बीस करोड अनुदानको मिल्क पाउडर परियोजना निर्माणमा ढिलाइ

विराटनगर, ८ फागुन । पहाडी र ग्रामिण क्षेत्रका कृषकहरूसम्म दुग्ध उत्पादनको पहुँच वृद्धि गराउँदै अभावको समयमा सहज रूपमा दूध र दुग्ध पर्दाथको आपूर्ति गराउन एक नम्बर प्रदेश सरकारको बीस करोड अनुदानमा निर्माण हुने पाउडर प्लान्ट परियोजनामा ढिलाइ भएको छ ।

असार २०७७ भित्र पाउडर दूध प्लान्ट परियोजना सञ्चालनमा ल्याउने गरी सहकारी र निजी क्षेत्रसँग एक नम्बर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २७ चैत २०७५ मा सम्झौता गरेको थियो । सम्झौता गरेपनि निर्माण कार्य अझै सुरु भएको छैन ।

परियोजना सञ्चालन हुने अवधि पाँच महिना मात्र बाँकी रहँदासम्म भौतिक संरचनासम्म निर्माण भएको छैन । मात्र इटहरी उपमहानगरपालिका–२ आँपगाछीमा शिलान्यास गरेर भवन निर्माणस्थलको कम्पाउण्ड वाल लगाउने तरखर गरिँदैछ ।

इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा ४२ कठ्ठामा पाउडर प्लान्टका लागि संरचना निर्माण गरिने स्थल प्रदेशका मुख्यमन्त्री शेरधन राईले १८ जेठ २०७६ मा धूमधामले शिलान्यास गरेका थिए । तर अझैसम्म उक्त स्थानमा निर्माण कार्य भने सुरु भएकै छैन । मात्र कम्पाउण्ड वाल निर्माण गर्ने तरखर मात्र भैरहेको छ ।

सम्झौताअनुसार परियोजनामा एक नम्बर प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतिशत र निजी क्षेत्रको ३० प्रतिशत लगानी हुनुपर्ने छ । दैनिक ५० हजार दूधबाट ५ टन पाउडर दूध उत्पादन गर्ने योजना यो परियोजनाको छ । परियोजनामा सरकारले २० करोड अनुदान दिएको यो परियोजनाको कुल लागत २८ करोड ६१ लाख ३३ हजार ७० रुपैयाँ छ । पाउडर प्लान्टमा सगरमाथा र कामधेनु सहकारीको समान ४५ प्रतिशत अर्थात् समान ३ करोड ८७ लाख ५५ हजार ३ सय ८२ रुपैयाँ अनि जीवन विकासको १० प्रतिशत अर्थात् ८६ लाख १२ हजार ३ सय ६ रुपैयाँ लगानी गर्ने उल्लेख छ ।

परियोजना सञ्चालनका लागि कृषि, भूमि तथा सहकारी मन्त्रालयसँग सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा रहेको कामधेनु डेरी उद्योगका अध्यक्ष बाबुराम खत्री, मोरङको सुन्दरहरैँचा नपा–९ मा स्थायी ठेगाना लेखाएर दर्ता भएको दुग्ध पर्दाथ आपूर्ति कम्पनी सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवर्द्धन केन्द्रका अध्यक्ष योगेन्द्र चिमोरिया र मोरङ विराटनगर महानगरपालिका–१ मा रहेको जीवनविकास डेरी प्रोडक्टस प्रालिका म्यानेजर दिपेश खतिवडाले सम्झौता गरेका छन् ।

झापा, मोरङ र सुनसरीका ११ वटा डेरी उद्योगहरूका लागि प्रदेश सरकारले उक्त पलान्ट स्थापना गर्न २० करोड रुपैयाँ कामधेनु दुग्घ विकास संस्था, मोरङको सुन्दरहरैँचामा नगरपालिकामा दर्ता भएको सगरमाथा दुग्ध प्रवर्द्धन केन्द्र र विराटनगरको जीवन विकास डेरीसित दूध खरिद गरी प्रशोधन गरेर धूलो दूध बनाउनेगरी सम्झौता गरेको थियो । सम्झौतामा सहभागी कामधेनु र जीवन विकास आफ्नो संरचना ब्राण्ड र गुडविल भएका संस्था हुन् भने सगरमाथा झापा, मोरङ र सुनसरीमा रहेका डेरी उद्योगहरू अमृत दूध, रितिका डेरी, शिवम डेरी, गोरस डेरी मोरङ, पूर्व नेपाल, साझा डेरी, पञ्चामृत डेरी, गोरस डेरी दमक, धरान डेरी र पर्वाध कृषि सहकारीको संयुक्त कम्पनी हो ।

