पत्रपत्रिकामा प्रदेश : ७० वटा एम्बुलेन्स खरिदको तयारी

विराटनग।, १२ फागुन । प्रदेश १ सरकारले ७० वटा एम्बुलेन्स खरिद गर्ने योजना अघि बढाएको छ ।

आन्तरिक मामल तथा कानून मन्त्रालयले प्रत्येक जिल्लामा हुने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको लागि एम्बुलेन्स खरिद गर्न लागेको हो ।

एम्बुलेन्स खरिद सम्बन्धी अन्तर्राष्ट्रिय टेण्डर प्रकृया अघि बढेको खबर आजको उद्घोष दैनिकमा छ ।

चालु आर्थिक वर्षको बजेटमा १४ वटै जिल्ला स्तरमा विपद व्यवस्थापन अन्र्तगत मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गर्ने उल्लेख छ ।

मन्त्रालयले ३ वटा ठुला एम्बुलेन्स र ६७ वटा एकल प्रयोजनको एम्बुलेन्स खरिद गर्ने जनाएको छ । कोशी राजमार्गसहित तीनवटा ठुला राजमार्गमा हुने सम्भवित दुर्घटनाका लागि तयारी अवस्थामा राखिने छ ।

‘ पुराना राजनीतिज्ञको सरल जीवनशैली’ शीर्षकमा कान्तिपुर दैनिकमा लगातार ६ वर्ष शिक्षा राज्यमन्त्री भएका विराटनगरका ८९ वर्षीय राधाप्रसाद घिमिरेको विषयमा समाचार छापेको छ ।

विराटनगर २ मा बसोबास गर्दै आएका पञ्चायतकालमा मन्त्री भएका घिमिरे विराटनगरकै चर्चित एलिट क्लबका संस्थापक हुन् ।

सरल जीवनशैली बिताइरहेको उनी नयाँ पुस्ताका राजनीतिज्ञ र राजनीति सिक्नेहरुको लागि उदाहरण हुन् ।

आगामी वर्षदेदि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको सहकार्यमा विराट एक्स्पो हुने समाचार आगामी वर्षदेखि साझेदारीमा विराट एक्स्पो शीर्षकमा न्यू सृष्टि दैनिकमा खबर छ ।

कान्तिपुर दैनिकमा ‘अनुमतिबिना बालगृह चलाए कारबाही शीर्षकमा समाचार छापेको छ ।

प्रदेश १ सरकारले अनुमतिबिना बालगृह चलाए एक लाख रुपैयाँ जरिवाना गरिने भएको छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेशसभा सचिवालयमा दर्ता गरेको बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मा यस्तो व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले बालबालिकाउपर हुने दुर्घटना रोकथाम, न्युनिकरण, प्रतिरोधात्मक र सुरक्षाको लागि विभिन्न उपायहरु अवलम्बन गरिने विधेयकमा उल्लेख छ ।

Loading...