भाषाशास्त्री बालकृष्णका केही फरक तर्कहरू

सन्दर्भ – भाषाशास्त्री बालकृष्ण पोखरेल प्रथम स्मृति दिवस

विराटनगर महानगरपालिका–१० तीनटोलिया बस्दै आएका भाषाशास्त्री पोखरेलको १२ फागुन बिहान २ बजेतिर २०७५ मा आफ्नै घरमा निधन भएको थियो ।

३० भदौ १९१० मा मकवानपुरको चिसापानी गढीमा जन्मिएका भाषाशास्त्री बालकृष्ण पोखरेल नेपालमा पहिलोचोटि भाषा विषयमा एमए गर्ने तीन जना भाषाशास्त्रीमध्ये एक भाषाशास्त्री थिए । साथै उनी झर्रोवादी भाषाआन्दोलनका संस्थापक इतिहास मानिन्छन् ।

उनी आफ्नै लयमा जिन्दगी गुजार्न रुचाउने विद्वानका रूपमा चिनिन्थे । शक्तिबाट टाढै बस्न रुचाउने र काठमाण्डौ बाहिरको विराटनगरलाई माया गर्ने आदणीय गुरु कहलिएका पोखरेल असी लागेर बसीखाने उमेरमा पनि सार्वजनिक कार्यक्रममा सरिक भइरहन्थे । उनी सार्वजनिक कार्यक्रममा जाँदा फिस लिने विद्वानका रूपमा पनि कहलिएका थिए ।

भाषाशास्त्री पोखरेल बृहत्त नेपाली शब्दकोष र नेपाली-अग्रेजी शब्द कोषका लेखक हुन् । उनलाई अखबारका नियमित स्भम्भकार र झर्रोवादी आन्दोलनका संस्थापक इतिहास मानिन्छन् ।

मध्यमवर्गीय परिवारमा जन्मिएका विद्रोही शिक्षित व्यक्ति भाषाशास्त्री पाखेरेलले दर्जनाैं उपन्यास, कथा, निबन्ध र भाषासम्बन्धी पुस्तक लेखेका छन् । उनी खस जातिको इतिहास पुस्तकका लेखक र जानकार आदि अनेक परिचयले पनि चिनिन्थे ।

आफ्नै लयमा बाँच्न रुचाउने विद्वान बालकृष्णले गाउँका कुरा लेख्दा गढतिरे साइँलो, पहाडका कुरा लेख्दा रुपावासी, विदेशीहरूलाई दनक दिन लक्ष्मीबिलास उपाध्याय, प्रवासीका कुरा लेख्दा हिमालपाने बराल र उपन्यासहरू लेख्दा वसन्त आदि अनेक नामहरूको प्रयोग गर्ने गरेका थिए ।
बालकृष्ण पोखरेलले इलाम चुलाचुलीकी शान्तादेवी ढकालसँग २०१० सालमा प्रगतिशील विवाह गरेका थिए ।

उनकी पत्नी शान्ताको ३० पुस २०६७ मा निधन भएको थियो । उनले आफ्नी पत्नीको सम्मानमा रुपारानी नामको महाकाव्य पनि लेख्दै थिए । तर उक्त काव्य भने पूरा हुन पाएन ।भाषाशास्त्री बालकृष्णका आफ्नै मूल्य र मान्यता थिए । उनको पहिलो स्मृतिदिवसमा हामीले उनका केही फरक तर्कहरू उनकै शब्दमा यहाँ प्रस्तुत गरेका छौं ।

निभ्न लागेको आगो र बुढेशकालको वैंश चर्को

सुनसरीको अमाही बेल्हाका लोचन राजवंशीका बाबु १ सय ३० वर्षसम्म बाँचे । कुनै रोग लागेन । उच्चमरण भयो उनको । बुढेशकालमा उनका आँखा, दिमागआदि ईन्द्रीयहरू अलिकति पनि बिचलित भएका थिएनन् । उनी मरेको भोलिपल्ट उनको घरको भान्सामा दश मन चामल पाक्यो । तर आजकल त त्यसरी नौ-दश मन चामल पाक्नेगरी कोही पनि आयू बाँचेको पाइँदैन ।

