फ्राइडे रिलिज : शिवरात्रिको अवसरमा आज हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’

विराटनगर, ९ फागुन । फ्राइडे रिलिजअन्तर्गत आज ९ फागुनका दिन दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।

निर्देशक दीपेन्द्र के खनालको आमा छोरीको कथामा आधारित रहेको फिल्म ‘आमा’ र रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शनमा आएका छन् ।

नेपाली बक्सअफिसमा अभिनेत्री सुरक्षा पन्त स्टारर ‘आमा’ र हास्यकलाकारहरूको भीड रहेको फिल्म ‘सेन्टी भाइरस’को भिडन्त हुने देखिन्छ ।

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्म ‘आमा’ मा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छन् ।

फिल्ममा यी दुईका साथ देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

हिजो मात्र फिल्मका निर्देशकले काठमाडौँका केही हलमा आमासँग ‘आमा’ हेर्न गए आमालाई पैसा नलाग्ने घोषणा गरेका थिए ।

सामाजिक व्यंग्यमा आधारित रहेको फिल्ममा सीताराम कट्टेल, दयाहाङ राई, राजाराम पौडेल, कमलमणि नेपाल, विल्सनविक्रम राई, कुञ्जना घिमिरे, सन्दीप क्षेत्री, पुष्प आचार्य, मधुसूदन पाठक, सन्जु शाह, अलिश राई, सूर्यमाला खनाललगायतका कलाकारको अभिनय छ ।

फिल्म ‘सेन्टी भाइरस’को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने छ ।

दुवै फिल्मले दर्शक तान्ने अनुमान गरिएको छ ।

Loading...