जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ


झापा, ८ फागुन । सहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ ।

मोरङ विराटनगर–५ घर भई मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर–६ का सूर्य भनिने श्यामप्रसाद शिवाकोटीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनीहरुले मेचीनगर–७ स्थित प्यारीभिट्टामा चार तले १६ कोठा भएको घर भाडामा लिएर युवतीलाई राख्ने र ग्राहकसँग मोटो रकम लिएर उनीहरुलाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका–६ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान २० र २१ वर्षका महिलालाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो ।

घर भक्तपुर र मोरङ बताउने दुई युवतीलाई सोधपुछ गर्दा सो रहस्य प्रहरीले पत्ता लगाएको हो ।

युवतीहरुले आफूलाई बन्धक बनाइ घरमा राखेर ग्राहकसँग दिनभर यौनसम्पर्क गराउने र बेलुका विभिन्न होटलमा पु¥याउने गरेको बताएको उनको भनाइ छ ।

बुधबार पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई मानव बेचबिखन ओसारपसार विरुद्धको मुद्दा चलाइनेछ ।

Loading...