पत्रपत्रिकामा देश : गौतमका लागि संविधान संशोधनको तयारी

विराटनगर, १२ फागनु । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले २६ असारमा वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद अफर गरेका थिए ।

आठ महिनापछि आफ्नो जन्मदिन मनाउने तयारी गरिरहँदा उनै गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री समेत बनाउन मिल्ने गरी संविधान संशोधन प्रस्तावको साक्षी बने ।

नेकपाको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई राष्ट्रियसभामा मनोनय गर्ने र प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने प्रस्ताव गरेका बैठकमा सहभागि एक सचिवालय सदस्यले बताएको समाचार कान्तिपुरमा छ ।

प्रस्तावमा प्रधानमन्त्री असहमत भएपनि मौन बसेको ती नेताले बताए । दाहाल र गौतमको सहमतिबमोजिम नै सो प्रस्ताव सचिवालय बैठकमा पुगेको थियो ।

‘ नेकपामा कार्यदल विवाद’ शीर्षकमा अन्नपूर्ण पोष्टमा खबर छ । सत्तारुढ दल नेकपाले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको छ ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान राखेका छन् ।

यो विषयमा कोही सचिवालय सदस्यले कार्यदल बनेको भनेका छन् भने कोहीले यो विषयमा थाहा नभएको बताएका छन् ।

‘भ्रष्टाचारका दुई माध्यम जिटुजी र नीतिगत निर्णय’ शीर्षकमा नागरिक दैनिकमा खबर छ ।

मन्त्रिपरिषदको नीतिगत निर्णयमा अख्तियारलाई छानबिनको अधिकार नभएकाले अनियमितता गर्न नीतिगत निर्णयलाई सहारा बनाउन थालिएको छ ।

यस्तै सिधै हुने जिटुजीमा आर्थिक अपचलनको सम्भावना हुँदैन । तर अहिले जिटुजीको नाममा बीचमा एजेन्ट घुसाएर अनियमितता गरिएको छ ।

सरकारको बागडोर सम्हालेका मन्त्री र कर्मचारीको मिलोमतोमा पछिल्लो समय यही दुई माध्यमबाट भ्रष्टाचार गर्न सजिलो भएको छ ।

‘ कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव’ शीर्षकमा नयाँ पत्रिका दैनिकमा मुख्य समाचार छ ।

जन्मोत्सव मनाउन चार हेलिकोप्टरसहित आठराई पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रयाक्टरमा ओसारिएका विद्यार्थीलाई कापी कलम वितरण गरे ।

यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा आफ्नै स्वमित्वको एयर लल्टिच्युडको हेलिकोप्टरमा केक बोकेर ओलीको जन्मगाउँ पुगेका थिए ।

Loading...