‘क्षमता कम हुँदाहुँदै ३९ कानून निर्माण हुनु सन्तोषजनक हो’

रेवतीरमण भण्डारी, एक नम्बर प्रदेश सरकार कानूनी सल्लाहकार

एक नम्बर प्रदेश सरकार गठन भएको ३ फागुनमा दुई वर्ष बितेको छ । यो अवधीमा संघीयताको राम्रो अभ्यास भएको छ । दुई वर्षमा प्रदेश सरकारले ३९ वटा कानून निर्माण गर्न सफल भएको छ । स्थानीयतहको सेवासुविधाबारेको कानून निर्विवाद निर्माण भएको छ ।

यद्यपि, कानून निर्माणको तहमा केही समस्या पनि देखिएका छन् । हामीकहाँ ऐन बनेपछि तत्काल नियमाली बनाउनुपपर्छ भन्ने बुझाइ कम छ । अर्कोतिर ऐन नबनी सिधै कार्यविधि बनाएर काम गर्ने परिपाटी पनि कायमै छ ।

रेवतीरमण भण्डारी, (कानूनी सल्लाहकार, एक नम्बर प्रदेश सरकार)

कानून निर्माण गर्ने क्षमता अझै कमजोर

सामान्यतया ऐन बन्नुपर्छ । ऐनपछि नियमावली बन्नुपर्छ । हाम्रोमा कानून निर्माण गर्ने क्षमता र तयारी कमजोर छ । नियमावलीमा धेरै कुरा समेटिनुपर्छ । कार्यविधि भनेको सरकारको आन्तरिक व्यावस्थापकीय काम हो । ऐन र नियमावली भनेको कानूनगत र प्रक्रियागत हो । यहाँ बुझाइको, कार्यक्षमताको र जनशक्तिको समस्या छ । यो सबैकुरा बुझ्ने मान्छे कम छन् । १–२ जनाले सबै काम गर्न भ्याउँदैनन् ।

तर जनता निराश भइहाल्नुपर्ने अवस्था छैन । केही न केही काम भइरहेको छ । हामी नयाँ अभ्यासमा छौं । हामी हाम्रो देशमा तीन तहको संघीयता कार्यान्यन गर्ने अभ्यास गर्दैछौं । यसलाई धान्ने यसका सबै आयाम बुझ्ने, प्रदेश र स्थानीयले नयाँ सिर्जना गर्न हाम्रो देशको क्षमता नै कति छ र ?

हाम्रो क्षमताअनुसार यो अभ्यास धेरै माथि छ । राज्यसँग क्षमता कम हुँदाहुँदै यतीको काम हुनुचाहिँ सन्तोषजनक हो । एक नम्बर प्रदेशमा क्षमता कम भएपनि दुई वर्षमा ३९ वटा कानून निर्माण भएका छन् ।

मानिसको अपेक्षा धेरै छ । हामीले सिंहदरबार घरघरमा पुग्यो भन्दै भाषण गर्‍यौं। आमसर्वसाधारणलाई सिंहदरबार घर आगनमा आउँदा सबै परिवर्तन हुन्छ भन्ने बुझाइ थियो । जनताको अपेक्षा र हाम्रो अभ्यासबीचको दूरी बढी भयो । जनताको बुझाइ धेरै भयो । हाम्रो काम गर्ने क्षमता साधन–स्रोत कम भयो । हामीले जति गरे पनि मुलुकको बजेट १५ खर्बकै हो । ठूलो बनाउन सक्दैनौं ।

अर्काे कुरा हाम्रो काम गर्ने शैली पनि लेन्दी छ । ढिलो छ । तर पनि केही न केही संघीयता कार्यान्वयन गरेका छौं । हिजो मानिस सानो–सानो कामका लागि काठमाडौं जान्थे । आज मानिस स्थानीय तह र प्रदेशमा आउँछन् । काठमाडौं जान बिर्सिसके । यसलाई राम्रो अभ्यास मान्न सकिन्छ । तर आमजनताको अपेक्षा रातारात भइहाल्छ भन्ने थियो ।

सबैभन्दा दुःख भ्रष्टाचार

हामीकहाँ सबैभन्दा ठूलो दुःखको कुरो भ्रष्टाचार हो । भ्रष्टाचार गर्ने प्रवृति बढ्यो । यसलाई अपेक्षाकृत नियन्त्रण गर्न सकेनौं । राजनीतिक दलभित्रै कतिपय मानिस भ्रष्ट छन् । जसका कारण प्रशासनिक क्षेत्र, राजनीतिक क्षेत्र, निती निर्माणको क्षेत्रमा ठूलो असर गरेको छ । भ्रष्टाचारको विरुद्ध परिणामुखी उपलब्धी पनि हासिल गर्न सकेनौं ।

के गर्ने इमान्दार मान्छेहरू दलभित्र अल्पमतमा परिसके । बेइमानी गर्ने ठगठाग गरेर के–के गरेर यता–उता गर्ने काठमाडौंमा घुमघाम गर्ने, सरुवा गर्दे भनेर जिविका चलाउनेहरूको संख्या बढ्दो छ ।

आफ्नो व्यवसाय, क्षमता, निष्टा, योग्यतामा भर परेर आर्जन गरौं । सामाजिक राजनीतिक क्षेत्रमा अगाडी बढौं भन्ने भावना कमजोर छ । अब जनता र पार्टीका कार्यकर्ताहरूमा नै भ्रष्टीकरणका विरुद्ध विशाल आवाज उठ्न जरुरी छ ।

चेतना जगाउन जरुरी छ । होइन भने कानून बनाएर पार्टी अध्यक्षले बोलेर, प्रधानमन्त्रीले मात्रै चाहेर पनि रोक्न सकिँदो रहेनछ । यसका लागि हाम्रा कानूनी व्यवस्थाहरू पनि कमजोर छन् तीनलाई सच्याउँदै अघि बढ्नुपर्छ ।

हाम्रो राजनीतिक प्रणालीमा को इमान्दार छ, सक्षम छ भनेर मापन गर्ने प्रणालीलाई राज्यको कानूनभित्र राख्न सकेका छैनौं । भ्रष्टाचार नियन्त्रणका लागि केही व्यक्तिले प्रयास गर्नु भएको छ । तर प्रशासन र राजनीतिभित्र भएको भ्रष्टीकरणलाई नियन्त्रण गर्न सकिएको छैन ।

(कुराकानीमा आधारित)

Loading...