पाथीभरा माताले प्रयोग गरेका बालबालिका परिवारमा पुनर्स्थापना गराउन निर्देशन

विराटनगर, २३ फागुन । विराटनगर महानगरपालिका–१ कुशलटोलस्थित काल्पनिक माता पाथीभरा पीठमा मापदण्डविपरीत प्रयोग गरिएका चेपाङ बालबालिकाहरू समाजमा पुनर्स्थापना गराउन बाल अधिकार परिषद्ले निर्देशन दिएको छ ।

अनुगमनका क्रममा आठ वर्षदेखि गैरकानूनी रूपमा मापदण्डविपरीत बालबालिकाहरू प्रयोग गर्दै आएको पाइएपछि बाल अधिकार परिषद्का अधिकारीहरूले सबै बालबालिकाहरूलाई एक महिनाभित्र परिवारमा पुनर्स्थापना गराउन निर्देशन दिएका हुन् ।

काल्पिनिक पाथीभरा माता (२५ वर्षीया) र उनको परिवारले ९ जना चेपाङ समुदायका सहित ११ जना बालबालिकाहरू गैरकानूनी रूपले प्रयोग गरिँदै आएको बाल अधिकार परिषद्मा उजुरी पुगेको थियो ।

त्यसपछि परिषदबाट आएका अनुसन्धान अधिकृतहरू लोचन रेग्मी र देवीप्रसाद डोटेलसहित सिविन नेपाल विराटनगरका अधिकृत बासु पौडेल, मानव अधिकारकर्मी कोषराज न्यौपानेसहितको टोलीले २१ र २२ फागुनमा पीठमा पुगेर बालबालिकाहरूको अवस्था र कानूनी प्रक्रिया अनुगमन गरेको थियो ।

उक्त शक्ति पीठमा आमाबाबु भएका चितवन राप्ती नगरपालिका–१२ लोथारका १६ वर्षीया सीमा पाथीभरा प्रजा, १७ वर्षीय सन्देश पाथिभरा प्रजा, १७ वर्षीय सन्तोष पाथिभरा प्रजा, १६ वर्षीय अशोक पाथीभरा प्रजा, १४ वर्षीय राजकुमार पाथीभरा प्रजा, १४ वर्षीय सुरगन पाथीभरा र ११ वर्षीय कमल पाथिभरा प्रजा बस्दै आएका थिए ।

यसैगरी केही वर्षदेखि आमाबाबु थाहा नभएका भोजपुरका ५ वर्षीय कृष्ण पाथिभरा प्रजा र ७ वर्षीया लक्ष्मी पाथिभरा प्रजालाई पनि ल्याएर राखिएको छ । मोरङ बुढीगंगा गाउँपालिका टंकिसिनवारीका १६ वर्षीय ओम कोइराला र शान्तिचौक विराटनगरका कुश कोइरालालाई पनि पुजारीका रूपमा प्रयोग गरिँदै आइएको छ ।

अनुगनपछि २२ फागुनमा पीठको कार्यसमितिहरूसँग स्पष्टिकरण लिएर बाल अधिकार परिषद्का अनुसन्धान अधिकृतहरूले एक महिनाभित्र सबै बालबालिकाहरूलाई पुनस्र्थापना नगराएमा कानूनबमोजिम कारवाही गर्ने चेतावनीसहितको निर्देशन दिएको छ ।

अनुसन्धान अधिकृत लोचन रेग्मीका अनुसार आमाबाबु भएकालाई परिवारमा र ठेगान नलागेमा प्रशासनको निर्देशनमा बालगृहमा एक महिनाभित्र पठाइसक्नुपर्ने छ । बालबालिकाहरू विद्यालयमा पढ्दै गरेको र उनीहरूको परीक्षा चैत महिनाभित्रै हुने भएकोले एक महिनाको समयभित्र परिवारमा पुनस्र्थापना गराइसक्ने निर्देशन गरेको बाल परिषद्का अर्का अधिकृत देवीप्रसाद डोटेलले जानकारी दिए ।

अनुगमन टोलीका अनुसार गरिब समुदायका ती बालबालिकाहरूलाई जिवित देवी मातापाथीभराको चाहनाअनुसार उहाँकै संरक्षणमा सम्पूर्ण शिक्षादिक्षा दिने आश्वासन दिएर पीठमा ल्याएर राखिएको थियो ।

