झापामा हाते कागज उद्योग बढ्दै

झापा, १६ फागुन । झापाको बिर्तामोड नगरपालिका–१० की ४६ वर्षीया दिलु राईले नेपाली हाते कागज बनाउन थालेको तीन दशक भएको छ ।

१६ वर्षको उमेरबाटै राईले हाते कागज बनाउन थालेकी हुन् ।

दिलुसँगै उनका पति ४६ वर्षीय कुमार राई पनि कागज बनाउन सिपालु छन् ।

पाँचथरमा हाते कागज बनाएर जीवन धान्दै आएको राई परिवार चार वर्षअघि मात्र झापा झरेको हो ।

बसाइँसराइँसँगै उहाँहरुले बिर्तामोड–९ स्थित गारामुनीमा घर–जग्गा भाडामा लिएर हाते कागज उत्पादन गर्दै आएका छन् ।

कामप्रतिको लगनशीलता र परिश्रमले अहिले राई परिवार सोही पेशाबाट घर जग्गा जोड्न सफल भएको छ ।

बिर्तामोड–१० मा तीन कठ्ठा जग्गा खरिद गरेर घर निर्माण गर्नुका साथै कागज उत्पादनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुभएको छ ।

सबै खर्च कटाएर मासिक ३० हजार रुपैयाँ आम्दानी हुने गरेको राई दम्पतिको भनाइ छ ।

करिब ३० लाखको लागतमा ‘कुमानोइल नेपाली हाते कागज उद्योग’ स्थापना गरेको राई दम्पतिले आफूसँगै २० जनालाई रोजगारी दिन सफल छन् ।

“छोराछोरी पढाउनेदेखि घरायसी खर्च यसैबाट चलेको छ”, दिलुले भनिन्, “मासिक केही बचत हुने गरेको छ ।”

उद्योगबाट मासिक २५ हजार थान नेपाली हाते कागज उत्पादन हुने गरेको छ । उत्पादित कागजको बजार अभाव छैन ।

कागज उत्पादनका लागि आवश्यक लोक्ता पाँचथरबाट आयात हुने गरेको छ भने त्यसमा प्रयोग हुने ‘केमिकल’ विराटनगरबाट ल्याउने गरिएको छ ।

झापामा पछिल्ला पाँच वर्षको अवधिमा हाते कागज उद्योगको सङ्ख्या बढ्दै गएको छ ।

२०७१ अघि १२ को सङ्ख्यामा रहेका हाते कागज उद्योग आव २०७६/७७ को माघसम्ममा ३१ पुगेका घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका तथ्याङ्क सहायक अश्विनीकुमार भट्टराईले जानकारी दिए ।

आव २०७३/७४ मा दुई, आव २०७४/७५ मा दुई, आव २०७५/७६ मा १० र आव २०७६/७७ को माघ सम्ममा पाँच नयाँ उद्योग दर्ता भएका छन् ।

झापामा पहाडबाट कच्चा पदार्थ ढुवानी गर्न सहज हुने र घाम राम्रो लाग्ने भएकाले यहाँ हाते कागज उद्योग खुल्ने क्रम बढेको हो ।

झापाका सबै हाते कागज उद्योग जापानी प्रविधिमा गइसकेका छन् ।

परम्परागत शैलीभन्दा जापानी प्रविधिमा उत्पादन गरिएको कागज गुणस्तरी हुने भएपछि यहाँका उद्योग जापानी प्रविधिमा गएका हुन् ।

जापानी प्रविधिमा उत्पादन गरिएको कागज चिल्लो र छपाइमा प्रयोग गर्न सहज हुन्छ । यस्ता कागजको दाम पनि राम्रो पाइने उद्योगी बताउँछन् ।

झापामा उत्पादन भएको कागज स्थानीय बजारसँगै जापान, अमेरिका लगायतका युरोपियन देशमा निर्यात हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

नेपाली कागज सरकारी कामकाज र दस्तावेज, चिनाटिपन बनाउन धेरै प्रयोग हुन्छ ।

Loading...