भारतसँग सीमा व्यवस्थापन नहुँदा भौतिक निर्माणको काम रोकियो

विराटनगर, १४ फागुन । प्रदेश १ प्रदेशसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खिनु लाम्बा लिम्बुले नेपाल भारत सीमा व्यवस्थित गर्न माग गरेकी छिन् ।

उनले नेपाल भारतको सीमा व्यवस्थित गर्ने क्रममा झापाको काम सकिए पनि पूर्वी पहाडी जिल्लाको काम रोकिएका बताइन् ।

संसाद लिम्बुले पहाडी क्षेत्रमा सीमा व्यवस्थापन नहुँदा भौतिक निर्माणको काममा बाधा पुगेको बताएकी छिन् ।

सदस्य प्रतापप्रकाश हाङ्गामलेले ताप्लेजुङको मेरिदेङ सडकलाई प्रादेशिक सडकमा रुपान्तर भएर अहिले हाइड्रो सडकमा परिणत भएको र यसमा बाटो निर्माणमा सरकारले छुट्याएको बजेटबारे सभालाई जानकारी दिन माग गरे ।

सदस्य सावित्री जोशीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म १० मात्र आइसियु रहेकाले थप ४० कक्षको व्यवस्था गर्न माग गरिन् ।

Loading...