नेपाल ट्रष्टको जग्गा लिजमा संलग्नता नभएको देउवाको स्पष्टोक्ति

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको प्रष्टाएका छन् ।

देउवाले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा आफ्नो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति गम्भीर असहमति रहेको उल्लेख गरे ।

सभापति देउवाले नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापनसम्बन्धी मंगलबार सार्वजनिक गरिएको विवरणले भ्रम सिर्जना गरेको भन्दै विज्ञप्ती जारी गरेका हुन् ।

२०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको भन्दै उनले अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा आफूलाई जोड्नु कानूनी दृष्टिले गलत हुने उनको तर्क छ ।

यो प्रकरणलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्टअन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा भएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको सभापति देउवाले आरोप लगाए ।

Loading...