अहिले म्यानपावरको युग हो ।आजकल त थोरै खानुपर्छ भन्ने धारणको विकास भएको छ । मानिसहरू एक बिगाह खेत पनि कसरी जोत्ने हो चिन्ता गर्छन् । मेनपावरको युगले मान्छेको संख्या घटायो र श्रमको मूल्य बढायो । यस्तो समयमा ६० वर्ष पार गर्नु पनि चुनौती भैसकेको छ । ६० वर्ष पार गर्‍यो भने त मानिसहरू अचम्म मान्छन् ।

८० पार गरेको म सडकमा एक्लै हिँडेको देखेर मानिसलाईआरिस लाग्दो रैछ । निभ्न लागेको आगो र बुढेशकालको वैंश चर्को हुँदोरहेछ ।

दिमागबाट जादुई किरा गुमाएर मर्नेहरु अभागी हुन्छन्

मलाई सम्झना छ । विराटनगरमा एउटा प्रकाशन खोल्न एक जना पादरी आएका थिए । तर आपत्ति आएकोले उनी काठमाण्डौ गए । कवि महानन्द सापकोटाको किताब पनि छापेका थिए उनले । किताब अशुद्ध छापिएछ । पादरीले किताब फेरि छापे । लेखक गुरुले मेरो एउटै किताब दुई पटक छाप्यो तर एक पटकको मात्र पैसा दियो भनेर गुनासो गर्नुभयो ।

म अंग्रेजी जान्ने भएकोले काठमाण्डौ गएर कुरा गरिदिन आग्रह गर्नुभयो । काठमाण्डौ गएर पादरीलाई भेटेर कुरा राखियो । पादरीले गल्ती छापिएको पुस्तक फेरि छाप्दा आफ्नो लगानी बढेको र घाटा भएको भन्दै फेरि पारिश्रमिक दिन मिल्दैन भन्यो । तर महानन्द गुरुले त अहँ मान्दै मानेनन् । भने, यत्रो धनी मान्छे भएर पनि दुई-चार सयको लोभ गर्ने ? भनेर चिढिए । कुरो सुनेर पादरीले तिमी घरजग्गा भएको मान्छे धनी कि म केही नभएको मान्छे धनी ? भनेर सोध्यो ।

उसले भनेको थियो,– ‘मेरो देशमा त मेरो एउटा घर पनि छैन सबै सरकारको छ । घरको पनि कर तिर्नुपर्छ । तर तिम्रो देशमा त आफ्नो नाममा जमिन र जग्गा छ, भन को धनी ? तर अहँ महानन्दगुरुले केही गरे मानेनन् । अति कर गरेपछि मैले उसलाई भनेको थिएँ, हेर बुढो मान्छेको दिमागलाई धेरै नरगड, गल्ती नै गरेको भएपनि सम्मान गर, बुद्धि बुढो भैसकेको मान्छेलाई तिमीले सम्झाउन सक्दैनौ ।

जाबो ५ सय दिन किन झगडा गरिरहनु भनेर अनुरोध गरेपछि उसले पाँच सय पुनःपारिश्रमिक दियो र भन्यो, ‘मान्छे तब मात्र राम्रो कहलाउँछ जबसम्म बुद्धि बुढो हुँदैन ।

बुढो उमेरमा बुद्धि रिर्चाज गरिरहनुपर्छ ।’ शंखेकिराको एन्टेना जस्तै हुन्छ, बुढो उमेरमा बृद्धि । जसरी शंखेकिराले आफ्नो एन्टेनाको सूचनाअनुसार आफ्नो स्पर्श बढाउँछ त्यस्तै हो हाम्रो पनि । तर हामीले पनि शंखेकिराकै जस्तो एन्टेना पाए कति भाग्यमानी हुन्थ्यौं होला ? बुढेशकालमा मृत्यु ‘जिन’ बनेर ‘ए मेरो आकालौ जाने बेला भएन’ भन्दै लिन आइरहेको हुन्छ । यसैले बाँचुञ्जेल दिमागमा जादुई किरा छउन्जेल बाँच्न पाइयोस् । दिमागबाट जादुई किरा पहिले नै गुमाएर मर्नेहरू त अभागी हुन्छन् ।

