ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

विराटनगर, १४ फागुन । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

विराटनगर ब्याडमिन्टन क्लबले विराटनगरमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबार सबै इभेन्टको फाइनल चरणका खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ आर्मीका नवीन श्रेष्ठले नेपाल पुलिस क्लबका विष्णु कट्वाललाई २३–२१ र २१–१० मा हराउँदै उपाधि जितेका छन् ।

मेन्स डबलतर्फ आर्मीका नवीन श्रेष्ठ र सुरज महर्जनको जोडीले बिबिए क्लबका सुजन श्रेष्ठ र प्रनिससिंह ठकुरीलाई २१–१७ र २१–१८ मा पराजित गर्दै उपाधि जिते ।

वुमन्स सिंगलतर्फ मोरङकी सीमा राजवंशीले आर्मीकी अनुमाया राईलाई २१–१८ र २१–१४ मा पराजित गरिन् ।

त्यसैगरी मास्टर डबल ४५ वर्षमाथि मोरङका डिल्लीराम डाँगी र इन्द्र योङहाङको जोडीले बिबिसी क्लबका सन्दीप श्रेष्ठ र श्रीप्रसाद धिमाललाई २१–१३ र २१–१७ मा पराजित गरे ।

मास्टर डबल ५५ वर्षमाथि सुनसरीका तुलसी सुवेदी र भोजराज रखालको जोडीले बिवासी खोटाङका दीपक राई र कीर्तिमान राईको जोडीलाई १६–२१, २१–१० र २१–१८ मा पराजित गर्दै उपाधि जिते ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलले नगरलाई खेलकुद क्षेत्र अब्बल बनाउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए ।

विराटनगर–७ मा निर्माण भइरहेको अन्तर्राष्टिङस्तरको ब्याडमिन्टनको कभर्ड हललाई सहयोग गरेको र यहाँ अन्य विभिन्न खेलकुदका ठूला प्रतियोगितामा समेत महानगरले सहयोग गर्दै आएको बताए । उनले भने, ‘चाँडै यहाँ माध्यमिकस्तरको मिनी ओलम्पिक गर्न लागेका छौ ।’

प्रतियोगिताको मेन्स सिंगल र डबल विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ हजार र तृतीयद्वयले ५ हजार रुपैयाँ प्राप्त गरे ।

वुमन्स सिंगल विजेताले नगद २१ हजार, उपविजेता ११ हजार र तृतीयद्वयले ४ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै मास्टर डबल ४५ वर्षमाथिको विजेताले २१ हजार, उपविजेताले ११ हजार र तृतीयद्वयले ४ हजार रुपैयाँ प्राप्त गरे ।

मास्टर डबल ५५ वर्षमाथिको विजेताले नगद १५ हजार, उपविजेताले नगद ८ हजार रुपैयाँ र तृतीयद्वय ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

आर्मी, पुलिस र सशस्त्रसहित विभिन्न जिल्लाका १ सय जना खेलाडीले भाग लिएका थिए ।

Loading...