‘बुबा भन्नु हुन्थ्यो सबैभन्दा ठूलो संरक्षक अग्निदेव हो’

मुनाल पोखरेल
हामी केटाकेटी हुँदादेखि नै बुबाले पुस्तक संकलन गर्नु हुन्थ्यो । यो निजी लाइब्रेरी हो । संरक्षण गर्न एक्लै सम्भव छैन । संरक्षणको लागि संस्था बनाएका छैनौँ ।

यसलाई संस्थागत रूपमा अगाडि बढाउने मनसाय छ । तर बुबाको मनसाय अलग्गै थियो । लाइब्रेरीलाई भन्दै पुस्तक माग्ने धेरै थिए । संस्थाको लागि पनि माग्थे । बुबा भन्नु हुन्थ्यो मैले संकलन गरेको पुस्तकको माया मलाई हुन्छ । मैले जसरी अरुले संरक्षण गर्दैनन् ।

मैले संरक्षण गर्न सकिनँ भने मेरो छोराले गर्छ । तैंले पनि गर्न सकिनस् भने सबैभन्दा ठूलो संरक्षक भनेको अग्निदेव हो । आगोमा लगेर नष्ट गर्नू, मनिसलाई नदिनू, त्यो लावारिस हुन्छ भन्नु भएको थियो । फालिएका र लावारिस अवस्थाका पुस्तक संकलन नगरेको भन्ने गर्नु हुन्थ्यो । त्यसैले अरुलाई पुस्तक दिने इच्छा बुबाको थिएन ।

उहाँले काठमाण्डौको गल्ली सडकमा विभिन्न कार्यालयले फालेको अवस्थामा रहेका विभिन्न अनुसन्धानात्मक किताब संकलन गर्नुभएको थियो । त्यसरी फालिएका पुस्तकहरूको अध्ययन गरेर अनुसन्धानात्मक नेपाली पुस्तकहरू सिर्जना गर्नुभएको थियो ।

बुबालाई आवश्वासन कतैबाट पनि आएको होइन । उहाँले आफैँले कसैलाई पनि भन्नु भएन । आफ्ना निकटवर्तिमार्फत बुबाले सरकारलाई खबर पठाउनुभएको थियो । वहाँले म अब लेख्न सक्न छोडेँ । लामो बसेर लेख्न सक्दिनँ । मेरो अनुसन्धान मसँगै जाँदैछ । मैले गरेको अनुसन्धान बाँड्ने चिज होइन । त्यो ल्यान्डेड प्रपटी होइन । जो कित्ता काँट गरेर बाँड्ने अथवा भाडामा दिऊँ । मैले जीवनभर एउटामात्र काम गरे त्यो अनुसन्धानको काम गरे भन्नु हुन्थ्यो ।

अनुसन्धानको लागि बुबाले सहयोग माग पनि गर्नुभएको थियो । अनुसन्धानको सहयोगको लागि उहाँले अतिथि, प्रमुख अतिथि बन्नलाई रकम तोक्नुभएको थियो । देशको परिस्थितिको कारणले बुबाको त्यो सोच सम्भव हुन सकेन ।

खस जातिको इतिहास छाप्न बुबाले सहयोग माग्नु भयो । ए ! भाइ तैंले मलाई कुनै किसिमको सहयोग जुटाउन सक्छस् ? भन्नु भयो । बुबाले मलाईं भाइ भन्नुहुन्थ्यो कहिलेकाँही । त्यसपछि म आफूले चिनेको मानिस भए ठाउँमा सहयोग जुटाउन प्रस्ताव लिएर गएँ । त्यसरी बुबाको पुस्तकको लागि सहयोग जुटाउन जाँदा केही प्रतिशत मात्र सफल हुन सकेँ ।

मान्छेले अनुसन्धान गर्छ । त्यसलाई प्रकाशन गर्न निक्कै कठिन छ । छाप्ने प्रकाशक भेट्न मुस्किल पर्छ । यदि कसैले छाप्यो भने पनि रोयल्टी, पारिश्रमीकको लागि भने प्रकाशकहरूले आखा चिम्लने गरेको पाएको छु ।

००००

बुबाले लेखेका विभिन्न पुस्तकहरू, अनुसन्धान, साहित्यिक लेखहरू व्यक्तिगत रूपमा गर्न सकियो भने हामी गर्नेछौँ । बुबाका लेख रचनाहरू प्रकाशनको लागि मैले आफैँले थाले भने पनि त्यो एक प्रकारले अनुसन्धान गरे जत्तिकै हुन्छ । बुबाले पाण्डुलिपि छाड्नु भएको छैन । एउटा मगर भाषाको कोष लेख्दै हुनुहुन्थ्यो । यो ०६६ सालको कुरा हो । त्यो कता गयो हरायो । पछि अलिकति भेटियो । त्यो बुदाँगत रूपमा रहेको छ । झन्झट मान्ने मानिसले त्यसलाई प्रकाशन गर्न सक्दैन । त्यसैमा गहिरिएर लाग्नुपर्ने हुन्छ ।

