृत गर्ने माध्यमको रूपमा लिन्छिन् । उनी भन्छिन् साहित्यले आनन्द दिनुको साथै परिवर्तन गर्ने काम पनि गर्छ ।

शर्मा साहित्य यात्राका सुरुवाती दिनहरू सम्झँदै भन्छिन्, ‘पहिले–पहिले कवि गोष्ठीमा म एक्लै केटी हुन्थेँ । श्रीमान् पनि त्यो बेला साहित्य क्षेत्रमै लागेका हुनाले मैले लेखेका कति कविताहरू मेरो श्रीमानले लेखिदिएका हुन् पनि भन्थे ।

म एउटा महिला भएकै कारण मेरो क्षमतालाई अरुले विश्वास गरीदिँदैनथे । तर अहिले विस्तारै महिलाहरूको ठूलो हुत्ता यस क्षेत्रमा आइरहेका छन् । खुशी लाग्छ महिलाको सहभागिता यसरी बढेको देख्दा । पहिले हाम्रो समयमा छपाउन पनि साह्रै गाह्रो थियो तर अहिले एकदमै सहज भएको छ ।’

‘पोथी बास्नु हुँदैन’ कविताले चर्चित

उनको पहिलो कविता संग्रह ‘म उभिएको ठाउँ’ २०५३ सालमा प्रकाशित भएको थियो । त्यसपछि ‘मेरो मान्छे’ २०७५ सालमा प्रकाशित भयो जसले उनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट सम्मान दिलायो । त्यसो त उनी थुप्रै पुरस्कारहरूबाट सम्मानित भइसकेकी छिन् । लोकेन्द्र स्मृति पुरस्कार, बेथित काव्य पुरस्कार, पारिजात सृजना पुरस्कार, केवलपुरे प्रतिभा पुरस्कार, साहित्य सन्ध्या पुरस्कार, प्रेश काउन्सिल पत्रकारिता पुरस्कार, हरिहर पुरस्कार, रुपा क्षेत्र पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन आदिमा उनले पुरस्कारहरू ग्रहण गरिसकेकी छिन् । उनले लेखेका कविताहरूमध्ये २०४२ मा लेखेको ‘पोथी बास्नु हुँदैन’ भन्ने कविताले उनलाई चर्चामा ल्यायो ।

सक्रिय राजनीतिबाट सांसद निर्वाचित

उनको लागि राजनीति र साहित्य एकै सिक्काका दुई पाटा हुन् । राजनीति भनेको विचार हो र विचारबिना साहित्य नै हुँदैन । साहित्यले राजनीतिलाई फैलाउँछ । राजनीतिबिनाको साहित्य सार्थक हुँदैन । घरैमा राजनीतिक माहोल भएकोले राजनीतिबारे धेरै थोरै ज्ञान कुन्तामा पनि थियो । क्याम्पस गएपछि माहोल पनि राजनीतिमय बन्दै गयो । कुन्ता पनि आन्दोलन, जुलुस र र्‍यालीहरूमा जिन्दावाद, मुर्दावाद भन्दै हिँड्थिन् । शर्मा २०३० सालदेखि सक्रिय रूपमा राजनीतिमा होमिएकी थिइन् ।

सांस्कृतिक आन्दोलन, महिला आन्दोलन, शिक्षा आन्दोलन र मानव अधिकार आन्दोलनमा उनी निकै डटेर हिँडेकी महिला हुन् । २०२७ सालबाट माध्यमिक तहकी शिक्षिकाको रूपमा शैक्षिक सेवामा आवद्ध उनी २०५६ सालमा तत्कालीन नेकपा एमालेका तर्फबाट सांसदका लागि सुनसरी क्षेत्र १ बाट निर्वाचित भएकी थिइन् । मञ्चमा चढेर बोल्न सक्ने महिला नहुँदा गर्भवती भएकै बेला पनि स्टेजमा चढेर जनमानसमा आफ्ना तर्कहरू राखेको उनलाई अझै याद छ ।

भाषण गर्दा छोरो हरायो

पार्टीको कार्यक्रममा आफ्नो छोरो हराएको पनि उनले सम्झिन् । काठमाडौंको पिपलबोटमा जनसभा हुँदा भाषण गर्न निम्त्यिाइएकी कुन्ताले भाषण गर्दैगर्दा प्रहरीहरूले एक्कासी लाठ्ठी बर्साउन थाले । कार्यक्रममा उपस्थित मानिसहरूमा भागाभाग भयो । भाषण गर्न स्टेज चढ्नुअघि कार्यक्रम स्थल छेवैमा लसुन बेच्न बसेकी महिलालाई कुन्ताले एकछिनका लागि छोरा हेरिदिन आग्रह गरेकी थिइन् । प्रहरीले लाठ्ठी बर्साउन थालेपछि लसुन त्यहीँ छोडेर बच्चा मात्र बोकेर भागेकी ती महिलाले भागदौडको स्थिति शान्त भएपछि आफ्नो छोरा ल्याइदिएको कुन्तालाई हिजो जस्तो लाग्छ । तर ती क्षणहरू इतिहास भइसके ।

त्योबेला बलिदानको योबेला उपलब्धिको राजनीति

आफ्नो जीवनको ३९ वर्ष राजनीतिमा खर्चिएकी शर्मा अहिले भने राजनीतिमा निष्क्रिय छिन् । राजनीति त्याग्नुको कारण भनेर प्रश्न गर्दा उनले एकदमै सटिक जवाफ दिइन्, ‘जुन ठाउँमा मेरो आवश्यकता छैन, त्यो ठाउँमा उपलब्धि खोज्ने कुरा पनि भएन बरु आत्मसम्मानको साथ आफ्नो कोठामा चुपचाप लेखेर बस्नु ठीक ।’

उनी भन्छिन्, ‘हाम्रो पालाको राजनीति भनेको बलिदानको राजनीति थियो । समाज परिवर्तनको राजनीति थियो । कतिबेला कनपट्टीबाट गोली जान्छ भन्ने थाहा हुँदैनथ्यो, पुलिसको फन्दामा कुन बेला परिने हो भन्ने कुरा थाहा हुँदैनथ्यो । जुनै बेला पनि मरिन्छ भन्ने डर हुन्थ्यो । हामी देशको लागि, समाजको लागि त्यसरी राजनीति गरेर हिँडेका एउटा सच्चा राजनीतिज्ञ हौं । अहिलेको राजनीति भनेको उपलब्धिको राजनीति हो, प्राप्तिको राजनीति हो । विशेषगरी जो बलियो छ, जोसँग धेरै पैसा छ, जसको नाता लाग्ने मान्छे ठूलो ओहदामा छ उसैले गर्न सक्ने काम हो राजनीति । आजकल राजनीति गर्न न त सीप चाहिन्छ, न प्रतिभा न त ज्ञान नै । २०४६ सालअघि हामीले गरेको र अहिलेको राजनीतिमा आकाश–पातालको फरक छ ।’

प्रस्तुति – बबिता लिम्बू

Loading...