दलित एकता र आन्तरिक छुवाछुत

sd
अनिता परियार


दलित आन्दोलनको कुरा गर्दा दुईटा पाटोबाट हेनुपर्छ । एउटा समग्र राज्यको चरित्रको व्याख्या विश्लेषण गर्ने कार्यदिशा र अर्काे हामी दलितहरूले आन्तरिक रूपमा सुधार गर्दै लिएर जानुपर्ने कार्यदिशा ।

यदि वास्तवमा दलित आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने हाम्रो इच्छा–चाहना हो भने र साँच्चै हामी समुदायलाई सम्मानित बनाउन चाहन्छौँ भने बाह्यसँगै आन्तरिक कार्यदिशा पनि हामीले निर्माण गरेर जानुपर्छ ।

दलित आन्दोलनलाई शसक्त र सार्थक बनाउन बाह्य र आन्तरिक दुई कार्यदिशालाई एकदमै ध्यान दिन जरुरी छ । मैले भन्न खोजेको बाहीरी कार्यदिशाअन्तर्गत राजनैतिक पार्टीहरूको हामीप्रतिको भूमिका र पार्टीहरूमा हाम्रो उपस्थिति कस्तो हुने भन्ने हो ।

साथै निर्माण भएका कानूनहरूलाई कसरी व्यवहारमा कार्यान्वयन गराउने र थप कानूनहरू कसरी निर्माण गराउने भन्ने पनि हो । संविधानमा भएका अधिकारहरूलाई कसरी अगाडि लिएर जाने र सरकारी संयन्त्रमा हामी कसरी उपस्थित हुने ,सामजिक न्यायको क्षेत्रमा हामीले हाम्रो अधिकारलाई कसरी लाने भन्नेकुरा बाहिरी कार्यदिशाका मुख्य कुरा हुन् ।

यसैले हामीले बाहिरी कार्यदिशा निर्माण गरेर मुख्य चार–पाँच कुरामा फोकस गर्न सक्यौँ भने हामी राजनीतिक रूपमा आफ्नो उपस्थिती जनाउन सक्छौं। आन्तरिक कार्यदिशाबारे मैले के भनिराखेको छु भने हामी बीचमा के–के कमजोरीहरू छन् त ? हामीलाई गैरदलितहरूले किन तिमीहरू भित्रनै छुवाछुत छ, हामीलाई किन गाली गर्छौ पहिले आफूभित्रको छुवाछुत अन्त गरन भनेर आरोप लगाउने गरेका हुन् ?

यो हामीमाथिको एकदमै घिनलाग्दो आरोप हो । जुन आरोप हामीहरूभित्र अझै कायम रहेको आन्तरिक छुवाछुतको व्यहारले गर्दा भएको हो । तर अझै हामीले खुलेर बुझेर भन्न सकिरहेका छैनौँ, के हामी दलितहरूभित्र आन्तरिक छुवाछुत भएकैले मुलुकी ऐन बनेको हो ? मनुस्मृतिमा छुवाछुत भएकै कारणले गर्दा यी दलितहरू भनेका यस्ता हुन् भनेर व्याख्या विश्लेषण गर्‍या हो ? त्यसोभए उपाध्याय बाहुन, जैसी बाहुन र बाहुन र क्षेत्रीबीचमा पनि बिहे हुँदैन त ?

उनीहरूको पानीचाहिँ किन बार्न नपर्‍या होला ? उनीहरूले धारा छोयो भने हामीले धारा छुँदा जुठो भएजस्तो किन नभएको होला ? हामीलाई जस्तो होटलमा खाना खाएपछि गिलास माझ्न पर्ने बाध्यता किन नपरेको होला ? तिनीहरूबीच पनि त आन्तरिक छुवाछुत छ । तर उनीहरूलाई खै अछुत भनेको । खै तिमी क्षेत्री–बाहुनहरूको छुवाछुत अन्त्य गरेर भनेको ।

खाली हामीलाई मात्रै ‘तिमीहरू दमाई, कामी, सार्कीहरूबीचको छुवाछुत मिलाएर आओन अनि हामी बात गर्छौं’ भनेर भन्ने गरेको । हाम्रो आन्तरिक छुवाछुतलाई लिएर छुवाछुतलाई ढाकछोप गर्नुभनेको एकदम घृणित कार्य हो । किनभने छुवाछुत दलितहरूले लादेका हैनन् । मनुस्मृति ग्रन्थलाई आधार बनाएर देशका शासकहरूले कानून बनाएर हामी श्रमजिवी दलितहरूमाथि छुवाछुत लादेका हुन् । एउटै देशमा बस्ने नागरिक भएपनि हामीलाई तल्लो जातको भनेर भात–पानी बार्ने कानून लागू गराएका हुन् ।

