सञ्चार अभावले छेकिएको भविश्य

विराटनगर, ११ फागुन । विराटनगर महानगरपालिका कोचाखालस्थित कोशी बहिरा माविमा पढ्ने मनिता र समीर (परिवर्तीत नाम) भविश्यमा होटलमा ग्राहकको सेवा गर्ने वेरा (वेटर) बन्न चाहन्छन् । बहिराहरूलाई समाजमा अरु काम गर्न सञ्चारको कठिनाइले गाह्रो हुने तर वेरा काम गर्न केही सजिलो हुने भएकोले उनीहरू दुवै जनाले भविश्यमा होटलमा ग्राहकको सेवा गर्ने वेरा नै बन्ने निधो गरेका हुन् । उनीहरू भन्छन्, ‘होटलको वेरा बन्दा लेखेर अर्डर लिएर सेवा दिन सकिन्छ यसैले अरु पेशाभन्दा वेटर नै बन्ने निधो गरेकी हुँ ।’

सुनसरीको तहरा घर भएका मनिता र समीर जन्मैले कान सुन्न नसक्ने सुस्त श्रवण अपांगता भएका (बहिरा) हुन् । उनीहरू तीन जना परिवारमा बहिरा थिए । सबै सन्तान बहिरा भए भनेर उनीहरूका बाबुले उनीहरूलाई छाडिदिए । आमाले जसोतसो उनीहरूलाई हुर्काइन् । छोराछोरीकै भविश्यका लागि उनीहरू विदेश गइन् । विदेशवाट कमाएको पैसाले छोराछोरीलाई पढाइरहेकी छन् । मनिता र समीरका दाजु पनि बहिरा छन्, उनी पोखरामा रहेको बहिरा विद्यालयमा पढ्छन् ।

मनिता र समीरको एसइई पास गरेपछि उच्च शिक्षा पढ्ने धोको छ । सरकारले उच्च शिक्षा पढ्ने अवसरबाट बहिराहरुलाई बञ्चित गरेको र आर्थिक अवस्था कमजोर भएकोले उनीहरु बिदेशमा गएर पढन सक्दैनन ।यसैले सजिलै सञ्चार गर्न सकिने पेशा वेटर बन्ने निधो गरेको उनीहरु बताउँछन् । भन्छन्, ‘धेरै पढेर राम्रो पेशा गर्ने रहर त कसलाई हुँदैन र तर उपायनै नभएपछि एसएलसी पास गरेपछि वेटरको काम गरेर जीवन धान्छौँ ।’

सोही विद्यालयमा पढने पानवारी सुनसरीकी सीता स्कुलको पढाइ सकेपछि व्युटिसियन बन्न चाहन्छिन् । तरहराकी वन्दना टेलरिङ पेशामा रमाउन चाहन्छिन् । मोरङ सलकपुरकी जानुका दाहाल, सिरहाकी कविता चौधरी, मोरङ सुन्दरपुरकी शुसिला सबै जना सकेसम्म आफूमै निर्भर हुने र कम सञ्चार गर्नुपर्ने पेशा अपनाउन चाहन्छन् ।

सोही विद्यालयमा पढ्ने भोजपुर याकुका सीताराम ढकाल, धनकुटा भीरगाउँका भोला थापा, मोरङ सलकुपुरका अर्जुन पौडल, धनुषा जनकपुरका चन्दन पाण्डेय सबैमा धेरै पढ्ने र ठूलो मान्छे बन्ने चाहना छ । तर उनीहरूमा चाहना हुँदाहुदै पनि अवसर र सञ्चारको कठिनाइले गर्दा उनीहरू कम जनसम्पर्क हुने र थोरै बोल्नुपर्ने पेशा अँगाल्न चाहन्छन् । यस्तो पेशामा बहिराहरूलाई सञ्चारको कठिनाइ कम हुने भएकोले उनीहरूले आफैँ आत्मनिर्भर भएर एक्लै गर्न सकिने पेशा रोजेका हुन् । छात्रा जानुका दाहाल भन्छिन्, ‘कार्यालयहरूमा काम गर्न र अन्य राम्रा पेशा गर्न हामीलाई भाषाकै समस्या हुन्छ, यसैले सीमित पेशामा खुम्चिएर बस्नुको बाध्यता छ ।’

