पत्रपत्रिकामा देश : स्याटेलाइट परियोजनापनि शंकास्पद

विराटनगर, १३ फागुन । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अघि बढाएको स्याटेलाइट परियोजनापनि शंकास्पद देखिएको छ ।

१२ वटा देशका २२ वटा कम्पनीले नेपालमा स्याटेलाइट राख्न रुचि देखाएका थिए । तर पूर्वमन्त्री बाँस्कोटाले जी टू जीमार्फत एउटै कम्पनीसँग समझदारी अघि बढाएका थिए ।

नेपाल दूरसञ्चार प्रधिकरणले स्याटेलाइट स्थापनाको तयारी स्वरुप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बिनाप्रतिस्पर्धा बाँस्कोटाले परियोजना अघि बढाएका थिए ।

बाँस्कोटाले यूरोप भ्रमणका क्रममा गत वर्ष फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग स्याटेलाट खरिदका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

तर अध्ययन समितिले भने नेपालले राख्ने भनेको स्लट व्यवसायिक प्रयोजनको लागि भने अनुपयुक्त रहेको भन्दै अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियनसँग अर्काे स्लट माग गर्न सुझाव दिएको थियो ।

सोझै एक कम्पनीलाई जी टू जीमार्फत दिँदा महँगो पर्ने र सरकारको भूमिका कम हुने जानकारहरु बताउँछन् । यो समाचार कान्तिपुरमा छ ।

‘ झ्यालबाट संसद छिर्ने हठमा वामदेव’ शीर्षकमा नयाँ पत्रिका दैनिकमा मुख्य समाचार छ ।

संविधान संशोधनको कार्यदलमा बस्न सुवास नेम्वाङले ठाडै अस्विकार गरेपछि वामदेवको सपना फेरि भूमरीमा परेको छ ।

नेम्वाङले व्यक्तिको लागि देशको संविधान संशोधन गर्ने खेलमा लागेर कलंक नबोक्न माधव नेपाललाई पनि सुझाव दिएका छन् ।

शनिबार बसेको सचिवालयको बैठकमा गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिपतिबाट मनोनित हुने कोटाबाट राष्ट्रियसभामा लैजाने सहमति भएको थियो ।

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुन नपाउने संबैधानिक व्यवस्था पनि परिवर्तन गर्न नेकपाले वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

यो विषय गोप्य राख्ने पार्टीले निर्णय गरेको थियो । तर नेम्वाङले यो विषयमा असहमति जनाएका छन् ।
‘पारिवारिक विरासतमा आउला कांग्रेस नेतृत्व ?’ शीर्षकमा नागरिक दैनिकमा मुख्य खबर छ ।

कांग्रेसका धेरै नेताहरुको बुझाइमा अस्वभाविक परिस्थितिबाहेक आगामी महाधिवेशनमा पनि नेतृत्वको लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने छ ।

Loading...