कामधेनु दुग्ध उद्योगका शेयर सदस्य तथा मिल्क पाउडर परियोजना व्यवस्थापन विज्ञ टीकादत्त वनले पाउडर प्लान्टको मेसिन खरिद भौतिक संरचनालगायतका लागि सबै टेण्डर प्रक्रिया सिध्याउँदा संरचना निर्माणमा ढिलाइ भएको बताए । उनका अनुसार मेसिनरी खरिद र संचरना निर्माण गर्न आह्वान गरिएको पहिलो टेण्डर बदर भएकोले दोस्रो ग्वोबल टेण्डर गरिएको छ । जसमा चार वटा कम्पनीले प्रस्ताव दर्ता गराएका छन् । तर अझै भैसकेको छैन ।

सगरमाथा दुग्ध प्रवर्द्धन केन्द्रका अध्यक्ष योगेन्द्र चिमोरीयाले एउटा ठेक्का रद्ध गर्नु परेका कारण निर्माण कार्यमा ढिलाइ भएकोले प्लान्ट सञ्चालनमा ढिलाइ हुने बताए । उनका अनुसार परियोजनाका लागि कर्मचारी नियुक्त गर्नेदेखि मेसिनरी खरिद गर्न भारतको भ्रमण गर्ने र जानकारहरू झिकाएर जानकारी र सल्लाह लिने काम भइसकेको छ । जीवन विकास डेरी प्रोडक्टका प्रतिनिधि ओम भण्डारीले खरिद ऐन प्रक्रियामा समस्या भएकोले तोकिएको समयमा परियोजना सञ्चालन हुन कठिन पर्ने बताए ।

पेश्कि निकासा भएको छैन संरचना निर्माण हुँदैगए अनुगमन गरेर दिँदैजान्छौँ : प्रदेश सचिव

प्रदेश मन्त्रालयका पशुपंक्षी महाशाखाका अनुसार सम्झौताअनुसार काम सम्पन्न भएपछि मात्र रकम निकाशा हुने भएकोले पेश्की रकम निकाशा भएको छैन । मन्त्रालयका प्रदेश सचिव डा. विमलकुमार निर्मलले हालसम्म निकाशा नदिएको तर संरचना निर्माण हुनथालेपछि क्रमशः भुक्तानी दिँदै जान सकिने बताए ।

डा. विमलकुमार निर्मल

उनले प्रदेश सरकारको गैरवको कार्यक्रममध्येको परियोजना भएकोले आफूहरूले निरन्तर निगरानी गरिरहने र अनुगमन गरेर कामअनुसारको भुक्तानी थप गर्दै जाने जानकारी गराए । तोकिएको चालु वर्षमा काम सम्पन्न नभएमा पनि काम सन्तोषजनक अगाडि बढेमा कार्यक्रमलाई वहुवर्षे योजनाअन्तर्गत राख्नसकिने जानकारी दिए । सचिव निर्मलले भने, ‘प्रदेश सरकारको गौरवको कार्यक्रम हो, यसैले हामी अनियमितता हुन परियोजना असफल बनाउन दिँदैनौँ ।’

यस्तो छ अनुदानको विवरण

सम्झौतामा उल्लेख भएअनुसार सरकारले मिल्क पाउडर प्लान्ट परियोजना सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि ३१ लाख, मेसिनरी खरिदका लागि १२ करोड, ल्याव कोल्डरुम र विद्युत्तीकरणका लागि २५ लाख यातायात र प्याकेजिङका लागि ७० लाख प्राविधिक परामर्श तथा व्यवस्थापनका लागि ७७ लाख मेसिनरी बीमा शुल्कवापत ६ लाख र भन्सार शुल्क ४२ लाख बराबर रकम प्रदेश सरकारले अनुदान दिएको छ ।

सम्झौताअनुसार कामधेनु डेरीले परियोजनामा बटर र घ्यू उत्पादनको र बाँकी सगरमाथाले जिम्मा लिनेछ । परियोजनाको भवन कामधेनुको जमिनमा लिजमा निर्माण हुनेछ ।

यी हुन् पाउडर प्लान्टमा परियोजना सञ्चालनका लागि सहमति दिने दुग्ध उद्योगहरू

‘मिल्ड होलिडे’ अन्त्य गराउन २३ मंसिर २०७५ मा झापा, मोरङ र सुनसरीका ११ डेरी उद्योगहरूको भेला बस्यो । भेलाले झापा, मोरङ र सुनसरीका दुग्ध कारोबारमा सक्रिय सहकारी र निजी उद्योगहरूले संगठित कम्पनी सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवर्द्धन केन्द्र निर्माण गरेर प्रदेश सरकारसँग मिल्क पाउडर परियोजना सञ्चालन गर्नका लागि कामधेनु र जीवन विकास डेरीसँग साझेदारी गर्नेगरी सम्झौता गर्ने निर्णय गर्‍यो ।

