आमाले दोस्रो बिहे गरिन्, बाबुले हेरेनन्, १० वर्षे बालक बाँसको खोरमा

विराटनगर, ९ फागुन । खोला छेउमा टिनले छाएर टिनले नै बेरेको सानो घर । छानो र टाटी अड्याउन बाँसको खम्बा गाडिएका छन् । साघुँरो आँगन अगाडि एउटा पुरानो खोर छ । जहाँ १० वर्षीय बालक जगतबहादुर राउत बस्छन् । बोल्न सक्दैनन् । छेउमा कोही देखे हात थाप्छन् ।

बासको खोरबाट निस्कन खोज्छन् तर सक्दैनन् । उनको दैनिकी खोरबाट निस्कन खोज्दै बित्छ । रात परेपछि भने हजुरआमा र हजुरबुबाले ओछ्यानमा लैजान्छन् । सुस्त मनस्थितिको नाति स्याहार गरेर बसे बेलुकाको छाक टार्न सक्दैनन् । गुजाराका लागि हजुरबुबा नातिलाई खोरमा राखेर काममा लाग्छन् ।

मोरङको बेलबारी नगरपालिका–२ का १० वर्षीय अपाङ्गता भएका बालकका ७० वर्षीय हजुरबुवा दिलबहादुर र हजुआमा इन्द्रमाया राउतलाई नातिको लालनपालनको चिन्ता छ । जन्मिएको ६ महिनापछि दाहिने आँखा देख्न नसक्ने अवस्थामा रहेको थाहा पाएपछि उपचारको प्रयास गरे । तर आर्थिक अभावका कारण उपचार सम्भव भएन ।

वरपर घस्रिएर मात्रै पुग्न सक्छन् । खाना अर्कैले खुवाइदिनु पर्छ । उनको शरीरको दाहिने पाटो चल्दैन् । घस्रिएर जुनसुकै ठाउँमा पुग्न थालेपछि खोर बनाएर थुन्नु परेको दिलबहादुरले गुनासो गरे ।

परिवारको आम्दानीको स्रोत छैन् । खोला छेउको ऐलानी जग्गामा गाउँलेले टहरो बनाइदिएका हुन् । टहरोमा गुजाराका लागि दिलबहादुर वृद्ध उमेरमा चटपटे बेच्न निस्कन्छन् ।

जग्गा जमिन नभएर सुकुम्बासी रहेका दिलबहादुर र इन्द्रमाया कोठा भाडामा बस्थे । भाडा तिर्न नसकेपछि काँसघारी रहेको ऐलानी जग्गामा गाउँलेले सानो टहरो बनाइदिएका हुन् । चार वर्षदेखि बेलबारीमा बस्दै आएको राउत परिवार गरिबीको चपेटामा छ ।

दिलबहादुरका दुई छोरा छन् । तर दुवै कुलतमा । छोराको व्यवहार कै कारण अपाङ्ग छोरा छाडेर बुहारीले दोस्रो बिहे गरिन् । ३८ वर्षीय छोरा अर्जुनले ल्याएकी बुहारीले छोरो छाडेर दोस्रो बिहे गरिन् । उनका १६ वर्षीय छोराको लालनपालनको जिम्मा पनि वृद्ध हजुरबुबा हजुरआमालाई छ ।

अपांगत नातिको बुबा गुञ्जन हुन् । गुञ्जनसँग २०६४ सालमा बिहे गरेकी जुनु राईले छोरो र श्रीमान् छाडेर हिँडिन् । गुञ्जनको भर नभएपछि नातिको स्याहार हजुरबुबा र हजुरआमाले गर्दैछन् ।

उमेर बढ्दै गएकाले नाति आफूहरूले उचाल्न पनि सक्ने अवस्थामा नरहेको उनको गुनासो छ । ‘खोरबाट निकाल्न र खोरमा हाल्न गाह्रो पर्छ,’ दिलबहादुरले भने, ‘दिसा र पिसाब आयो भन्न सक्दैन् ।’

बाबु कुलतमा फसेको र हुर्किँदै गएपछि आमाले पनि त्यागेर गएपछि दुःख भने आफूहरूले बेहोर्नु परिरहेको उनको गुनासो छ । ‘त्यत्तिकै छाडिदिए घिस्रिएर जहाँ पनि पुग्छ । राजमार्ग छेउमै भएको त्यता गइदिने हो कि भन्ने डर पनि लाग्छ,’ उनले भने, ‘गाडी आएको चाल पाउँदैन् । गाडीले किचिदिन्छ कि भन्ने चिन्ता छ ।’

हजुरआमा इन्द्रमायाले आफूहरूको मृत्युपछि नातिको कन्तविजोग हुने अवस्था रहेको बताइन् । उपचारका लागि विभिन्न संस्थाले लैजान खोजे पनि कपडामै दिसापिसाब गर्ने भएकाले लैजान नमानेको उनले बताइन् ।

Loading...