‘आमा’ को दुई दिनमा सुखद कमाइ, पब्लिसिटी बलियो भएका कारण हलमा दर्शक बढ्दै

विराटनगर, ११ फागुन । गत शुक्रबार महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ ले दुई दिनमा सुखद कमाइ गरेको छ ।

एकै दिन प्रदर्शनमा आएका दुइ फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ ले लामो समयदेखि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको हो ।

‘सेन्टी भाइरस’सँग भिडन्त गरे पनि फिल्मको वर्ड अफ माउथ राम्रो भएका कारण दर्शकले साथ दिइरहेका छन् ।

फिल्मले शुक्रबार ५७ लाख र शनिबार ७३ लाख गरी दुई दिनमा १ करोड ३० लाख कमाएको फिल्मका वितरक करण क्रेजीले जानकारी दिँदै फिल्मको कमाइबाट सन्तुष्ट रहेको बताएका छन् ।

फिल्मको माउथ पब्लिसिटी बलियो भएका कारण हलमा दर्शक बढ्ने उनको विश्वास कायमै छ ।

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्म ‘आमा’ मा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छन् ।

फिल्ममा यी दुईका साथ देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘आमा’ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

फिल्म हेरेका दर्शक हलबाट भावुक हुँदै निस्किएका छन् भने समीक्षकले निर्देशक खनाललाई दर्शक रुवाउन लाइसेन्स प्राप्त निर्देशकको ट्याग दिएका छन् ।

फिल्मको कथा निर्देशक खनाल स्वयंले लेखेका हुन् ।

Loading...