भेलामा कामधेनु दुग्ध सहकारी इटहरी, पूर्वाञ्चल कृषि सहकारी शनिश्चरे, अमृत दुग्ध उत्पादक सहकारी सुरुंगा झापा, जीवन विकास डेरी प्रोडक्ट प्रालि विराटनगर, रितिका डेरी मेचीनगर धाइजन झापा, एनएमसी डेरी मेचीनगर, शिवम डेरी उद्योग विराटनगर, गोरस डेरी मोरङ सुन्दरहरैँचा, पूर्व नेपाल कृषि तथा दुग्ध विकास केन्द्र दमक झापा, साझा डेरी उद्योग दमक झापा र पञ्चामृत डेरी उद्योग बिर्तामोड झापा सहभागी भएका थिए ।

यसैले मिल्क पाउडर परियोजनाको आवश्यकता

एक नम्बर प्रदेशमा नेपाल सरकारको दुग्ध विकास संस्थान (डीडीसी) ले कृषकको दुग्ध संकलन गर्ने र सहरमा आपूर्ति गराउने गर्दै आएको छ । तर डीडीसीको आपूर्तिले मात्र बजारको माग पूरा भएकोले निजी र सहकारी क्षेत्रले पनि दुग्ध संकलन र आपूर्ति गर्ने काम गर्दै आएका छन् ।

उनीहरूले संकलन गरेका दूधहरू प्लस सिजनमा एक नम्बर प्रदेशमा मात्र खपत हुन नसक्दा चितवन र पोखरासम्म निर्यात हुने गर्दछ । सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवर्द्धन केन्द्रका अध्यक्ष योगेन्द्र चिमोरियाका अनुसार डीडीसीले आफ्नो च्यानल मात्र दूध खरिद गरेर आपूर्ति गराउने भएकोले निजी क्षेत्रले प्लस सिजन असोजदेखि माघसम्म दैनिक २५ हजार लिटर बढी दूध चितवन र पोखरा लानुपरिरहेको छ ।

यसबाहेक झापाका केही डेरी उद्योगहरूले छुर्पी बनाउनका लागि दूध इलाम पुर्‍याउने गरेका छन् । तर प्रदेशमा पाउडर दूध बनाउने परियोजना सञ्चालन भएमा प्लस सिजनको दूध पाउडर बनाएर लिन सिजन (फागुनदेखि भदौसम्म) मा माग अनुसार सहज रूपमा दूध आपूर्ति गराउन सकिन्छ । यसबाहेक बटर र घ्यू र दहीदेखि फ्रेस मिल्क, पनीर, चिज, डब्बामा बेबी मिल्क आदि भेराइटीहरू पनि उत्पादन गर्न सकिन्छ ।

हाल भारतबाट १६ हजार मूल्य पर्ने २५ केजी प्याकको धुलो दूध आयात भइरहेको छ । तर परियोजना सञ्चालन भएमा उक्त दूध १२ हजार रुपैयाँमा उपलव्ध हुन सक्नेछ । अध्यक्ष चिमरियाले भने, ‘हामीले मिल्क परियोजना सञ्चालनमा ल्याउन सक्यौँ भने १० वर्षसम्म बजारको कुनै चिन्ता गर्नुपर्दैन ।’ उनका अनुसार परियोजनाबाट प्राप्त भएको नाफाबाट भलाइ कोष निर्माण गर्ने र त्यो कृषकहरूमा लगानी गरेर उत्पादन बढाउन प्रयोग गरिनेछ ।

एक नम्बर प्रदेशमा दूध उत्पादनको अवस्था

प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रालयको पशुपंक्षी महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा एक नम्बर प्रदेशमा कुल ४ लाख १४ हजार ५ सय ४९ टन दूध उत्पादन भएको छ । दुग्ध विकास संस्था विराटनगरले एक नम्बर प्रदेशका ९ जिल्लाबाट प्लस सिजनमा ४० हजार लिटरसम्म दैनिक दूध संकलन गर्ने गरेछ ।

पाउडर प्लान्ट परियोजनाको साझेदार कम्पनी कामधेनु डेरीका प्रवन्ध निर्देशक गजेन्द्र अवस्थीका अनुसार उत्पादन भएको कुल दूधमध्ये ५० प्रतिशत उत्पादनकर्ताहरूमै खपत हुनेगरेको छ । बाँकी रहेको ३५ प्रतिशत दूध असंगठित क्षेत्रमा र १५ प्रतिशत दूध संगठित क्षेत्रमा खपत हुनेगरेको छ । हाल एक नम्बर प्रदेशको बजारमा संगठित असंगठित सबैखाले उपभोक्ताहरूको क्षमता ६० प्रतिशतसम्म खपत गर्ने रहेको छ ।

मिल्क होलिडेको अवस्था छैन

डीडीसी विराटनगरका अनुसार हाल एक नम्बर प्रदेशमा मिल्क होलिडेको अवस्था छैन । तर प्लस सिजनमा दूधको उत्पादन बढ्ने र लेन सिजनमा घटनेक्रम भने कायमै छ ।

Loading...