गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन, ९ फागुन । प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले नयाँ घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ ।

चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।

निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

तीमध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न १ करोड र पुरानो १०० हेक्टरमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको छ ।

ठेकेदार कम्पनीले १ करोड ८७ लाखमा सबै काम गर्नका लागि ठेक्का स्वीकारेको र केही दिनभित्र काम सुरुआत हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।

नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ ।

चैत महिनामा गैँडा गणनासमेत गरिँदै छ । पछिल्लो गणनानुसार निकुञ्जमा ६०५ गैँडा छन् ।

पछिल्ला वर्षमा शिकारीका कारण भने गैँडा मरेका छैनन् ।

Loading...