करोडौंको सरकारी संरचना प्रयोगविहीन, व्यक्तिको जग्गामा गुद्री बजार सारिँदै

८० प्रतिशत छुटमा सूचना निकाल्दा पनि व्यापारी पुगेनन्

यज्ञ अधिकारी
रंगेली, १३ फागुन । तीन तहको सरकारबीच प्रभावकारी समन्वय नहुँदा करोडौँको सरकारी सम्पत्ति उपयोगविहीन बन्ने अवस्थामा पुगेको छ । विराटनगर महानगरपालिकाको गुद्रि बजारलाई स्थानान्तरण गर्नेगरी कटहरी गाउँपालिका–१ मा ‘सुविधासम्पन्न फलफूल तथा तरकारी बजार’ निर्माण गरिएको छ ।

तर महानगरपालिकाले बजार स्थानान्तरणमा चासो नदिँदा १३ करोड ७६ लाख लागतमा निर्माण भएको बजार प्रयोगविहीन हुने अवस्थामा पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघि बजारको उद्घाटन गर्दै सञ्चालनका लागि प्रदेश सरकारलाई जिम्मा लगाएका थिए । तर, विराटनगर महानगरपालिकामा रहेको गुद्रि बजारका व्यापारी त्यहाँ जान नमानेपछि तरकारी तथा फलफूल बजारको सञ्चालनको प्रक्रिया अगाडि बढ्न सकेको छैन् ।

गुद्रिका व्यवसायीहरूले सरकारी संरचनामा नजाने बताउँदै व्यक्तिको जग्गा भाडामा लिएर नयाँ बजार बनाउन सुरु गरेका छन् । विराटनगर–११ मा बसपार्क पश्चिमतर्फ रहेको व्यक्तिको जमिन भाडामा लिएर बजारका लागि संरचना निर्माण गरेका हुन् ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई बजार सञ्चालनको जिम्मा छ । मन्त्रालयले कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समिति बनाएर काम गरिरहेको छ । बजार सञ्चालनका लागि प्रदेश १ कृषि निर्देशनालयका प्रमुखको संयोजनमा समिति बनाएको छ ।

समितिमा विराटनगर महानगरपालिकाको गुद्रि बजार भएको वडा विराटनगर–९ का र कटहरी गाउँपालिका–१ का वडाध्यक्ष पनि सदस्य छन् । कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समितिका कार्यकारी निर्देशक पशुपति पोखरेलले महानगरको गुद्रिका व्यापारी स्टल लिन नआउँदा काम आगाडि बढ्न नसकेको बताए ।

उनका अनुसार गुद्रीका व्यापारीलाई विषेश छुट दिएर विज्ञापन गरिएको थियो । दुई पटक सूचना आह्वान गर्दा पनि कसैले बुकिङ गरेनन् । गुद्रीका व्यापारी आउने नआउने विषयमा महानगरले कुनै जवाफ दिएको छैन । गुद्रीका व्यापारी नआए अन्यलाई खुल्ला गरेर आगाडि बढ्ने योजना रहेको उनले बताए ।

कटहरीको तरकारी बजार सञ्चालनको विषयमा महानगरपालिकाले आधिकारीक रूपमा नभनेसम्म अन्यौलमै रहेको उनले बताए । मन्त्रालय र समितिको मात्र एकल प्रयासले सञ्चालन गर्न मिल्दैन । महानगरपालिकाले चासो नदिएका कारण बजार सञ्चालनमा अन्योल भएको उनले बताए ।

गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यसहित स्टलको बिक्री सुरु भएपनि कोही पनि गएका छैनन् । गुद्रीमा व्यापार गरिरहेका व्यापारीलाई स्टलमा ७५ देखि ८० प्रतिसतसम्म छुटमा स्टल खरिद गर्न सूचना निकालेको थियो ।

गुद्रीका थोक व्यापारीलाई प्रतिस्टलमा ८० प्रतिशत र खुद्रा व्यापारीलाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । व्यापारीले वार्षिक भाडाको अढाइ प्रतिशत धरौटी राख्नु कार्यविधिमा व्यवस्था गरिएको छ ।

गुद्री बजारलाई स्थानान्तरण गर्ने महानगरलाई राम्रो अवसर भएको विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत एकदेव अधिकारीले बताए । तर बजार स्थानान्तरण हुने अवस्था छैन ।

सबैको हित हुने भएकोले गुद्रीका व्यवसायीलाई पटक–पटक कटहरीको तरकारी बजारमा जान आग्रह गरेको उनले बताए । कटहरीको बजारमा जान व्यापारीले अटेर गरिरहेका छन् । व्यवसायीहरूले आफ्नै लागतमा बजार निर्माणको कामसमेत अगाडि बढाइसकेको उनले बताए ।

गुद्री खाली गर्न व्यवसायीले १०–१५ दिनको समय मागेको उनले बताए । गुद्रीका व्यापारी जान अटेरी गरेका कारण प्रदेश सरकारलाई अरु व्यवसायीलाई कटहरीको बजारमा राख्नसक्ने राय लेखेर पठाउने उनले बताए ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका–१ जमटोकीमा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

तरकारी बजार २०६८ मा सम्झौता भइ निर्माण भएको हो । १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफल रहेको छ । होलसेल पसल राख्न १४ सय ८८ वर्गमिरटरको भवन निर्माण भएको छ । ३ सय ५१ वर्गमिटरको खुद्रा बिक्री भवन निर्माण गरिएको छ ।

बजार लामा निर्माण कम्पनी एण्ड रमन निर्माण प्रा.लि जेभी निर्माण गरेको हो । बजारमा प्रतिवर्गमिटर ३० टन भण्डारण क्षमता रहेको छ । तरकारी बजार क्षेत्रभित्र २ तल्ले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वार्टर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहार व्यवस्थापन एरिया रहनेछन् ।

Loading...