अधिकारले पाएको मात्रकोची–कोची खानुपर्छ

केही छैन । डाक्टरले खा भनेको खाएको छु नखा भनेको छोएको छैन । गुलियो नखानु भनेको छ । सम्झौता गरेको छैन । खानु भनको कुरा घाँटी कोचेर खान्छु । किनभने मेरो खान पाउने अधिकार छ । म त कमिसन खाने दरबारका सचिव र मन्त्रालयको कर्मचारी पनि हैन ।

राजदरबारले जनतामा दिएको एक सय प्रतिशतमा ३० प्रतिशत दरबारले र मन्त्रालयका कर्मचारीले कमिसन खान्छन् । हुँदाहुँदा २५ प्रतिशत जनतामा जान्थ्यो तर त्यसमा पनि फेरि दरबारकै लागि करकट्टि हुन्थ्यो । म त कमिसन खानेहरूभन्दा धेरै कम खाने व्यक्ति हुँ । यसैले खानपाउने अधिकार उपयोग गर्न कोची–कोची खान्छु ।

च्यामे र पोडे शासकहरू हुन्

मेरो नित्यकर्म कलम नै हो । मेरो काम एक मात्र लेख्ने मात्र हो । बृहत्त अंग्रेजी-नेपाली शब्दकोष सकेँ । अब पोडे र च्यामेहरूको इतिहास लेख्दैछु । उनीहरू प्राग ऐतिहासिककालका शासक हुन् ।

उनीहरूलाई युद्धमा पराजित गरेपछि क्रुरहरूले निकृष्टभन्दा निकृष्ट सजाय दिएर पोडे र च्यामे बनाएर दास बनाएका हुन् । आजका दमितहरू हिजोका शासक हुन् पक्कै पनि । म खोज गरिरहेको छु ।

युद्धमा पराजित गरेपछि जित्नेहरूले सजिलो दण्ड दिँदा आफूहरूलाई सन्तोष प्राप्त नहुने देखेर सदियाैंसम्म दुःख पाइरहने उपाय सोचेर जात झारेका हुन् । सबैभन्दा तल्लो सामाजिक मर्यादामा राखेका हुन् । राजनीति नबुझून भनेर निकृष्ट सेवाको काम जिम्मा दिएका हुन् ।

प्राग ऐतिहासिककालमा वशिष्ठ ऋषिलाई कौडिन्य बनाइयो । त्यो भनको दास बनाएको हो । भनिएको छ– ‘अरु सबैलाई दही दिनु तर कौडिन्यलाई मोही मात्र दिनु ।’ एक महिनाभित्र लेखेर सकिन्छ होला । यसैले धेरै कम भेटघाट गर्छु ।

खस जाति हैन सभ्यता हो

खस भनेको जाति हैन सभ्यता हो । आजकल खस जाति भनेर गाली गरेको सुनिन्छ । त्यो बुझाईको कमी हो । खस सभ्यताको उदय पशुचरण युगमा भएको हो । त्यो बेला एउटा मानिसको समूहले पशुहरू खसी पार्ने चलनको आविष्कार गर्‍यो । त्यो बेला खसी पार्दा पशु सप्रन थालेपछि त्यसले चारचौरास भाउ पायो । खसी पार्नेहरूको पनि भाउ बढ्यो ।

उनीहरूले अलग–अगल पशु खसी पारेको अलग–अगल र महंगो मोल लिन थाले । यसैले उनीहरू धनी भए । धनी भएपछि आफ्नो कबिला बनाए । पहिले पशु खसी पार्ने उनीहरू पछि अर्काका सिपाहीहरूलाई खसी पार्न थाले । काश्यप गोत्रको समय खसहरूको समय हो ।

ईशापूर्व १६ औं र १७औं शताब्दीतिर मानिसले पहिलोचोटी घोडा चढ्न जान्यो । त्यसको प्रथम अविष्कारक पनि खस सभ्यतामै भएको हो । खस सभ्यताको समयका कति मानिसहरू मुसलमान, कति यहूदी भएका होलान् । खस सभ्यता नआएको भए नेपालीहरूको अनुहारको समानताको विकास हुन सक्ने थिएन ।

