बुढासुब्बा गोल्डकप : रेकर्ड राख्ने दाउमा पुलिस, उपाधि थप्ने योजनामा मनाङ

धरान, १६ फागुन । शनिबार २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधिका लागि विभागिय टोली नेपाल पुलिस क्लब र मनाङ मस्याङदी क्लब आमनेसामने हुदैछन् ।

दिउँसो ३ बजे धरान रंगशालामा उत्रदा दुबै टोली मोफसलको सर्बाधिक चर्चित गोल्डकप आफ्नो पकडमा पार्ने दाउमा हुनेछन् ।

११ पटक फाइनल प्रवेश गरेको नेपाल पुलिस क्लब छैटौं पटक उपाधि जित्ने दाउमा छ । छैटौं पटक उपाधि नजिक पुगेकाे मनाङ पनि चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जित्ने मनोबलका साथ मैदान उत्रदैछ ।

२०५५ सालयता निरन्तर आयाेजना भइरहेकाे बुढासुब्बा गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको भेटमा भने पुलिस विरुद्ध मनाङ हाबि भएको थियाे ।

२०६० सालको छैटौं र २०७२ सालको १८ औं संस्करणकाे उपाधि उचाल्दा मनाङले पुलिसलाई स्तब्ध बनाएको थियो ।

मनाङले तीन पटक उपाधि जित्दा दुई पटक पुलिस र एक पटक आरसिटीलाई पराजित गरेको थियो ।

बुढासुब्बा गोल्डकपको दोस्रो, चौथो, पाचौं, दशौं र १९ औं संस्करणको बिजेता पुलिस पनि बिगतको नमिठो हारलाई तोड्न चाहान्छ ।

सबैभन्दा बढी फाइनल खेल्ने टोली पुलिसका लागि मनाङ नौलो टोली होइन् । पुलिसका लागि भरपर्दा खेलाडीको रुपमा जुमानु राई, भाेला शिलवाल, मनिस थापा छन् । मनाङले आश गरेका खेलाडी अञ्जन विष्ट र विमल राना हुन् ।

पुलिस क्लबका कप्तान जुमानु राई आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क छैनन् । उनी आधा–आधा सम्भावना भएको बताउँदै अन्तिममा पुलिसले बाजी मार्ने बताउँछन ।

सेमिफाइनलमा ए डिभिजन लिग बिजेता मछिन्द्रलाई पराजित गरेको पुलिससँग उच्च मनोबल छ । पुलिसका कोच दिनेश गुरुङ उपाधि जित्ने दाबि गर्छन् ।

मनाङका कप्तान कमल श्रेष्ठ उपाधि उचाल्नै धरान आएको बताउँछन् । पुलिस बलियो टोली भएपनि नतिजा आफ्नो पक्षमा हुने उनको विश्वास छ ।

पहिलो खेलमा मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र सेमीफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई स्तब्ध बनाउँदै उपाधि नजिक पुगेको पुलिस र पहिलो खेलमा बेलबारी फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड कर्साङ भारत पराजित गरेको मनाङ उपाधि जितेर इतिहास रच्ने दाउमा छन् ।

मनाङ र पुलिस पछिल्लाे समय सहिद स्मारक ए डिभिजन लिगकाे अन्तिम खेलमा भिडेका थिए । जसमा मनाङ २–० ले बिजयी भएकाे थियाे । मनाङ ए डिभिजन लिगकाे तेस्राे स्थानमा छ । पुलिस पाचाैं स्थानमा छ ।

फाइनल विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ । उपविजेताले नगद ५ लाख पाउनेछ ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मछिरिङ शेर्पाले पुरस्कार प्रदान गर्नेछन् ।

Loading...