दयाहाङको ‘नीरफूल’ फेरि एक साता पछि सर्‍यो

विराटनगर, २० फागुन । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘नीरफूल’ फेरि एक साता पछि सरेको छ । ३० फाल्गुन रिलिज मिति तोकिएको फिल्म एक हप्ता सरेर ७ चैत्रमा प्रदर्शन हुने भएको छ ।

२३ फाल्गुन रिलिज मिति तोकिएको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ हिन्दी फिल्म ‘बाघी ३’का कारण ३० फागुनमा सरेपछि ‘नीरफूल’ पनि एक साता पछि सरेको हो । फिल्म २०७२ को महाभूकम्पमा विछोडिएको परिवारले पुनर्मिलनको लागि गर्ने संघर्ष गर्ने कथामा आधारित रहेको छ ।

संचारकर्मी फूलमान वलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा दयाका साथ बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको छ ।

सचिन घिमिरे र निर्देशक वलले संयूक्तरुपमा लेखेको पटकथामा प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । आफ्नो मात्र होइन सबैको राम्रोका लागि आफूले फिल्मको प्रदर्शन मिति सारेको निर्देशक वलले बताए ।

फिल्मको ट्रेलर मंगलबार सार्वजनिक हुने भएको छ ।

Loading...