खा र नखा भन्ने अधिकार भजगोविन्दहरूलाई छैन

खाद्य अधिकार भनेको के शाकाहारीको मात्र अधिकार हो ? भजगोविन्दहरूलाई के अधिकार कुन खाद्यवस्तु वैध र कुन अवैध भन्ने ? मेरो हजुरबुबा विसं १९८३ मा रंगेलीमा हाकिम नियुक्त हुनुभयो । उहाँ दिनको एउटा खसी काट्नु हुन्थ्यो ।

शरीरले कमलो मासु मात्र रुचाउने भएकोले आफू कलेजो मात्र खानु हुन्थ्यो बाँकी अरुलाई बाँड्नु हुन्थ्यो । के मेरो हजुरबाले खान मागेको कुरा नखा भनेर रोक्ने ? धर्मलाई खाद्य र अखाद्यमा ल्याएर जोड्नु भनेको त चरम उपभोक्तावाद हो । यो खा त्यो नखा भनेर भन्ने अधिकार त वैधशासकलाई मात्र हुन्छ ।

यसैले मैले बेला-बेला लेख्ने गरेको हुँकसले के खायो र कसले के खाएन भनेर होच्याउने, निन्दा गर्ने र यो खा त्यो नखा भनेर धर्मकाभीरुहरूले अरुलाई भन्ने अधिकार छैन ।

मार्क्सका उत्तराधिकारी लेनिन होइनन्

झर्रोआन्दोलन जन्माएको मैले नै हो । पछि त्यसलाई साथ र टेवा अरु साथीहरूले पनि दिनुभयो । २०१३ सालमा बनारसमा पढ्दा जन्माएको हुँ झर्रो आन्दोलन ।

त्यो बेला भारतीयहरू नेपाली भाषालाई अगल्लै भाषा नै मान्दैन थे । हिन्दीकै शाखा भाषा हो र कुनै फरक छैन भन्थे । विद्यालयमा पढ्ने भारतीयहरू ‘देखिस् तेरो नेपाली भाषा त हिन्दीजस्तै हो सबै कुरा मिल्छ’ भन्थे ।

उनीहरू नेपाली लेखकहरूले लेखेका लेख, कविताहरू पढेर सबै मिलेको दाबी गर्थे । तर म मान्दिन थें । मेरो आफ्नै अडान थियो । नेपाली भाषा स्वायत्त भाषा हो, यो हिन्दी भाषाको शाखा हैन, यसको आफ्नै मौलिकता छ भनेर तर्क गर्थें । उनीहरू मलाई दाबी पेश गर्न चुनौती दिन्थे । एकदिन भारतीयहरूले भाषाको कक्षामै नेपाली भाषालाई हिन्दी भाषा हो भनिदिए ।

मलाई सारै चित्त दुख्यो । कैयौं दिन निद्रा लागेन । त्यसपछि मैले निक्कै मेहनत गरेर आफ्नो गाउँ ठाउँमा भएका झर्रो शब्दहरू संकलन गरेर उनीहरूसँग तर्क गर्न थाले । ‘लौ भन तिम्रो हिन्दी भाषामा छन् यी शब्दहरू ? अब नेपाली भाषालाई किशनगोपाला भन्न छाड्छौ कि छाड्दैनौ ?’ त्यसपछि उनीहरू गले । मानलियो बाबा नेपाली भाषाका अपना महत्व है हिन्दी भाषा नहीँ है भने । अस्तित्व स्वीकारे, सगा दोस्त आज से अलग हो गया भनेर दुःख व्यक्त गरे ।

त्यो दिन जति खुसी मलाई आजसम्म लागेको छैन । नेपाली भाषाको अस्तित्व जोगाउन सकेकोमा गर्विलो भएको ठानेँ । त्यही बेलादेखि हो मैले राष्ट्रको स्वतन्त्र अस्तित्वको महत्त्व बुझेको ।

उनीहरूले लेखनाथ पौड्यालको तरुण तपसीको उदाहरण दिँदै हिन्दीसँग समानता भएको तर्क गर्थे । तर मैले झर्रो शब्दहरूको अर्थ खोजेपछि उनीहरू नेपाली भाषाको अस्तित्व स्वीकार गर्न बाध्य भए ।

त्यसको ठूलै चर्चा भए । बनारसबाट छापिने पत्रपत्रिकाहरूमा झर्रो नेपाली भाषाबारे लेख रचना छापिन थाले । तारानाथ शर्मा, चूडामणि रेग्मी, कोषराज रेग्मीहरू झर्रो भाषाको विकास गर्न हौसिए । बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठहरू पनि सर्मथक भए ।

