पत्रपत्रिकामा प्रदेश : पूविको केन्द्रीय कार्यालय सारे आन्दोनल गर्ने चेतावनी

विराटनगर, १७ फागुन । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट सारे चरणबद्ध आन्दोलन गर्ने चेतावनी संघीय समाजवादी पार्टीले दिएको छ ।

समाजवादीको महानगरकमिटीले प्रतिनिधिसभाको बिहीबारको बैठकले पारित गरेको सुन्दरहरैंचामा पूविको केन्द्रीय कार्यालय सार्ने प्रस्तावको विरुद्धमा आन्दोलन गर्ने भएको हो ।

विराटनगर शैक्षिक हवको रुपमा विकास भइरहेको बेला विश्वविद्यालयको केन्द्रीय कार्यालय सार्ने निर्णय तत्काल खारेज नभए चरणबद्ध आन्दोलन गर्ने शुक्रबार जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

समाजवादीका विराटनगर कमिटीका कार्यवाहक अध्यक्ष मोहम्मद नसरुलले विराटनगरको गहनाका रुपमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय हटाउने प्रयत्न गरे जुनसुकै बलिदानी दिने बताए ।

कान्तिपुरमा अख्तियारमा १७ सय उजुरी शीर्षकमा खबर छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अधिकांश उजुरी तराईका जिल्लाबाट पर्ने गरेका छन् ।

आयोगको इटहरीमा रहेको क्षेत्रीय कार्यालयका अनुसार चालु आर्थिक वर्षमा १ हजार ७ सय ८६ उजुरी परेका छन् । जसमा सबैभन्दा बढी सुनसरीबाट ३ सय ८० वटा उजुरी परेका छन् ।

तराईका चार जिल्लाबाट १ हजार ७ वटा उजुरी परेको छ । यस्तै सबै भन्दा कम सोलुखुम्बुबाट परेको छ ।

उद्घोष दैनिकमा हुलाकलाई भ्याई नभ्याई शीर्षकमा मुख्य खबर छ ।

नयाँ नयाँ प्रविधिको सुविधासँगै वर्तमान समयमा हुलाक सेवासँगपनि सर्वसाधारणले त्यति सरोकार नराखेपनि हुलाक निर्देशनालय विराटनगरलाई भ्याई नभ्याई छ ।

निर्देशनालयमा १ सय ४ जना कर्मचारीको दरबन्दी भएपनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा भएका कर्मचारीलाई कामको चाप छ ।

हुलाक अधिकृत नरेन्द्रकुमार श्रेष्ठका अनुसार हुलाकले बैंक सेवा, साधारण चिठ्ठीपत्र आदानप्रदान सेवा, हुलाक टिकट बिक्रीको काम गर्दै आएको छ ।

मुलुक संघीय संरचनामा गएपनि निर्देशनालयले प्रदेश २ का दुई जिल्ला सिरहा र सप्तरीसहित १६ जिल्ला हेरिरहेको छ ।

Loading...