सेना दिवसको अवसरमा स्वास्थ्य शिविर

विराटनगर, ८ फागुन । सेना दिवसको अवसर पारेर सूर्यदल गण थलाहा व्यारेकले बिहीबार मोरङको धनपालथान गाउँपालिका ३ मा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा नेपाली सेनाकासहित विभिन्न संस्थाका डाक्टर तथा स्वास्थ्यकर्मीले उपचार सेवा दिएका छन् । शिविरमा विभिन्न १२ प्रकारका स्वास्थ्य जाँच गरिएको थियो ।

फिजिसियन, स्त्रीरोग, सर्जरी, हाडजोर्नी तथा नशारोग, बालरोग, छालारोग, दन्त चिकित्सा, नाक कान घांटी, आंखारोग लगायत भिडियो एक्स रे, इसिजि र प्रयोगशालासहित शिविर सञ्चालन गरिएको सेनाले जनाएको छ ।

शिविरमा विराट मेडिकल कलेज टिचिङ्ग अस्पताल, कोशी अस्पताल, न्यूरो कार्डियो तथा मल्टिस्पेशियालिटी अस्पताल, गोल्डेन अस्पताल प्रालि, जीवन विकास पव्लिक हेल्थ सेन्टर, आर के चिल्ड्रेन अस्पताल, विराटनगर र विराट आँखा अस्पतालबाट डाक्टर तथा स्वास्थ्यकर्मीहरुले समेत सहयोग गरेका थिए ।

नवरत्न मेडिसिन प्रालि इटहरी, नेपाल ‌औषधि खरीद बिक्री संघ विराटनगर, जस्मिन हाइजिन प्रोडक्ट विराटनगर र लायन्स क्लव अफ विराटनगर ईन्टरप्रिनूअरबाट विभिन्न स्वास्थ सामाग्री सहयोग गरेका थिए ।

शिविरमा १ हजार २ सय ३६ बिरामीहरुले स्वास्थ्य परीक्षण गराई निशुल्क ‌औषधि वितरण गरिएको छ । शिविरमा पशु तथा कृषि सेवा समेत प्रदान गरिएको थियो ।

३ सय ५५ कृषकहरुलाई बीउ बीजन बितरण गरिएको थियो । यस्तै ५० कृषकहरुले पशुलाई कृत्रिम गर्भधारण समेत गराएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह, पूर्वी पृतनापति उपरथी अनन्त कार्की, नम्बर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी यामप्रसाद ढकाल लगायतकाको उपस्थिति थियो ।

Loading...