सुस्तश्रवण भएकाहरूले पढेर बुझ्ने भाषा भनेको सांकेतिक हो । सबैजना सबैतिर सांकेतिक बुझ्नेहरू हुनेहो भने आफूहरू पनि ठूला डाक्टर, ईन्जिनियर, पत्रकार, लेखापाल बन्न सक्ने भीरगाउँका भोला थापा बताउँछन् । जनकपुरका चन्दन पाण्डेय पनि सांकेतिक भाषाकै अभावमा आफूहरूले उच्चशिक्षामा राम्रो विषय लिएर पढ्न नपाउने गुनासो गर्छन् । हाल कोशी बहिरा माविमा पढिरहेका सबै छात्रछात्राहरूको एउटै गुनासो छ, ‘सञ्चार अभावमा घरदेखि नै हेपिएका हामीहरू राज्यबाट कहिलेसम्म हेपिरहन्छौँ होला ?’

हुनपनि अपांगता भएका व्यक्तिहरूलाई समाजमा चर्को विभेद गरिन्छ । सबैभन्दा बढी विभेद सुस्तश्रवण भएका (कान नसुन्ने बहिरा), सुस्त मनस्थिती र दृश्टिविहीनहरूले भोग्नुपर्छ । सुस्त श्रवण भएकाहरूलाई समाजमा बहिरो भनेर होच्याउने गरिन्छ । अरुको भाषा बुझ्न नसक्ने भएकोले शिक्षा र रोजगारबाट पछि पारिन्छ । सबैले सांकेतिक भाषामा पढ्न पाउँदैनन् । घरमा बोल्न सक्नेलाई चाँडै विद्यालय पठाइन्छ तर बोल्न–सुन्न नसक्नेलाई लाटो भनेर सरापिन्छ र के पढ्ला भनेर होच्याइन्छ । आजकल चेतना बढेसँगै सार्वजनिक विद्यालयमा पठाइए पनि उनीहरू आमभाषामा पढ्न बाध्य छन् । विद्यालयमा सांकेतिक भाषा जान्ने शिक्षक छैनन् । वरु कक्षामा लाटो–बहिरोलाई बुझाउन झन्झट हुने भन्दै कतिपय शिक्षकहरूले होच्याउनेसमेत गरेका छन् ।

यसैले भाषाको सञ्चार हुन नसक्दा उनीहरूले पाठ राम्रो सिक्न पाउँदैनन् । छात्रा कविता चौधरी भन्छिन्, ‘घरमा अभिभावकले सुन्नसक्ने सन्तानका लागि शिक्षा दिलाउन र सीप सिकाउन प्रशस्त पैसा खर्च गर्छन् । तर सुन्न नसक्ने हामी जस्ता बहिराहरूका लागि गर्दैनन् । हामीलाई समाजबाट त विभेद छ नै घरबाट पनि कम विभेद हुँदैन ।’ यस्तै उनले घरदेखि नै हुने विभेदमा सुधार हुने हो भने बहिराहरू पनि देशका ठूला मान्छे बनेर राष्ट्रको सेवामा धेरै योगदान दिन सक्ने बताइन् ।

हुनतः हिजोआज पहिले जस्तो अपांगता भएकाहरूलाई समाजमा विभेद गरिँदैन । बहिराहरूलाई जथाभावी लाटो भनेर पनि हेपिँदैन । सरकारी गैरसरकारी क्षेत्रवाट अपांगता भएकाहरू पनि फरक क्षमता भएका मानव हुन् । उनीहरूलाई सम्मान र शिक्षा दिनसके उनीहरूले पनि समाजमा योगदान गर्न सक्छन् भन्ने धारणाको प्रचारप्रसार हुन थालेपछि बहिराहरूलाई हेर्ने दृष्टिकोणमा पनि सुधार आएको छ । सुस्त श्रवण भएकी किशोरी शुसीला घर, समाजमा अपांगताबारे चेतना बढेपछि पहिले जस्तो विभेद भोग्नु नपरेपनि भविश्य बनाउन भने अझै समस्या यथावत नै रहेको बताउँछिन् । उनले भनिन्, ‘बहिराहरूलाई पनि सरकारले उच्च शिक्षा पढ्ने र सरकारी सेवामा रोजगार दिने व्यवस्था मिलाउनुपर्छ ।’