सानो जात बनाएर कथित उपल्ला जातिलाई भन्दा धेरै दण्ड सजाय तोकेका हुन् । एउदै देश एउटै समाजमा बसेपछि राज्यको नियम नमान्दा दण्डित गरेर छुवाछुत मान्न बाध्य पारेर अभ्यस्त बनाएका हुन् । मनोबल गिराएका हुन् । सामाजिक, धार्मिक, राजनैतिक र साँस्कृतिक सबैखाले अधिकारबाट बञ्चित गरेका हुन् ।

के राज्यले मुलुकी ऐन बनाएर छुवाछुत लागू नगरेको भए दलितहरूले आन्तरिक रूपमा छुवाछुतको व्यवहार गर्थे होलान त ? आन्तरिक छुवाछुतलाई कारण बताउनु भनेको छुवाछुतको अपराध गर्दै आएका कथित शासक जातिहरूले आफूले दलितहरूमाथि गरेको अत्याचारको पापाबाट उन्मुक्ति पाउने उपाय खोेजेको मात्र हो ।

तर ख्याल गर्नुपर्ने कुराचाहिँ के भने एकापट्टी हामीमाथि लगाइँदै आएको आन्तरिक छुवाछुतको अन्त्य भए मात्र समग्र छुवाछुत अन्त्य हुन्छ भन्नु जसरी घृणित तर्क हो । त्यसैगरी अर्कापट्टी बेठिक ढंगले प्रचार भएपनि हामीभित्रको एउटा यथार्थचाहिँ अवश्य हो ।

हामीलाई कथित उपल्ला जातीले तिमीहरूले यसो गर्छाै भन्नुचाहिँ गलत तर्क हो तर हामीभित्रमा भएको विभेदलाई मौलाउन दिने हामीहरू पनि गलत हौ । किनभने हामी फसेका छौँ जालमा । र वर्षौंदेखि उनीहरूले गरेको छुवाछुतको सिको गरेर आफ्नो पीडित समुदायभित्रै हामी आन्तरिक छुवाछुतमा रुमल्लिइरहेका छौँ । यसैले आन्तरिक छुवाछुतबाट बाहिर निस्केर हामीले आन्तरिक एकता बलियो बनाउनुपर्छ ।

यसैले आन्तरिक कार्यदिशाभित्रको हाम्रो भावनात्मक एकता पहिलो कडी बन्नुपर्छ । हामीबीचमा यति मात्र छैन साथीहरू म परियार हो नी अब म यहाँ यसो हेर्छु तपाईं जति नै राम्रो भएपनि तपाईं विश्वकर्मा, तपाईंलाई अगाडि बढाउन म चाहन्न । तर मेरै थर र गोत्रको रहेछ भनेचाहिँ तगडा रैछ है भन्ने पर्छ र म सहयोग गर्न तैयार हुन्छु । त्यो मभित्रको खराब चिन्तन हो कि होइन ? यदि हामी सबै दलित हौँ भने मैले त सबैलाई पो माया गर्नुपर्छ हो कि होइन ?

चाहे विश्वकर्मा हुन् । चाहे मिजार हुन् । चाहे ऋषिदेव हुन् । चाहे मधेशी समुदायका विभिन्न दलितहरू हुन् । सबै एउटै डालोमा छौँ है हामी । हामी एउटै राज्यसत्ताको विभेदका शिकार मा परेका पीडित समुदाय हौँ । त्यसकारण सबैको क्षमता अनुसार, सबैको व्यक्तित्व अनुसार, सबै समुदायको प्रतिनिधिअनुसार उहाँहरूलाई अघि बढाउन पर्छ भनेर पो हेर्नुपर्छ त । तर त्यसरी नहेर्ने गल्ती पनि हामीले गरिरहेको छौँ नि त ।

मैले यसो भनिरहँदा सबैलाई यो परियारले ठीकै भनी है भन्ने लाग्यो होला । किनकी तपाईंले पनि त्यो भोगिरहनु भएको छ । तपाईंलाई पनि कसैकसैले छुवाछुतको व्यवहार गरिराखेको छ होला । तपाईंको मनमा दलित त हो तर यो मधेशी ऋषिदेव हो यो मुसहर, यो चमार यो डोम हो पहाडे त हैन रैछ नी भन्ने भाव पनि उब्जन्छ होला ।

पहाडे र मधेशीको फिलिग्ङस पनि त हामीमा छ नि । यो खालको जो हाम्रो आन्तरिक चरित्रहरू छन् यसलाई हामीले अब एकदम युद्धस्तरमा अन्त गराउनुपर्छ । एकदम ढिला भइसक्यो । युद्धस्तरमा हामीले हाम्रा खबर चरित्रहरू सुधार गर्दै, रुपान्तरण गर्दै जानुपर्छ ।

अर्काे कुरा हाम्रो समुदायलाई अध्ययनको क्षेत्रमा लिएर जानुपर्छ । अहिले यस्तो समस्या छ की हाम्राले अहिले कतिपयले एसईई, आईए, बीए, एमए पढेका पनि छन् । उहाँहरू मलाई फोन गरेर भन्नुहुन्छ– अनिता दिदी तपाईं त सभासद मलाई फलानो उसमा जब लाइदिनू न ।’