उनीहरूले जिवित माता पाथीभरा पीठ र उनका आमाबुबाको आँगनमा बनाइएको आश्रममा साँझ–बिहान मन्दिर आश्रम परिसर भाँडाकुँडा सफा गर्ने, साँझ बिहान आरती गर्ने, भजन गाउनेदेखि अन्य अह्राइ–पराई आएका कामहरूमा संलग्न हुने गरेका छन् । स्थानीय संगीत शिक्षालयमा शास्त्रीय संगीत सिकिरहेकी र नारायण गोपालको गीत गाउन मन पराउने माता पाथीभराले उनीहरूलाई आफ्नै घरमा खोलेको सगीत कक्षमा राखेर सितार, तवला, बाँसुरी क्लासिकल गितार, हर्मोनियम बजाउन लगाउने गरेकी थिइन ।

पीठमा राखिएका सबै बालबालिकाहरूको नाम र थरको बीचमा पाथीभरा जोडेर विद्यालयमा नाम लेखाइएको छ । यसैले उनीहरू सबैले आफ्नो नामको पछाडि र थरको अगाडि पाभीभरा भनेर बताउने गरेका छन् ।

यस्तो थियो पाथीभरा माताले राखेको बालबालिका र गृहको अवस्था

अनुगमनका क्रममा संस्थाको बालसंरक्षणसम्बन्धी स्पष्ट लिखित नीति, योजना, कार्यक्रम र आचारसहिता केही पनि नभएको थाहा भएको थियो । आठ वर्षदेखि बालबालिकाहरू राखिँदै आएपछि कानूनअनुसार अनुमति लिइएको थिइएन । साथै गृहमा बालबालिकाको गुनासो उजुरी सुनुवाई संयन्त्र र कार्यान्वयनको सुनिश्चितता नभएको, बालबालिकाले खाना पकाउने भाँडा माझ्ने, लुगा धुनेलगायतका सबै काम आआफैँ गर्नुपर्ने अवस्था रहेको थियो । अभिभावकत्व र सुरक्षाका हिसाबले बालबालिका सुरक्षित नरहेको र हालसम्म उक्त गृहबाट पारीवारिक पुनर्मिलन भएका बालबालिकाको अभिलेखिकरण राखिएको थिएन ।

बालबालिकाहरुलाई धार्मिक गुरुको रूपमा प्रयोग गरेको मन्दिरमा कर्मचारी नराखेको र बालबालिकाले नै मन्दिरको दैनिक सरसफाइ तथा पूजा आरती र भजनकीर्तनको काम गर्नुपरेको पाइएको थियो । बालबालिकाको अनुपातमा सुत्ने ओच्छ्यानको व्यवस्था कम भएको, सरसफाइको अवस्था कमजोर र व्यवस्थापन सन्तोषजनक नभएको, रेखदेख गर्ने कर्मचारी नरहेको, किचनसँगैको कोठामा बालकहरू राखिएको र डाइनिङका लागि साँघुरोफोहोर र दुर्गन्धित कोठा प्रयोग गरिएको थियो ।

डाइनिङ टेबल नरहेको, घाम प्रकाशको उपलब्धता नरहेकोको कोठामा लामखुट्टे, भुसुना रहेको, बालबालिकालाई संक्रमण हुन सक्ने र चिसो तथा ओसिलो कोठामा बालबालिका राखिएको थियो । बालक, बालिका र मन्दिरमा आउने भक्तजनले प्रयोग गर्ने शौचालय एउटै भएको, अध्ययन÷मनोरञ्जन कक्ष, प्राथमिक उपचार सेवा र कक्ष नभएकोे, खेलमैदान नभएको, मन्दिर परिसरभित्रै बालगृह अव्यवस्थित रहेको पाइएको थियो ।

संस्थाको बालसंरक्षणसम्बन्धी स्पष्ट लिखित नीति, योजना, कार्यक्रम र आचारसंहिता केही पनि नभएको, बालबालिकाको गुनासो उजुरी सुनुवाई संयन्त्र र कार्यान्वयनको सुनिश्चितता नभएको, बालबालिकाले खाना पकाउने भाँडा माझ्ने, लुगा धुनेलगायतका सबै काम आआफैँ गर्नुपर्ने अवस्था रहेको, अभिभावकत्व र सुरक्षाका हिसाबले बालबालिका सुरक्षित नरहेको, हालसम्म उक्त गृहबाट पारीवारिक पुनर्मिलन भएका बालबालिकाको अभिलेखिकरण नदेखिएको, माता पाथिभरा शक्ति पीठ धार्मिक आस्थासँग जोडिएको कारण बाहिरी आगन्तुकहरूको सहज रूपमा आवतजावत भइरहने हुँदा बालबालिकाको गोपनीयता, मर्यादा, व्यक्तिगत संरक्षण र सुरक्षामा चुनौती देखिन्छ ।

