कोरोनाको असर कला क्षेत्रमा : रद्द हुन थाले कार्यक्रम

माधव काफ्ले

विराटनगर, २३ फागुन । चीनबाट फैलन सुरु भएको प्राणघातक कोरोना भाइरस कोभिड १९) ले कला क्षेत्रमा पनि प्रभावित तुल्याएको छ ।

कोरोना भाइरसका कारण तीनै तहका सरकारहरूले सभा–सम्मेलन र कार्यक्रम नगर्न निर्देशन दिएपछि कलाकारले गर्ने स्टेज कार्यक्रमहरू आयोजकले धमाधम रद्द गर्न थालेका छन् । यसबाट कलाकारहरूलाई ठूलो असर परेको छ ।

नजिकिँदै गरेको फागु पूर्णिमा (होली) विशेष कार्यक्रम गर्नुपर्ने बेलामा कोरोना भाइरको सन्त्रास फैलिएको हुँदा तय भएका कार्यक्रमहरू आयोजकले रद्द गर्न थालेका हुन् । यसबाट कलाकारलाई ठूलो असर परेको छ ।

यसपालि पहाडमा होली २६ फागुनमा पर्छ भने त्यसको भोलिपल्ट तराईबासीले मनाउँछन् । तर, अगाडिदेखि नै कलाकारहरूले होली विशेष कार्यक्रमलाई तालिका बनाएका हुन्छन् । अझ, होलीका दिनमा कलाकारहरूलाई कार्यक्रमको थुप्रो नै लाग्छ ।

कलाकारहरू होलीमा धेरैभन्दा धेरै कार्यक्रम गर्ने दाउमा हुन्छन्, धेरै दर्शक–स्रोतामाझ पुग्न चाहन्छन् । आफूलाई सुनाउन चाहन्छन्, आफ्ना कला तथा गायन दर्शकमाझ प्रस्तुत गर्न चाहन्छन् ।

होलीमा उनीहरू साथीभाइसँग भेट्नेभन्दा पनि आफ्ना व्यक्तिगत इच्छालाई मार्दै स्रोता तथा दर्शकलाई मनोरञ्जन दिन अहोरात्र खटिन्छन् । तर, सिजनकै बेला आएको कोरोना भाइरसले उनीहरूलाई असर पुर्‍याएको छ ।

स्थानीय तह र प्रदेश सरकारले कोरोनाबाट सतर्क रहनका लागि भीडभाडमा नजान, सभा समारोह आयोजना नगर्न निर्देशन दिएपछि आयोजकले योजना बनाएको कार्यक्रम रद्द गर्न थालेका छन् ।

गायक तुलसी पराजुली

‘होलीसम्ममा लगगभ तीन वटा कार्यक्रमका लागि सेड्यूल मिलाएको थिएँ,’ लोक गायक तुलसी पराजुलीले भने, ‘तर, आयोजकले कोरोना भाइरसको त्रासका कारण तीन वटै कार्यक्रम क्यान्सेल गरिदिए । सिजन चलिरहेको बेलामा कोरोनाको चपेटामा कला क्षेत्र परेको छ । तथापि, यस्तो महामारीमा सतर्कता अपनाउन पनि जरुरी पनि छ ।’

हाल काठमाडौंमा रहेका गायक पराजुलीले अब कम भीडभाड रहने स्थानमा केही कार्यक्रम रहेको बताए । ‘आफूले पनि यसबाट बच्न सतर्कता अपनाइरहेका हुनाले मानिसको भीड कम हुने स्थानमा हुन लागेका केही कार्यक्रममा जानेछु,’ उनले भने ।

यसैगरी अर्का गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदारी’ पनि कोरोना भाइरसले कला क्षेत्रमा असर गरेको बताउँछन् । समय तालिका मिलाएर राखेको कार्यक्रम रद्द हुँदा कलाकारहरूमाथि कोरोनाको असर परेको उनको भनाइ छ ।

‘नगरपालिका र प्रहरी प्रशासनले सभा–समारोह गर्न रोक लगाएको छ, यसैले तय भएका कार्यक्रम पनि आयोजकले रद्द गरे’, उनले भने, ‘यही बेला हो । अलि धेरै कार्यक्रम हात पर्ने । तर, होलीकै बेलामा कोरोनाले त्रास बढाइदिँदा कलाकार मारमा परेका छन् ।’

aa
गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री)

आयोजकले नगरपालिकासम्म कार्यक्रमको विषयमा निवेदन पेश गरेको र असफल भएको श्रीकृष्णको भनाइ छ । ‘आयोजकहरू कार्यक्रमका लागि नगरपालिका र प्रहरी प्रशासन गएको सुनाउँछन् । तर, हामीले कोरोनाविरुद्ध सतर्कता अपनाउनु जरुरी पनि छ । ज्यानको सवाल छ ।’

नेपालमा मात्र नभएर कोरोनाको सन्त्रास विश्मा नै छ । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका गायक रामकृष्ण ढकाल पनि कोरोनाको प्रकोपका कारण ठूला कार्यक्रमहरू आयोजना नभएको सुनाउँछन् ।

afga
रामकृष्ण ढकाल

ठूला कार्यक्रमका लागि अष्ट्रेलिया गएको भए पनि कोरोनाको त्रासका कारण त्यहाँ रहेका नेपालीहरूसँग स–साना कार्यक्रम गर्नुपरेको उनको भनाइ छ । ‘ठूला कार्यक्रम हुन पाएको छैन । यहाँका नेपाली स्रोतासँग स–साना कार्यक्रम गरिरहेको छु’, उनले भने, ‘सेड्यूल भएका कार्यक्रमहरू रद्द भएको छ ।’

यता, कार्यक्रमकै लागि पोखरा पुगेका हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ भने आफ्नो कार्यक्रम रद्द नभएको बताउँछन् । सभा–सम्मेलन नगर्न र भीडभाडमा नजान प्रशासनले निर्देशन दिए पनि आफू साना खालका कार्यक्रमका लागि पोखरा आएको उनले बताए ।

tgg
हाँस्य कलाकार अर्जुन घिमिरे (पाँडे)

कोरोनाबाट सतर्कता अपनाउन जरुरी रहेको अर्जुनको भनाइ छ । उनले आफ्ना फेसबुकका पोस्टहरूमा पनि कोरोनबाट सतर्कता अपनाउने र सुरक्षित रहनेबारे जानकारीहरू दिइरहेका छन् ।

यसैगरी हाल सांगीतिक कार्यक्रममा न्यूयोर्कमा रहेका गायक हिमाल सागर पनि कोरोनाको असर खासै नपरेको बताउँछन् । ‘यता कोरोनाको असर सांगीतिक कार्यक्रममा खासै देखिएको छैन । ठीकै चल्दैछ,’ उनले भने ।

गायक हिमाल सागर

फिल्म हलमा भने कोरोनाको असर धेरै नै परेको छ । हलहरूले यसबाट बच्नका लागि सतर्कता अपनाउन थालेका छन् । हलहरूले दर्शकको हात पर्ने स्थानमा स्यानिटाइजर प्रयोग गर्न थालिसकेका छन् ।

तर, मानिसको धेरै भीड हुने ठाउँ भएका कारण पनि फिल्म हल तत्काल बन्द गर्नुपर्ने चर्चा चलिआएको छ ।

Loading...