मलाई मात्र हैन होला लुन तपाईंले गरिदिनुपर्‍यो, तपाईं त वडाअध्यक्ष, तपाईं यस्तो तपाईं उस्तो, तपाईं पत्रकार जब लाइदिनुपर्‍यो भनेर पनि तपाईंहरूलाई पनि भन्नुहुन्छ होला । हो हामी सबैलाई माया लाग्छ । आफ्नाहरूलाई जागिर लाइदिन पाए हुन्थ्यो । तर के हामीले लाइदिएको जागिर दीर्घकालीन हुन्छ त ? हजुर यो कुरा त बुझ्न पर्‍यो नी ।

हामीले ज्यालदारी र करारमा लाउनसक्छौँ होला । अलिकति पार्टीको पहुँचले काम गर्छ होला । वा पार्टी सत्तामा भएको कारणले जागिर लगाउन सकिन्छ होला । पाँच वर्षपछि त उसलाई फाल्दिन्छ त फेरि । तपाईंले एसएलसी गर्नुभाछ, आईए–बीए गर्नुभाछ भने लोकसेवा खुलिरहेको छ, तपाईंले पनि आँट गर्नुपर्छ । लोकसेवा लड्नलाई अहिले त सजिलो छ ।

कमसेकम आफ्नो समुदायभित्र प्रतिस्पर्धा गर्न पाउनुहुन्छ । तर हामीमा त्यो चेतना नै छैन । सरकारी जागिरमा लोकसेवा प्रतिस्पर्धा गरेर गए दीगो हुन्छ भन्ने कुराको । अझै हामी यो चेतना फैलाउनेतिरभन्दा ज्यू हजुरगर्नमै रमाइरहेका छौँ ।

आज सिंहदरवार अथित उपल्लाजातिहरूकै हातमा छ । प्रहरी प्रशाशन तिनैको हातमा छ । त्यहाँ जाँदा नेपाल जस्तो लाग्दैन । म संविधानसभा सदस्य भएर गएँ । तर सिंहदरवार पस्दा त्यो संसद सचिवालयभित्र जाँदा म, म यहाँको हु यो मेरो भन्ने भावै हुँदैनथ्यो मनमा ।

जब उनीहरूले पछाडिको थर सोध्थे, जब म दलितको बारेमा बोलेर यो बँुदा लेख्न भन्थे कता कता त्यो तोडमोड गरेर लेख्दिन्थ्यो क्या । अदालतमा फाटवालाले त्यसो गर्नेरैछ । एउटा केश अहिले भर्खरै मैले पढ्नेक्रममा स्टडी गरे । गरिबले किन मुद्धा हार्छ त भन्दाखेरि फाटवालासहित मिल्दा रैछन् । अनि भन्नेले एउटा भन्यो लेख्नेले अर्काे लेख्दिँदो रैछ ।

अनि वाचन गर्न पढ्न ऊ जान्दैन । अनि वाचन गरेर सुनाउँदा आफूले लेखेको वाचन नगर्‍यो उसले भनेकै दिमागमा राखेर वाचन गर्‍यो । मैले भनेको ठीक छ भनेर सही गराईदियो । अब उच्च अदालतमा जाँदा पनि त्यहीँ कागज जान्छ सर्वोच्चमा जाँदा पनि त्यहीँ कागज जान्छ । फेरि पीडितलाई वकपत्र त गराइँदैन । तिनै ठाँउमा हार्ने समस्या यहीँ हो ।

मैले कानून पढ्न थालेपछि थाहा पाएँ यस्तो अवस्था समाजमा अझै कायमै रहेछ । यसैले अझै हामीलाई पछाडि पार्नका निम्ति थुप्रै षडयन्त्रका तानावानाहरू बुनिन्छन्, बुनिनेछन् । त्यसकारण हाम्रो समुदायहरूलाई अगाडि बढाउनका निम्ति हामीले पनि आन्तरिक छुवाछुत बारे एकदम भित्रैदेखि ध्यान दिन अजरुरी छ ।

भित्रैदेखि ध्यान दियो भने मात्र प्रभाव जमाउन सकिन्छ । र, बाध्यताले गर्दै आएको आन्तरिक छुवाछुतको व्यहार पूर्ण रूपमा अन्त्य भएर हामीभित्रको आन्तरिक एकता बलियो हुन्छ । जसले आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको जुम्रा भन्दै उल्टै हामीमाथि नै आरोप लगाएर पानीमाथिको ओभानो बनिरहेका छुवाछुतका कट्टर पक्षधरहरूलाई गतिलो जवाफ बन्नेछ, ‘छुवाछुत दतिलहरूले गरेका हैनन् र राज्य संयन्त्रले बाध्य पारेर गराएको हो । यसको अन्त्य विनागरिबी निवारण सम्भव छैन ।’

(संविधानसभा सदस्य अनिता परयारले विराटनगरमा दलित अधिकारबारे आयोजित एक कार्यक्रममा व्यक्त गरेको विचारमा आधारित )

Loading...