झ्याउरे प्रयोग गर्दा जातै जान्छ भनेझैं गर्ने लेखनाथ पौड्याललाई पनि मैले हात जोडेर आफ्नो साहित्यमा झ्याउरे प्रयोग गर्न हौस्याएँ । त्यो बेला उनले डाँफे चरीको विरहमा प्रशस्त झ्याउरे भाका प्रयोग गरेका छन् । झर्रो आन्दोलनका सहयोगीमध्ये तारानाथ अलि बढी उग्र थिए । कति ठाउँमा उनले विवादै ल्याइदिन्थे, सम्हाल्नको सास्ती हुन्थ्यो ।

हामीले नेपालमा त्यो बेला प्रकाशित हुने रूपरेखा पत्रिकामा झर्रो भाषामा स्तम्भ नै राखेका थियाैं । सम्पादक बालमुकुन्द पाण्डेले बसिबियाँलो स्तम्भ राखिदिएका थिए । पछि उनका ज्वाईँ उत्तम कुँवरले चाहिँ हटाइदिए ।

हिज्जेको विवाद निरर्थक हो

दुई वर्षअघि काठमाण्डौमा भएको हिज्जे विवाद सम्मेलनमा भाग लिन म पनि गएको थिएँ । मैले त्यहाँ भनेको थिएँ, भाषा जति उदार हुन्छ त्यत्ति भविष्य उज्ज्वल हुन्छ । प्रयोग आ-आफ्ना हुन्छन् । सबै वैज्ञानिक न्युटन हुन सक्दैनन् ।

कुनै वैज्ञानिकले नयाँ प्रस्ताव ल्यायो भन्दैमा त्यसलाई अछुत मान्नु त हुँदैन नि, छलफल त गर्नुपर्‍यो नि ! कसैले भने होलान् भाषाका गुरुहरू नै हिज्जे विवादमा अलमलिए भनेर । तर प्रस्तावमा छलफल गर्दा मेरो गोरुको बाह्रै टक्का भनेर दाबी गर्नुचाहिँ मूर्खता हो ।

भाषामा यही लेख, त्यो नलेख भनेर भन्नु हुँदैन । हिज्जे त भाषाको सहायक पक्ष मात्रहो । हिज्जे अशुद्ध भयो भने ५ नम्बर कटाउन सकिएला तर उत्तरै गलत भयो भनेर भन्न मिल्दैन ।

भाषाको मूल मर्म भनेको त शब्द हो । हिज्जेमा साँघुरो हुनुभनेको भाषाको विकासमा संकिर्ण हुनु हो । हाम्रा विश्वविद्यालयका केही गुरुहरू अहिले हिज्जेको कुरा गरेर भाषामा हुकुम छाँटिरहेका छन् । म त्यसको विरोधी हुँ ।

हाम्रोभन्दा राम्रो बाटोमा हिन्दी भाषा हिँडिरहेको छ । उनीहरूको हिज्जे आफ्नै प्रकारको छ । वासिंगटन र लण्डनको हिज्जे फरक–फरक छ । दक्षिण अफ्रिका र अष्ट्रेलियाको अंग्रेजीमा धेरै फरकपन छ । यसैले हिज्जेमा विवाद गरेर भाषामा कन्फ्युज ननल्याऔं। जे सही लाग्छ त्यही लेखौं । हिज्जेलाई अहंकारको आधार नबनाऊँ ।

हिज्जे भनेको त लेख्य परम्परा मात्र हो । इमान्दार त भाषाको कथनप्रति हुनुपर्छ । उहीले गाएको गीत सुन्न मन लाग्दैनथ्यो । तर आजकल तिनै गीतहरू फरक तरिकाले गाएकोले सुन्न मन लाग्छ ।

भाषा, गीत, नाटक, चलचित्र, अभिनय आदि कथनका आधारमा हुनुपर्छ । नेपाली भाषा भाग्यमानी भाषा हो ।आफ्नो अस्तित्व र मौलिकता छ । यसलाई हिज्जेको किचलोले नगिजोलाैं ।

