कोरोनाको त्रास : धमाधम रोकिँदै खेलकुद, त्रिविलाई परीक्षा सार्न दबाब

विराटनगर, २३ फागुन । कोरोना भाइरसको संक्रमण हुने भयको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम अनिश्चितकालको लागि स्थगित हुन थालेको छ । प्रतियोगिता रोक्न राष्ट्रिय खेलकुद परिषदले निर्देशन दिएको हो । एभरेस्ट प्रिमियर लिग स्थगित भएको छ । फिफा विश्वकप छनोट खेलपनि सर्ने भएको समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।
१३ र १८ चैत्रको लागि तय भएको फिफा विश्वकप छनोट खेल सर्ने भएको हो । कोरोनाको जोखिमको कारण अस्ट्रेलिया नेपाल आउन नसक्ने जनाएको छ । उसले खेल सार्न एएफसीलाई निवेदन दिएको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालयले तय गरेको विभिन्न तहका परीक्षा सार्न विद्यार्थीहरुले दबाब दिएका छन् । सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैत्र भित्र सक्न निर्देशन दिएपछि त्रिविलाई पनि दबाब बढेको छ । स्नातकोत्तर तह पहिलो वर्षको परीक्षा ७ चैत्रदेखि, एक वर्षे बिएडको परीक्षा ९ चैत्रबाट सुरु हुने तालिका रहेको छ । १४ चैत्रबाट एलएलबी दोश्रो वर्षको परीक्षा सुरु हुने तय भएको छ । यो समाचार पनि अन्नपूर्ण पोष्टमा छ ।

Loading...