पत्रपत्रिकामा प्रदेश : विकल्पबिनै सुकुम्बासीका घरमा डोजर चलाइयो

विराटनगर, १४ फागुन । वर्षाैंदेखि बसोबास गर्दै आएका विराटनगर १ पोखरिया भट्टाचौकका सुकुम्बासीको घरमा डोजर चलाइएको छ ।

करिब ७ परिवारलाई विराटनगर महानगरपालिकाले कुनै विकल्प नदिइ घरमा डोजर लगाएर हटाएको हो ।

मंगलबार महानगरपालिकाले करिब डेढ कठ्ठा जग्गामा घर बनाएर बसेकाहरुलाई विकल्प नदिइ उठिकास बनाएको छ ।

ती परिवारलाई अब काहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको छ ।

३५ वर्षदेखि बसोबास गरिरहेपनि एक्कासी महानगरले घर भत्काइदिँदा टाउको लुकाउने ठाउँ नभएको स्थानीय ६२ वर्षीया बिबी हसिना खातुनले बताइन् ।

स्थानीयले परोपकार घाट नजिकैको चार बिघा ओगटेर बसेकालाई नहटाएको तर करिब डेढ कठ्ठामा बसेकोलाई भने हटाएको गुनासो गरेका ब्लाष्ट टाइमसले समाचार छापेको छ ।

कान्तिपुर दैनिकमा अन्नभण्डारमै खाद्यान्न आयात शीर्षकमा समाचार छ ।

खाद्यान्न उत्पादनको प्रमुख क्षेत्र प्रदेश १ मा हरेक वर्ष खाद्यान्न आयात बढ्दो छ । गत आर्थिक वर्षमा ११ अर्ब ५५ करोड मूल्य बराबरको खाद्यान्न आयात भएको तथ्यांक छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्बको कृषि उपज प्रदेश १ भित्रिएको छ ।

विशेषगरी भारतलगायत क्यानडा, तान्जानिया, म्यानमार, भियतनाम, ब्राजिल र इन्डोनेसियाबाट तोरी, मुसुरो, लसुन, भटमास, फलफूल, केराउ, कालोदाल, मुङदाल, सुपारी र ताजा तरकारी नेपाल आयात हुने गरेको छ ।

कान्तिपुरमै धनकुटाका स्थानीयले सडकले लिएको जग्गाको मुआब्जा नपाएपनि अझै तिरो तिर्नु पर्ने बाध्यता भने रहेको समाचार छापेको छ ।

चार दशक अघि धनकुटा हिले सडकले ओगटेको जग्गाको लागत कट्टा नहुँदा उनीहरुले तिरो भने तिरिरहनु परेको छ ।

सडकले ओगटेको जग्गाको मुआब्जा त पाएका छैनन् । तिरो भने तिर्नु परेको स्थानीयको गुनासो छ ।

प्रदेशका संरचना बनाउन महानगरको चासो शीर्षकमा उद्घोष दैनिकमा मुख्य समाचार छ ।

प्रदेश १ सरकारलाई आवश्यक पर्ने संरचना निर्माण गर्नका लागि विराटनगर महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

Loading...