पत्रपत्रिकामा देशः बाँस्कोटामाथि छानबिनबारे मतभेद, एमसीसी संसोधन गर्न ओली तयार

विराटनगर, ११ फागुन । सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन विवादमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन गर्ने नगर्ने विषयमा पार्टीका अध्यक्षद्वयबीच मतभेद देखिएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाले राजीनामा दिएर बाटो खुला गरिसकेको भन्दै संसद्, सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताए ।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने प्रश्न उठेपछि पार्टीभित्र पनि एक किसिमको विषय बन्नु पर्ने भन्दै यसलाई छलफलको विषय बनाउनु पर्ने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा अध्यक्षद्वयबीच मतभेद देखिएको कान्तिपुर दैनिकमा समाचार छ ।

अन्नपूर्ण पोष्टले एमसीसी संशोधनमा ओली तयार शीर्षकमा मुख्य खबर छापेको छ ।

प्रतिनिधिसभाबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित गराउन हत्तारिरहेका प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि तयार भएका हुन् ।

परिमार्जन सम्बन्धमा अमेरिकी उच्च अधिकारीहरुसँग छलफल गर्न उनी तयार भएका छन् ।

सचिवालय बैठकमा उनी यो विषयमा लचिलो भएको नेताहरुले बताए ।

नयाँ पत्रिका दैनिकमा ‘प्रेस किन्न पासपोर्ट छपाइ रद्द शीर्षकमा’ मुख्य खबर छ ।

५० लाख इ-पासपोर्ट छाप्न राहदानी विभागले गरेको ग्लोबल टेण्डरअनुसार प्राप्त प्रस्ताव खोल्नु केही घन्टाअघि प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक आदेशमा प्रकृया नै रद्द गरिएको थियो ।

टेण्डर रद्द गरेको विभागले अहिलेसम्म औपचारिक पत्र पाएको छैन् ।

नयाँ पत्रिकामा नै ‘बामदेव घुम्दैफिर्दै फेरि संसदमा’ शीर्षकमा अर्काे समाचार छापेको छ ।

बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोतिन गर्ने तयारी सत्तारुढ नेकपाले गरिरहेको छ ।

उनलाई मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रिय सभामा लान खोजिएको छ । २० फागुनमा अर्थमन्त्री डा. यूवराज खतिवडाको कार्यकाल सकिँदै छ ।

‘ कोरियामा कोरोना त्रास’ शीर्षकमा कान्तिपुर दैनिकमा मुख्य समाचार छ ।

कोरियाको थेगु सहरमा २ सय २९ संक्रमित भेटिएका छन् ।

सो सहरमा करिब ७ हजार नेपाली रहेका छन् ।

संक्रमण फैलिएपछि नेपाली कामदारहरु त्रासमा बसिरहेका छन् ।

Loading...