सोलुको विद्युत सिराहामा जोड्न म्याद थप्दा पनि काम सकिएन

सोलुखुम्बु, १० फागुन । सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम नसकिएपछि दोश्रो पटक म्याद थपिने भएको छ ।

आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः म्याद थप गर्न सम्बन्धित मन्त्रालयमा फाइल अगाडि बढाइएको बताइएको छ ।

जनवरी २०२० सम्ममा काम सक्ने गरी पहिलो पटक थपिएको म्यादमा पनि काम नसकिएपछि फेरी थप्न लागिएको हो ।

२५ सेप्टेम्बर २०१६ देखि काम शुरु गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महिना अवधिसम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ ।

आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३०३ टावर निर्माण गर्नुपर्नेमा १०४ निर्माण सम्पन्न र १५७ को फाउण्डेशन तयार भइसकेको छ ।

ओखलढुङ्गा जिल्लाभित्र २४, सोलुखुम्बु जिल्लाभित्र १७ र उदयपुर जिल्लाभित्र एक टावरको फाउण्डेशन निर्माणको क्रममा रहेको उनले बताए ।

मिर्चैया–उदयपुर–ओखलढुङ्गा–सोलुखुम्बुको लाममानेसम्म ९० किलोमिटर दूरीमध्ये साढे २९ किलोमिटर तार लाइनसमेत तानिसकिएको छ । अबको पाँच महिनाभित्र सम्पन्न गरिसक्ने र यसका लागि सहयोगका पु¥याउन आयोजना प्रमुख गौतमले अनुरोधसमेत गरे ।

उदयपुरको मरुवामा ऐलानी जग्गामा मुआब्जा नपाएको विषयमा केही विवाद भए पनि अन्य क्षेत्रमा विवाद नभएकाले समयमा नै आयोजना सक्ने जनाइएको छ । पटकपटक म्याद थप गरेको आयोजनाले लामो समयसम्म वन क्षेत्रको अनुमतिका कारण ढिलाइ भएको बताउँदै आएको थियो ।

सोलुखुम्बुको विभिन्न खोलामा उत्पादन भएको विद्युत््लाई सोलुदुधकुण्ड ११ तिङ्लाको लाममानेबाट सिरहाको मिर्चैया लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।

सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका छ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । ती मध्ये २३.५ मेगावाटको माथिल्लो सोलु आयोजना निर्माण सम्पन्न भइसकेको छ ।

८२ मेगावाटको तल्लो सोलुको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

निर्माण सम्पन्न भइसकेको विद्युतलाई तिङ्लामा निर्माण सम्पन्न भएको ३३ केभी प्रसारण लाइनमार्फत ओखलढुङ्गाको रुम्जाटारमा रहेको विद्युत प्राधिकरणको वितरण केन्द्रमा जोड्ने योजना रहेको छ ।

४ माघमा सोलुदुधकुण्ड नगरपालिकाको पत्तालेमा सोही केन्द्रीय प्रसारण लाइनको उद्घाटन गर्ने कार्यतालिका भए पनि स्थानीयको अवरोधका कारण सफल भएन ।

Loading...