उत्तराधिकारीले त इतिहास मास्छन्

के कार्ल मार्क्सका उत्तराधिकारी लेनिन, स्टालिन, माओ, पुष्पलालहरू हुन सके ? यसैले झर्रो भाषाका उत्तराधिकारी भए भने त इतिहास मेटिगयो नि ।

के खग्रेन्द्र संग्रौलाको लेखनीमा झर्रो छैन र, मोहन शर्माका लेख निबन्ध झर्रोभन्दा कम छन र ? झर्रोवादीहरू त यत्रतत्र विकास भैरहेका छन् । जसरी मुहानको गंगोत्रीपछि गंगाभएर अन्य धेरै नामले चिनिए जस्तै झर्रोवादीहरू पनि फराकिलो बाटो भएर बगिरहेका छन्, अगल-अलग नामले चिनिएर । भाषाको बाटो साँघुरो कहिल्यै हुनुहुँदैन ।

हाम्रो गाउँ समाजमा सबैतिर झर्रोवादीहरू लुकेका छन् । उनीहरूसबै झर्रोका सन्तानहरू हुन् । जसले झर्रोवादीका अनुहारसम्म देखेका छैनन्, उनीहरूको बोली ठेट झर्रो छैन र ? उनीहरूले पढेका पनि छैनन् होला ।

झर्रो भनेको नै माटोको मौलिकता हो । झर्रोको उद्देश्य भनेकै माटोको मायासँग भाषालाई गाँस्नु हो । झर्रोवादका बारेमा रिसर्चहरू भैरहेका छन् । भाषालाई अनिवार्य गरेर जनताका छोराछोरीको गिदी खान थालियो भने त त्यो त निरंकुशता हुन्छ ।

यसैले तोकेँ न्युनतमफिस

मलाई अंगेजी–नेपाली शब्दकोष लेख्नु थियो । लेख्न थालेको, अहँ सार्वजनिक कार्यक्रममा जाँदा लेख्नै पाइँदैन । निम्तो दिनेहरूलाई भ्याउँदिन भन्छु, मान्दै मान्दैनन् । फेरि कसलाई नाइँ भन्नु ? यसैले तोकिदिएँ कार्यक्रममा गएको फिस । साहित्यिक संस्थाहरूलाई एक हजार । शैक्षिक संस्थाहरूलाई २ हजार र धामिर्क कार्यक्रमहरूलाई ६ हजार रुपैयाँ फिस तोकेँ ।

कार्यक्रममा जाँदा हिँडेर नजाने र यातायात खर्च पनि दिनुपर्ने उर्दी गरें । धेरैले ३ हजारसम्म दिए । धार्मिक कार्यक्रमहरूचाहिँ प्रयोजित हुनेभएकोले मैले भरसक जानै नपरोस् भनेर त्यत्ति धेरै फिस तोकेको हुँ । जानु पनि परेन । उनीहरू मेरो राशी चिनेर होला मदेखि टाढै भए । मैले आम्दानीका लागि त्यसो गरेको होइन, पुस्तक लेख्ने समयका लागि त्यसो गरेको हुँ ।

लोग्ने र स्वास्नी घोषणा गर्ने अधिकार पण्डितलाई छैन

मैले त्यो बेलामा घर र समाजसँग विद्रोह गरेर प्रगतिशील विवाह गरेको हुँ । विवाह मञ्चमा गरियो । भाषण छाँटियो । कुनै पुरोहितलाई बोलाइनँ । आँगन पनि पोलिनँ । मसँग पढ्ने इलामको नाम्सालिङका साथी थिए । निक्कै हिमचिम भयो । उनको घर आउने जाने गर्थेँ ।

मलाई उनकी बहिनी मन पर्‍यो । म २० वर्षको थिएँ । मैले साथीको घरमा गएर बहिनी मलाई दिन्छौ कि दिँदैनौ भनेर भनेँ । घरमा पनि कुरा गरिनँ । मलाई त नेपाल थरका डेढ सय बिगाहाका जमिन्दारकी छोरी बिहे गरिदिने तैयारी भैरहेको थियो ।