कोशी बहिरा विद्यालयकी शिक्षक जानुका पोखरेलका अनुसार सांकेतिक भाषामा सीमित जम्मा साढे २२ सय शब्द मात्र सांकेतिक भाषामा समेटिएका छन् । तर बहिराहरूले पढ्ने किताबमा उनीहरूले सांकेतिक भाषामा नपढेका कठिन शब्दहरू धेरै भएकोले उनीहरूलाई बुझ्न गाह्रो हुनेगरेको छ । शिक्षक पोखरेल भन्छिन्, ‘सरकारले बहिरा र दृष्टिविहीनहरूलाई अलग्गै विशेष प्रकारको पाठयक्रम तयार गराउनु उत्तम हुन्छ ।’

विद्यालयका प्रधानअध्यापक मीनु अधिकारी (दाहाल) बहिराहरूलाई उच्च शिक्षा पढ्ने व्यवस्था नभएकोले बढीभन्दा बढी जीवनोपयोगी सीप विद्यालयस्तरमै सिकाउने प्राविधिक पाठयक्रम तयार गर्नुपर्नेमा जोड दिन्छिन् । उनका अनुसार विद्यालयबाट एसएलसी उत्तीर्ण भएर गएका प्रायः विद्यार्थीहरू जीवनोपयोगी सीप सिकेर रोजगारमा लागेका छन् । कोही कम्प्युटरको कोर्ष गरेर डेस्कटपमा, कोही वाइरिङ सिकेर बिजुलीको काम र कोही सिलाइ– बुनाइ सिकेर टेलर्समा र ब्यूटिसियन तालिम लिएर ब्यूटिपार्लरमा काम गरिरहेका छन् । कोही सांकेतिक भाषाको शिक्षक बनेर सोही विद्यालममा पनि पढाउँदै छन् । कोही गार्मेन्ट उद्योगमा कार्यरत छन् । सीपमूलक शिक्षा अपांगता भएका (खासगरी बहिरा) हरूका लागि उपयोगी हुने भएपनि विद्यालयमा सीप सिकाउने पाठयक्रम छैन । धेरैले विद्यालय छाडेपछि सीप सिकेर रोजगार पाएका हुन् ।

अपांगता भएका व्यक्तिहरू साँच्चै फरक क्षमता भएका हुन्छन् । दृश्टिविहीनहरू राम्रो गीत गाउने गर्छन भने बहिराहरू बोल्न नसक्ने भएपनि बाल्यकालदेखि नै अन्य विभिन्न सीपप्रति आर्कषित भएका हुन्छन् । उनीहरूलाई रुचाएको सीप सिकाउन गाह्रो हुँदैन । कोशी वहिरा माविमा पढ्ने छात्रहरू कसैले सिलाइ–बुनाइ त कसैले व्यूटिपार्लरको काम राम्ररी जानेका छन् । यसैले उनीहरू विद्यालयबाट एसईई सकेर थप सीप सिकी रोजगारमा जान चाहन्छन् ।

पेशा समाजसँग जोडदिएको हुन्छ । आर्थिक उर्पाजनसँग जोडिने भएकोले पेशा गर्दा जनसम्पर्क र भाषा सञ्चारको पनि उत्तिनै धेरै महत्व हुन्छ । सुस्तश्रवण अपांगता भएका (बहिरा) हरूलाई समाजमा सबैभन्दा ठूलो समस्या भनेकै सञ्चारको हो । उनीहरू अरुले बोलेको सुन्न सक्दैनन् र बोलेर अरुलाई बुझाउन सक्दैनन् । विद्यालयका शिक्षक, केही अधिकारकर्मी र आफूजस्तै साथीभाइबाहेक अरुसँग सुस्तश्रवण भएकाहरू धक फुकाएर आफ्ना कुरा सुन्न र सुनाउन सक्दैनन् । जबर्जस्ती इशाराको भरमा गरेका कुराहरू अनुमानका भरमा बुझेर चित्त बुझाउनुपर्ने उनीहरूको बाध्यता हुन्छ । यसैले समाजमा सञ्चार अभावमा उनीहरू क्षमता भएर पनि सधैँ पछि पारिन बाध्य छन् ।

सुस्तश्रवण क्षमता भएकी छात्र मनिता राई हरेक घर र कार्यालयहरूमा तथा सार्वजनिक प्रतिष्ठानहरूमा सांकेतिक भाषामा दक्षता भएको व्यक्ति भएमा बहिराहरूलाई सञ्चार गर्न सजिलो हुने र आफ्नो दक्षता पनि प्रदर्शन गर्न सकिने बताउँछिन् । उनले भनिन्, ‘सञ्चार अभावले हामीलाई जीवनको सुरक्षा गर्न त समस्या भएको छ नै सुन्दर भविश्य बनाउन पनि छेकेको छ ।’

Loading...