अंग्रेजी मोहले आदर्श बालिकामा विद्यार्थी घटे

बबिता लिम्बू
विराटनगर, १४ फागुन । आदर्श बालिका विद्यालय विराटनगरमा छात्रा मात्रै पढ्ने एक मात्र सामुदायिक विद्यालय हो ।

कुनै समय सो विद्यालयमा छात्रा विद्यार्थीको चाप थेगिनसक्नु थियो । तर पछिल्लो समय भने विद्यार्थीको संख्या घट्दो छ ।

विस २००७ सालमा शोभाचन्द्र उपाध्याय खनालको अगुवाईमा स्थापना भएको बालिका विद्यालयमा जारी शैक्षिक सत्रमा ३ सय ६६ मात्र विद्यार्थी छन् ।

नेपाली माध्यममा मात्र पढाइ हुने विद्यालयमा अङग्रेजी माध्यम नभएकाले विद्यार्थीको सङ्ख्या घट्दो क्रममा छ ।

विद्यालयमा अधिकांश मुस्लिम र मधेशी समुदायका बालिकाहरु अध्ययनरत छन् ।

पहिलेको तुलनामा विद्यार्थीको संख्या निरन्तर घट्दो भएपनि विद्यालयमा उपस्थित हुने विद्यार्थीहरूको संख्या सन्तोषजनक रहेको प्रधानाध्यापक रमेश नेपाल बताउँछन् ।

‘जताततै बोर्डिङ स्कूलहरु सञ्चालन भए,’ उनी भन्छन्, ‘अंग्रेजी भाषाले विद्यार्थीहरूलाई भन्दा धेरै अभिभावकलाई प्रभावित बनाएपछि विद्यार्थीको संख्या घट्यो ।’

एक विघा दश धुर जमिनमा निमार्ण भएको आदर्श बालिका विद्यालयमा पछिल्लो समय अङग्रेजी माध्यमबाट अध्यापन गराउन सुरु गरेको नेपालले बताए ।

‘सम्भवतः सबै सरकारी विद्यालयको अवस्था उस्तै होला’, उनी भन्छन्, ‘त्यसैले हामीले पोहोर सालदेखि शिशु कक्षाबाट अंग्रेजी माध्यममा अध्ययापन सुरु गरेका छौं ।’

अंग्रेजी माध्ययममा अध्यापन गराउन थालेपछि विद्यार्थीको संख्या बढ्न सक्ने उनको भनाइ छ ।

Loading...