म त त्यो बेला कम्युनिष्ट विचारको थिएँ। समाज सुधार गर्नुपर्छ भन्थें । ढकाल थरका ती साथीले आफ्ना बा-आमासँग कुरा गरे । उनीहरू मलाई छोरी दिन राजी भए। मैले उनीहरूलाई सम्झाएर प्रगतिशील विवाह गराउन राजी गराएँ । र, शान्तादेवी ढकाललाई शान्तादेवी पोखरेल बनाएँ ।

मेरो बिहेमा भाषण गर्न शान्ताका दाजु चन्द्रमणि ढकाल, महानन्द सापकोटा, इलामका नरेन्द्रप्रसाद वास्तोला, नारदमनी शर्मा लगायत गएका थिए ।

विवाह त वर र वधुको हो नि, समाजका पण्डितहरूको हो र ? म र शान्ताले आजदेखि तिमी मेरो पत्नी म तिम्रो पति भनेर मञ्चमा सबैका अगाडि कसम खायौँ र बिहे गर्‍यौं । तँ आजदेखि त्यसको लोग्ने र तँ यसकी स्वास्नी भइस् भनेर भन्ने अधिकार पण्डितलाई कसले दियो ? विवाह भनेको त शरीर र मनको हैन र ?

मूर्ति पूजाको अस्तित्व छ

मूर्ति पूजा गर्नु हुँदैन भनेर धेरैले भन्ने गरेका छन् । तर मूर्ति पूजाको पनि केही अस्तित्वचाहिँ छ । मूर्तिको पाउमा गएर रुँदा मन हुलंगो हुन्छ ।

मनको बह मूर्तिमा निहुरिएर फुकाउन पाउँछ मान्छेले । मूर्तिको पाउमा निहुरिएर आस्थाको चन्दन लाउन नराम्रो हो जस्तो मलाई लाग्दैन । तर मूर्ति पूजाका नाममा हुने पण्डागिरीचाँहि पटक्कै मन पराउँदिन म ।

ज्ञान कमाउन राजधानी बस्नुपर्दैन

धेरैले भन्लान् तैँले तेत्रो नाम कमाइस् तर खै सम्पत्ति कमाएको भनेर । तर म सन्तुष्ट छु मैले कमाएको नाम नै मेरो सम्पत्ति हो ।

कसैले भन्लान् यत्रो भाषाको ज्ञाता भएर राजधानी बस्नुपर्थ्यो नि, नाम र दाम दुबै हुने थियो, किन मोफसलमा बसिस् भनेर ? म त राणाकालमै जागिरे भएको परिवारको छोरो । मलाई केही कमी थिएन । काठमाण्डौ ईन्द्रचौकमा हाम्रो घर थियो ।

पछि अंश लाग्दा मैले कालिमाटीतिर पाएको थिएँ जग्गा । अहिले त्यहाँ करोडाैं को हुन्थ्यो होला । तर मैले त मेरो मनको आदेश गरेपछि बेचेर विराटनगर आएँ ।

पत्नी शान्ताले पनि धेरैचोटि भनिन्, तपाईं पैसाका लागि जन्मेको मान्छे नै होइन, यसैले पैसाको बाटोमा हैन ज्ञानकै बाटोमा लाग्नु भनेर । उनले सही भनेकी हुन् भन्ठान्थें म ।

मैले पैसा कमाउन चाहेको भए अर्बपति-खर्बपति हुन्थेँ होला तर नेपालको विष्णुराज आचार्य नै पहिलो आदिकवि हुन् भनेर दावीका साथ भन्न सक्थे हुँला त ? त्यो इतिहास त हराउँथ्यो ।

मैले धन कमाउन चाहेको भए धन राख्ने ठाउँ हुँदैनथ्यो होला तर आजको भाषाशास्त्री बालकृष्ण हराउँथ्यो । भौतिक प्राप्ति मात्रै विकास होइन त्यो त भोग मात्र हो ।

मलाई राजधानीमा भएको भए अझै नामी र दामी हुन्थिस् भन्नेहरूलाई भन्ने गरेको छु, मैले कमाएको ज्ञान काठमाण्डु पुगेको छैन र ? ज्ञान कमाउन राजधानी हैन तपोवनमा बस्नु पर्छ । म पनि जहाँ ज्ञान छ त्यहीँ आएर बसेको हुँ । म काठमाण्डौमा बसेको भए मसँग एक आना पनि ज्ञान नहुन सक्थ्यो ।

Loading...