सुर्तीजन्य पदार्थको नियन्त्रण एवं नियमन गरिने

विराटनगर, १६ फागुन । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण एवं नियमन गर्न कडाइ गर्ने बताएका छन् ।

प्रदेशसभाको शुक्रबारको बैठकमा ‘प्रदेश नं १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदै उनले विधेयकलाई छिटोछरितो र चुस्त बनाउन विधेयकको मस्यौदामा तोकिए बमोजिमको हुने व्यवस्था गरिएको जानकारी दिए ।

सैद्धान्तिक छलफलमा २३ प्रदेशसभाका सदस्यले भाग लिएको र उनीहरुको विचार, सुझाव एवं सल्लाहलाई स्वागत गर्दै मन्त्री घिमिरेले विधेयकले सार्वजनिक शौचालय र स्वास्थ्यसँग जोडिएका सरसफाइलाई विशेष ध्यान दिएको बताए ।

उनले प्रदेशमा कार्यरत सात हजारभन्दा बढी स्वयंसेविकालाई सुविधा प्रदान गर्न छुट्टै कोष स्थापना गर्ने प्रावधान विधेयकमा समेटिएको भन्दै आपत्कालीन अवस्थामा प्रदेशका ६ वटा महत्वपूर्ण अस्पतालबाट सेवा प्रदान गर्न विधेयकमा व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्री घिमिरेले प्रदेशमा व्यवस्थित प्रयोगशाला बनाउने उद्देश्यले प्रदेश प्रयोगशाला स्थापना गर्ने बताए ।

यसैको माध्यमबाट प्रदेशभरिका प्रयोगशालालाई व्यवस्थित एवं एकरुपता ल्याउने बताउँदै उनले दुर्गम क्षेत्रमा आमनागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सकलाई अतिरिक्त सुविधा दिने व्यवस्था भए पनि त्यस क्षेत्रमा चिकित्सकले काम गर्न र टिक्न नचाहनुमा चिन्ता व्यक्त गरे ।

सो प्रदेशसभा सदस्य उपेन्द्र घिमिरे, बुद्धिकुमार राजभण्डारी र सदस्य मोहनकुमार खड्काले विधेयकलाई समृद्ध एवं कार्यान्वयन योग्य बनाउन विषयगत समितिमा दफावार छलफलका लागि माग गरे ।

Loading...