बुबाले अझै पनि फुटनोट नदिइ, सन्दर्भ सूची नराखी लेखेका छन् । त्यसबाट पनि अझै पनि एक दुईवटा गत्तिला पुस्तका निस्कन सक्छन् । त्यसमा राज्यले सहयोग गरेको अवस्थामा स्वागत गर्नुपर्छ । भरखरै बरखन्त सकेका छौँ । एकपटक प्रयास गर्छौं । हेरौं राज्यले के गर्छ, राष्ट्रले के गर्छ ।

०००००

कतिपय अवस्थामा राज्यको आश्वासन मात्र भए । कतिपयमा राज्यले सम्मान गरेको छ । व्यक्तिगत रूपमा भन्दा बुबा राजधानीबाहिर बस्दा धेरै अवसरबाट हामीसँगै बुबा पनि बञ्चित भएको हो कि भन्ने लाग्छ । काठमाण्डौबाट विराटनगर आइदिँदा हामी पीर्का बोकेर विद्यालय जानु पर्‍यो । पहिला अवसर काठमाण्डौले पाउँछ अनि मात्र अन्यत्रको आउँछ । अहिलेसम्म अवस्था त्यस्तै छ । झन् बुबाको समयमा कस्तो हुन्थ्यो । बुबाको हकले पाउनुपर्ने अवसरहरू पनि अरुले नै उपयोग गरे । यद्यपि, बुबाले विराटनगर बसेर पनि देशको भाषा र साहित्यमा ठूलो योगदान गर्नु भयो । उहाँले भन्नु पनि हुन्थ्यो विराटनगरमा बसेर जति गर्न सकेँ त्यति काठमाण्डौमा बसेर गर्न सक्दिनँ थिए ।

०००००

राज्यले बुबालाई सम्मान गर्ने कुरामा हामीलाई पनि खड्किन्थ्यो । यदि बुबाले राम्रो काम गर्नु भएको भए किन सधैँ दोस्रो र तेस्रो सम्मान प्रदान गर्न खोज्यो । बुबाले राज्यको त्यस्ता सम्मान कहिले पनि ग्रहण गर्नु भएन । बुबाको निधनपछि पनि सम्मानको लागि जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयको विभूषण विभागबाट मलाई खबर आएको थियो । तर, मैले बुबाको चाहनाअनुसार अस्वीकार गरि दिए ।

राज्यले सम्मान गर्ने होइन । त्यहाँ बस्ने व्यक्तिहरूले गर्ने हुन् । उनीहरूले आफ्नो ‘इन्ट्रेस्ट’का व्यक्तिलाई गर्ने हुन् । बुबा त्यहाँका मान्छेको ‘इन्ट्रेस्ट’मा पर्नु भएन होला ।

०००००

बुबाले नेपाली भाषा र साहित्यको क्षेत्रमा धेरै मेहेनत गर्नुभएको छ । नेपाली भाषा र साहित्यसम्बन्धी झण्डै एक सय पन्ध्रको हाराहारीमा पुस्तक लेख्नुभएको छ । सायदै कोही होलान नेपाली साहित्यको क्षेत्रमा यति धेरै पुस्तक लेख्ने । त्यसमा उपन्यास पनि झण्डै ५० वटा लेख्नु भएको छ । बुबाले नेपाली भाषा साहित्यका प्रायः सबै विधामा कलम चलाउनु भएको छ ।

कथासंग्रह छापेर पेट पाल्न सकिँदैन । बुबाले गाँस काटेर नेपाली साहित्यका लागि योगदान गर्नुभयो । फलको आशले गर्नु भएको होइन । बुबाको रुचिको क्षेत्र हो । सगरमाथा आरोहीले चुचुरोमा पुग्ने जुन संकल्प गरेर चढ्छन । त्यसरी नै बुबाले पनि संकल्प गरेर लेख्नुभएको हो । बुबा पहिले नै आफूले लेख्ने विषयको बारेमा जानकारी दिनुहुन्थ्यो ।

(नेपाली भाषाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका भाषाशास्त्री बालकृष्ण पोखरेलको पहिलो स्मृति दिवस फागुन १२ गते मनाइयो । उनको पुस्तकालयको अवस्था, उनको योगदान र राज्यको दायित्वलाई परिवारले कसरी नियालिरहेका छन् । यसै सन्दर्भमा बालकृष्णका छोरा मुनालसँग यज्ञ अधिकारीले गरेको कुराकानीको संम्पादित अंश ।)

Loading...