बालबालिका धार्मिक गुरुको रूपमा समेत प्रयोग गरेको पाइयो । आश्रम परिसरभित्र बिरामी भएका व्यक्तिहरू आउने भएकोले बालबालिकालाई समेत संक्रमणको जोखिम देखिन्छ । मन्दिरमा कर्मचारी नभएको कारण बालबालिकाले मन्दिरको दैनिक सरसफाइ तथा पूजाको लागि आवश्यक प्रवन्ध गर्नुपरेको कारण उनीहरूको पढाइ तथा व्यक्तित्व विकासमा समस्या देखिएको पाइएको थियो ।

संविधान र कानूनमा बाल अधिकारसम्बन्धी व्यवस्था

नेपालको संविधानको धारा ३९ को उपधारा (२) मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने व्यवस्था उल्लेख छ । साथै बालबालिकासम्बन्धी ऐन, २०७५, को दफा ६ को उपदफा (१) मा कुनै पनि बालबालिकालाई निजको इच्छाविपरीत बाबु वा आमाबाट भिन्न वा अलग गर्नु हुँदैन भन्ने उल्लेख गरिएको छ ।

त्यसैगरी दफा ७ को उपदफा (१) मा प्रत्येक बालबालिकालाई आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुनेछ भनि तोकिएको छ भने दफा ५४ को उपदफा (१) मा बालगृहमा रहेका बालबालिकाको बाबुआमा वा अभिभावक पत्ता लागेमा र बालबालिकाको उच्चत्तम हित हुने भएमा तोकिएबमोजिम पारिवारिक पुनर्मिलन गराउनु पर्नेछभन्ने संवैधानिक तथा कानूनी व्यवस्था छ ।

यसैगरी बालबालिकालाई परिवारमै राखेर पारिवारिक स्याहार गर्नुपर्ने पक्षलाई पहिलो प्राथमिकतामा र बालगृहलगायत संस्थागत संरक्षणलाई अन्तिम विकल्पको रूपमा लिनुपर्ने व्यवस्था प्रचलित ऐन, कानूनले तथा मापदण्डले गरेको छ । बालगृहमा विशेष हेरचाह र संरक्षणको आवश्यकता भएका बालबालिकालाई मात्रै सम्बन्धित निकायको सिफारिसमा भर्ना गरी राख्नुपर्ने तथा राखिसकेपछि प्रचलित मापदण्डबमोजिमका व्यवस्था पूरा गर्नुपर्ने दायित्वसमेत बालबालिका सम्बन्धी ऐन, २०७५ लगायत नीति तथा मापदण्डमा उल्लेख गरिएको छ ।

यसरी जन्मिइन् काल्पिनक माता पाथीभरा

रिटायर्ड कर्मचारी बुबा केशव पौडेल र आमा यशोदाकी जेठी छोरी १३ वर्षीया आरती पौडेललाई कक्षा ५ मा पढ्दै गरेको बेला २०६३ सालमा माता उत्रिएको र उनले भनेको पनि पुग्ने भन्दै जिवित पाथीभरा माताको सक्षात रूप भन्दै प्रचार गरियो ।

विस्तारै विराटनगर–१ कुशलटोलमा निजी निवासको आँगनमै पाथीभरा माताको मन्दिर बनाएर आरती र पूजापाठ गर्न थालियो । माता पाथीभरा शक्ति पीठ भनेर मोरङ प्रशासनमा धार्मिक मठ दर्ता गराइयो । त्यसपछि सहयोग जुटाउनका लागि भनेर बाचक दिनबन्धु पोखरेललाई बोलाएर पुराण लगाइयो ।

पुराणमा मन्त्री बिजयकुमार गच्छदारदेखि कालिबाबाहरूसमेत सामेल भएका थिए । विस्तारै आँगनमा दुई तले चार कोठे घर बनाएर चेपाङ बालबालिकाहरूलाई समेत ल्याएर राख्न थालियो । २५ वर्षीया काल्पिनक पाथीभरा माताको सेवामा ९ जना चेपाङ र अन्य दुई जना बालबालिकाहरू खटिँदै आएका छन् ।

Loading...