सुनसरीबाट भारत गएका तीर्थयात्रीको बस दुर्घटना, ६ जनाको मृत्यु

विराटनगर, ८ फागुन। सुनसरीबाट भारत तीर्थयात्रामा गएकाहरु चढेको मिनीबस दुर्घटना हुँदा ६ नेपालीको भारतमा मृत्यु भएको छ ।

सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यम द हिन्दूले मृत्यु भएकाहरुको टोली नेपालको सुनसरीबाट गएकाहरु भएको जनाएको छ ।

घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बेंगलरु जाँदै गरेका उनीहरु चढेको बसले मध्यरातमा घुम्तीमा घुम्ने क्रममा अर्को बससँग ठोक्किएको हो ।

मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको रहेका छन् ।

अन्य मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरु नेपालको सुनसरी जिल्लाबाट गएका हुन् ।

टोलीमा ३४ जना थिए । २३ माघमा उनीहरु ३५ दिने भारत तीर्थयात्रामा गएका हुन् ।

Loading...